पूर्वसभामुख दमनको राजकीय सम्मानका साथ अन्तिम विदाई

पूर्वसभामुख दमनको राजकीय सम्मानका साथ अन्तिम विदाई

एजेन्सी

@antaranganews

२०८१ मङ्सिर ४ गते मङ्गलबार ०७:४४

सभामुख हुँदा उहाँ भन्ने गर्नुहुन्थ्यो– ‘सदन चलाउने, सदनमा बोल्ने काममा प्रतिपक्ष लाग्नुपर्छ, सदन अवरुद्ध गर्ने काममा प्रतिपक्षी लाग्नु हुँदैन ।’

पछिल्ला वर्षमा राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आउनु भएको थियो ।

काठमाडौं– पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम विदाई गरिएको छ । ढुंगानाको पार्थिव शरीरमा उहाँका छोराहरू निमेष र निशेषले कार्तिक ३ गते दागबत्ती दिनु भएको हो ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा १७ तोपको शोक सलामी अर्पण गरेको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा २ गते दिउँसो निधन भएको थियो ।
नेपाल सरकारले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । ढुंगानाको योगदानको सम्मान गर्दै सरकारले ३ गते सार्वजनिक बिदासमेत दिएको थियो ।
अस्पतालमा निधन हुनासाथ ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा सोमबार बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा लगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रधानमन्त्री ओलीले ढुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र असल मान्छे हुनाका साथै सबैका धारणा सुन्ने व्यक्तित्व भएको बताउनु भयो । उहाँले ढुङ्गानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ढुङ्गानाले देखाएको बाटोमा अघि बढ्न आफूहरू प्रतिबद्ध हुने छौं ।
पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, सांसद, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण पुगेका थिए ।
पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानाले गहिरो दुःख व्यक्त गर्दै उहाँले नेपालको राजनीतिमा पु¥याएको योगदानको स्मरण गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
संविधान तथा कानुनका ज्ञाता रहनु भएका ढुंगाना नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पछिल्ला वर्षमा राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आउनु भएको थियो ।
नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै संघीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानूनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनु भएको थियो ।
काठमाडौंमा जन्मनु भएका दमननाथ ढुंगाना नेपालको राजनीतिमा एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । विशेषगरी नेपालको संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनका क्षेत्रमा आफ्नो योगदानका लागि परिचित उहाँ एक प्रख्यात वकिल, राजनीतिज्ञ, मानव अधिकारवादी, र नेपालको संसद्का सभामुखका रूपमा प्रसिद्ध हुनुहन्थ्यो । एक विवेकी, न्यायपूर्ण, र प्रगतिशील सोच भएका नेताका रूपमा स्थापित व्यक्तित्वका धनी हुुनुहुन्थ्यो ।
२०४६ सालको आन्दोलनका बेला नेपाली कांग्रेसका प्रवक्ता रहनु भएका ढुंगाना २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट निर्वाचित भएपछि प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । त्यसअघि २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत हुनुहुन्थ्यो ढुंगाना । सभामुखको भूमिका निभाउने क्रममा उहाँ भन्ने गर्नुहुन्थ्यो– ‘सदन चलाउने, सदनमा बोल्ने काममा प्रतिपक्ष लाग्नुपर्छ, सदन अवरुद्ध गर्ने काममा प्रतिपक्षी लाग्नु हुँदैन ।’
बहुदलीय व्यवस्थापछि पार्टी राजनीतिमा सक्रिय ढुंगाना पछिल्लो समय २०७४ मा भक्तपुर २ बाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । चुनावमा पराजित भएसँगै उहाँको राजनीतिक सक्रियता घटेको थियो ।
ढुंगानाले जीवन पर्यन्त राजनीतिक दल र नेताहरुको नैतिक धरातल बलियो हुनुपर्ने वकालत गरिरहनुभयो । नेपालको राजनीतिक, संवैधानिक र नागरिक अधिकारका लागि अथक साधना गरिरहेका राजनीतिज्ञ हुनुहुन्थ्यो ।
स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ मंसिर ४, मंगलवार ०७:४४ गते
हजुरको प्रतिक्रिया