
बेसीशहर– लमजुङको मर्स्याङदी गाउँपालिकामा १७ औ युनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । मर्स्याङ्दी गाउँपालिका– २ को घनपोखरामा मंसिर २४ गतेदेखि १७ औँ युनाइटेड फुटवल प्रतियोगिता शुरु हुने गरी तयारी थालिएको मंसिर ५ गते यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
मर्स्याङदी गाउँपालिका– २ घनपोखरामा रहेको युनाइटेड बिच युवा क्लबले विगतका वर्षमा झैं यसवर्ष पनि खुला युनाइटेड कप आयोजना गर्ने तयारी गरेको यहाँ पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष भक्तबहार गुरुङले क्लवले गर्दै आएका गतिविधिबारे प्रष्ट्याउँदै युनाइटेड कप सञ्चालन गर्नुको उद्देश्य, खेल सञ्चालनको लागि अनुमानित आम्दानी खर्च बारेमा जानकारी गराउनुभएको हो । अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको गाउँपालिकाभित्रका खेलाडीको पहिचान गर्न, स्थानीय युवा खेलाडीको मनोबल बढाउन, गाउँपालिकाभित्रका युवाहरुबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न, खेल पर्यटनको विकास गर्ने उद्देश्य रहेको छ ।
‘स्वास्थ्य, अनुशासन, गतिशिलता–स्थानीय युवा खेलाडीलाई प्रहोत्सान र प्राथमिकता’ भन्ने नाराका साथ सञ्चालन हुने गाउँपालिकास्तरिय युनाइटेड कप यहि मंसिर २४ गते सुरु गरी २९ गते समापन गर्ने क्लवका अध्यक्ष भक्तबहार गुरुङले वताउनुभयो । प्रतियोगितामा मर्स्याङदीगाउँपालिकाभित्र रहेका ९ वटै वडाका खेलाडीहरूलाई भाग लिन आह्वान गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय प्रतिभाको पहिचान तथा युवाहरूलाई फुटबल खेलप्रति उत्प्रेरित गराउने, स्थानीय खेल पर्यटनको विकास एवं प्रवद्र्धन गर्ने उद्धेश्यका साथ क्लवले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
प्रतियोगिताको पहिलो हुने टिमलाई दिइने पुरस्कर राशी नगद एक लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै, दोस्रो टिमलाई पुरस्कार नगद ६० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । सेमीफाइनल सम्म पुग्ने दुई टिमलाई १५÷१५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाइ छ । त्यस्तै अनुशासित टीमलाई नगद १० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई ५÷५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने तय भएको छ ।
टिम दर्ता शुल्क रु. ८ हजार प्लस २ हजार गरी १० हजार ताकिएको छ भने प्रतियोगितामा भाग लिनका लागि यहि मंसिर २० गतेसम्म टिम दर्ता गर्न सक्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष गुरुङले प्रतियोगिता सञ्चालनको लागि अनुमानित १० लाख ७ हजार रुपैया बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो ।
क्लवले फुटबल प्रतियोगितासँगै पुरुषतर्फ कालिज टिपाई, महिला तथा पुरुषको डोरी तान्ने प्रतियोगिता, महिलातर्फ कुर्चिचाल, घैंटो फुटाई र रिले दौड प्रतियोगिता साथै सेर्का नाँच, कृष्ण चरित्र, झाँकी प्रर्दशनी लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने समेतको तयारी रहेको जानकारी क्लवका सचिव पुष्पराज गुरुङले दिनु भएको छ ।
सो क्लवले आगालागी पीडित, मृगौला पीडित, क्यान्सर पीडितहरूलाई सहयोग, विपन्नलाई स्वास्थ्य विमा र विद्यालयमा सहयोग, खोलामा करेन्ट, विष तथा वम प्रयोग गरी माछा मार्ने गतिविधिलाई बन्द गरी कारवाहीको दायरामा ल्याउने प्रक्रियामा सहयोग गरेको सो असरमा जारी विज्ञप्तिमा उल्लेख छ ।
विगतका वर्षमा क्लवले गुरुङ जातिको महान पर्व तमू ल्होछारको अवसरमा हरेक वर्ष पुस १ गतेदेखि फुटवल प्रतियोगिताका साथमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । यसवर्ष भने उक्त समयमा विद्यालयहरूमा परीक्षा सञ्चालन हुने भएकोले मंसिर २४ गतेदेखि खेल सञ्चालन गर्न लागिएको जनाएको छ । प्रतियोगिता मस्र्याङ्दी गाउँपालिका–२, घनपोखरास्थित केकेम खेलमैदानमा हुनेछ ।
घनपोखराका अग्रज युवाहरूले २०६४ सालमा स्थापना गरेको युनाइटेड बिच युवा क्लवले समाजमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । शुरुमा हरेक वर्ष दशैंको समय फुटवल प्रतियोगिता आयोजना गर्दै आएकोमा कोरोना संक्रमणकाल पछि पुस १ गतेबाट तमू ल्होसारको अवसर पारेर क्लबले फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
क्लवले सामाजिक काममा निम्न आयस्तर भएका परिवारको स्वास्थ्य बिमा, गाउँमा हुने विपतका घटनामा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ । त्यस क्षेत्रमा क्लबकै सक्रियतामा खोलामा करेन्ट, विष तथा वम प्रयोग गरेर माछा मार्ने गतिविधिलाई प्रतिवन्ध लगाउने जस्ता कार्य गरेको छ ।
सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष, उपाध्यक्ष, पुर्वअध्यक्ष, जिल्लास्थिती विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी लगायत क्लवका सदस्यहरू कृष्णकुमारी गुरुङ, शेषबहादुर गुरुङ र सविन गुरुङको उपस्थिति पत्रकार भेटघाट कार्यक्रमको सहिजकरण क्लवका सचिव पुष्पराज गुरुङले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ मंसिर ७, शुक्रबार १२:१२ गते