बेसीशहर– लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले लामो समयको अथक प्रयासपछि जिल्लामा सार्बजनिक यातायातको भाडादर कायम गरिएको बताउनु भएको २४ घण्टा नबित्दै बसवालाले फेरि बढी भाडा लिएको फेला परेको छ । बेसीशहर– दुराडाँडा चल्ने ध १ ख ६४६ बसले त्यसरी बढी भाडा लिएपछि मंसिर ७ गते कारवाही गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुङले हिजोमात्रै मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाईका क्रममा लामो समयको अथक प्रयासपछि जिल्लामा सार्बजनिक यातायातको भाडादर कायम गरिएको बताउनु भएको हो । तर त्यसको २४ घण्टा वित्दा नवित्दै बसले बढी भाडा लिएको फेला परेको हो ।
बेसीशहरदेखि सुन्दरबजार, मिलन चोकसम्मको नयाँ भाडा दर जम्मा ८५ रुपैयाँ कायम गरिएको छ । तर सो बसवालालाई यो प्रतिनिधिले एक सय रुपैयाँ दिदा समेत १३० रुपैयाँ भाडा हो भन्दै थर्काउँदै कण्डक्टरलाई यो प्रतिनिधिले दिएको पैसासमेत यो प्रतिनिधिको काखमा फ्याक्ने काम गरेपछि विवाद बढेको थियो । ‘कारबाही भयो भने रिसाउन पाउन्नौं नि !’ भनेर थप पैसा दिन खोज्दा समेत ‘कहाँ हो कारवाही गर्नु अनि लिउँला’ भन्दै धम्कीपूर्ण भाषा बोल्ने काम गरे ।
उनीहरूको भाषा शैलीका बारेमा त आम यात्रु परिचित नै हुनुहुन्छ के बखान गर्नु पर्यो र ? त्यो गाडीमा बजाएको गीत फिल्महलको भन्दा चर्को स्वर थियो । तीन चार पटकसम्म ‘फोनमा कुरा गर्नु छ गीतको भोलुम सानो गरन भाइ !’ भन्दासमेत आँखा तर्ने काम गरे । सुनेनन् । पाउण्ड घटाइएन । त्यसरी गलफति हुँदै त्यो बस सुन्दरबजार प्रहरी चौकीमा पुग्यो । त्यसपछि त्यहाँ बस रोक्न खोज्दा पनि नरोकी जान खोजेको, गाडीलाई रोकेर फोटो खिच्न खोज्दा समेत यो प्रतिनिधिलाई कुल्चुला झैं गरी गाडी कुँदाएर पर पुगे । त्यसपछि यो प्रतिनिधिले त्यो बसको पछाडिबाट फोटो खिच्न भ्यायो । त्यसपछि ती कण्डक्टर किन फोटो खिचिस् ? भन्दै झोकिदै आए र विवाद प्रहरी चौकी भित्र छिर्यो ।
ट्राफिक कार्यालयकी सहायक हवल्दारले ‘यो गाडीलाई अस्ति पनि चिट काटेको मैले नै हो बढी नबोली लाइसेन्स र ब्यूबुक दिने’ भन्नुभयो । त्यो आवाज सुनेपछि, उनीहरू बल्ल केही नरम भए । ट्राफिकले चिट काटेपछि यो प्रतिनिधिलाई मिलनचोकसम्म लग्नु पर्नेमा नलगी त्यही छाडेर हिड्न खोजे, यो प्रतिनिधिले बजरजस्ति चढ्ने काम गरी मिलनचोक पुगेको हो ।
स्मरणीय छ, मुलुकका ७७ जिल्लामध्ये सबैभन्दा महंगो बसभाडा लमजुङमा रहेको रकेर्ड कायम छ । त्यसमा पनि प्रशासन कार्यालयमा बस व्यवसायी समितिका प्रतिनिधिसहितको उपस्थितिमा गरिएको सहमति पनि कार्यान्वयन हुँदैन भने त्यसका विरुद्ध आवाज उठाउने कि मौनता साध्ने ? लमजुङबासीले अब बोल्न ढिला गर्नु हुँदैन ।
प्रकाशित मिति २०८१ मंसिर ७, शुक्रबार २०:११ गते