एमालेको पक्षपोषण गर्दै नबिच्क्याउन, गालीगलौज नगर्न काँग्रेसको कार्यकर्तालाई निर्देशन

एमालेको पक्षपोषण गर्दै नबिच्क्याउन, गालीगलौज नगर्न काँग्रेसको कार्यकर्तालाई निर्देशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर ७ गते शुक्रबार ०९:१३

केन्द्रीय निर्वाचन संयोजन समिति सदस्य मीन विश्वकर्माका अनुसार पार्टीले पुरानै घोषणापत्रमा चुनाव लड्ने निर्णय गरेको छ । उहाँका अनुसार छुट्टै घोषणा पत्र यसपटक छैन र पार्टीले बनाउने तयारी पनि गरेको छैन ।

कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलरमा त्यस्तो निर्देशन दिइएको हो ।

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले एमालेको पक्षपोषण गर्दै नबिच्क्याउन, गालीगलौज नगर्न काँग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै सत्ता सहयात्री दल नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिइएको मसिर ७ गते खुलासा भएको हो ।
उपनिर्वाचनका लागि महामन्त्री शर्माको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन समन्वय संयोजन समितिले छ मुद्दा तय गरेको छ । केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजकसमेत रहनु भएका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन केन्द्रित सर्कुलर जारी गर्नु भएको हो । उपनिर्वाचन हुने स्थानीय तहका समिति, जिल्ला र प्रदेश कार्यसमितिहरूको नाममा मंसिर ५ गते १५ बुँदे सर्कुलर जारी भएको हो । समितिका एक सदस्यले भने, ‘मंसिर ५ गते नै हामीले सर्कुलर तल पठाइसकेका छौँ ।’
स्थानीय तह निर्वाचन हुने सबै तहका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई उक्त सर्कुलर पठाइएको हो । जसमा दलहरू बिच सद्भाव र सामाजिक एकताको विषय मुख्य रूपमा राखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सर्कुलरमा लेखिएको छे, ‘चुनावी प्रतिस्पर्धाका बिच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुछ ।’
नेकपा एमालेसँग सत्ता सहकार्यको विषय पनि समावेश छ । अर्थात् कांग्रेसले सत्तामा भएको गठबन्धनलाई असर नगर्ने गरी चुनावी अभियानलाई अघि बढाउने र आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई पनि नबिच्क्याउने नीति लिएको महामन्त्री शर्माद्वारा जारी सर्कुलरमा उल्लेख छ ।
सर्कुलरमा भनिएको छ, ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा प्रस्ट हुनुपर्छ ।’ कांग्रेसले उपनिर्वाचन हुने भूगोलमा चुनाव केन्द्रित अभियान बाहेक अन्य कार्यक्रम मंसिर १६ गते अघि नगर्न पनि सर्कुलर मार्फत निर्देशन जारी गरेको छ ।
सर्कुलर मार्फत कांग्रेसले सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिबद्धता मतदातासमक्ष जनाउन पनि निर्देशन दिएको छ । पार्टीले ‘दोषीलाई दण्ड दिलाउने’ प्रतिबद्धता जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहित सहकारीको बचत हिनामिनामा संलग्न भन्ने इंगित गर्न खोजेको छ । रवि सहकारी ठग भएको भन्दै लामो समय कांग्रेसले सदन र विभिन्न सार्वजनिक मञ्चबाट उक्त एजेण्डा स्थापित गर्न संघर्ष गरेको थियो । कांग्रेसकै अडानमा संसदीय छानबिन समितिमात्र बनेन, समितिको प्रतिवेदनकै आधारमा उनै लामिछाने हाल प्रहरीको कष्टडीमा राखिएको हो ।

‘आमसभा, उत्तेजना र गालीगलौज नगर्ने’ :
कांग्रेस प्रचाव विभाग प्रमुख तथा केन्द्रीय निर्वाचन संयोजन समिति सदस्य मीन विश्वकर्मा यसपटक चुनावी आमसभा नगर्ने कांग्रेसको तयारी रहेको जानकारी दिएको छ । उहाँका अनुसार उपनिर्वाचन प्रचारप्रसारमा कुनै उत्तेजना, आक्रमक शैली नअपनाइ शालिन, भद्र, शिष्ट प्रतिस्पर्धामा उत्रने छ । एमाले र कांग्रेसबिच भद्र सहमति भएको र आमसभा नगर्ने निर्णयमा पुगेको उहाँको भनाइ छ ।
विश्वकर्माले भन्नुभयो, ‘हामी आमसभा नगर्ने, सानोसानो टोलको बैठक तथा घरदैलो कार्यक्रम गर्ने गरी अघि बढेका छौँ । चुनवी अभियान भनेर केन्द्रबाट कुनै नेता नजाने तर सय दिने अभियानमा खटिएका केन्द्रीय नेताले थप जिम्मेवारी लिने तयारी छ ।’
विश्वकर्माका अनुसार पार्टीले पुरानै घोषणापत्रमा चुनाव लड्ने निर्णय गरेको छ । उहाँका अनुसार छुट्टै घोषणा पत्र यसपटक छैन र पार्टीले बनाउने तयारी पनि गरेको छैन ।
कांग्रेसले तय गरेका मुद्दा र प्रतिबद्धता :
कांग्रेसले छ वटा मुद्दा र प्रतिबद्धता तय गरेर रूख चिह्नमा मत माग्ने निर्णय गरेको छ । उक्त निर्णयसहित स्थानीय तहमा गरिएको परिपत्र अनुसार पहिलो नम्बरमा लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित मत मार्ग निर्देशन छ ।
दोस्रो नम्बरमा स्थानीय तहलाई थप जनमुखी बनाउने तेस्रो नम्बरमा संघीय सरकारलाई अझ जिम्मेवार बनाउने उल्लेख छ ।
चौथो नम्बरमा काँग्रेसले सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने एजेण्डा तय गरेको छ । पाँचौँ नम्बरमा गाउँठाउँमा विगतमा पुगेका विकासका कार्य नागरिक पंक्तिमा स्मरण गराउँदै अधुरा विकास योजनालाई गति दिएर नागरिकमा नयाँ विश्वास जागृत गर्ने कर्म गर्न निर्देशन दिएको छ । छैटौँ एजेण्डाका रूपमा स्थानीयवासीको भावना र आवश्यकता अनुरुप स्थानीयस्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्नका लागि कांग्रेसलाई जिताउन भन्दै मत माग्नेगरी तल्ला तहमा परिपत्र गरेको हो ।
आचरण अनुसार कारबाही फुकुवा :
जारी परिपत्रमा स्थानीय तह उपनिर्वाचन हुने स्थानमा रहेका तर अनुशासनको कारबाही भोगिरहेका नेता–कार्यकर्तामाथिको कारबाही फुकुवा गर्न केही शर्त समेत तोकेको छ । निर्वाचनमा पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका या विरुद्धमा रहेकाहरूलाई उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन निर्वाह गर्ने भूमिकाका आधारमा कारबवाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्ने परिपत्रमा उल्लेख छ ।
स्रोत भन्छ, ‘चितवनका दिनेश कोइरालाहरू जस्तै राम्रो काम गर्नुभए फिर्ता हुन्छ । हैन, राम्रो गर्नुभएन भने उहाँहरूको कारबाही यथावत् रहन्छ ।’
उपनिर्वाचन ३३ जिल्लाका रिक्त ४४ स्थानीय पदका लागि मंसिर १६ गते हुँदैछ । ती मध्ये ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
स्मरणीय छ, ती दुबे पदमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चुनाव नलड्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति २०८१ मंसिर ७, शुक्रबार २१:१३ गते
हजुरको प्रतिक्रिया