बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बेसीशहर नगरपालिका– ६ का सभापति तेजबहादुर भण्डारी मातृशोकमा पर्नु भएको छ । सभापति भण्डारीकी ममतामयी आमा टीकामाया भण्डारीको ८८ बर्षको उमेरमा मङ्सिर ८ गते साँझ निधन भएसँगै भण्डारी शोकमा पर्नु भएको हो ।
आमा टीकामाया खासै विरामी पनि हुनुहुन्थेन । तर उहाँको निधन अचानक जस्तै भएको उहाँको परिवार स्रोतले जनाएको छ । रास्वपा बेसीशहर– ६ का सभापति तेज भण्डारी आमा टीकामायाका एकमात्र सुपुत्र हुनुहुन्छ ।
आमा स्व. टीकामाया विसं १९९३ को बैशाख २ गते जन्मनु भएको थियो । उहाँले आफू गृहिणी बनेर घर सम्हाल्नु भई श्रीमान् बाबुराम भण्डारीलाई समाजसेवाका लागि अवसर प्रदान गर्नु भएको थियो । सोही वडाको एकमात्र गंगा मिलन माविको संस्थापक उहाँलाई सो माविको स्वर्ण जयन्तीका अवसरमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट ‘जीवित संस्थापक’का रुपमा सम्मानित हुनु भएको थियो । समाजसेवी र हकी स्वभावका धनी बाबुराम भण्डारी स्थानीय चण्डेश्वरी प्राविको जग्गादाता समेत हुनुहुन्थ्यो । उहाँको पनि २०७६ सालमा ८८ वर्षकै उमेरमा निधन भएको हो ।
स्वर्गीय आमा टीकामायाको आज ९ गते विहान भलामखोला र शितप्रवाह नदी दोभानको मरनघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय आमाको अन्तिम विदाईका लागि रास्वपा लमजुङका सहसंयोजक अशोक सापकोटा, रास्वपाको निर्वाचन क्षेत्र समितिका संयोजक एवम् बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापा, रास्वपाका बेसीशहर नगरसभापति कृष्ण राउत, सोही नगरका संगठन विभागका प्रमुख होम राउत, सोही वडाका उपसभापति राजकुमार राउतलगायतका रास्वपा कार्यकर्ताहरूको भारी संख्यामा मरनघाटमा सहभागिता थियो ।
स्वर्गीय आमा टीकामायाका एक छोरा, तीन छोरी, ५÷५ जना नातिनातिना र तीन जना पलाति छन् ।
प्रकाशित मिति २०८१ मंसिर ९, आईतवार १९:०२ गते