चनौटे(लमजुङ)– बेसीशहर नगरपालिका– ६ को चनौटे स्थित चनौटे प्राविका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राउतलाई सम्मान गरेको छ । विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी राउतलाई मंसिर ९ गते सम्मान गरिएको हो ।
सोही वडाका वडासदस्य सोमबहादुर रिमालको प्रमुख आतिथ्यतमा गरिएको उक्त कार्यक्रममा उहाँका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक साधना कोइरालाले संयुक्त रुपमा जग्गा दाता राउतलाई सम्मान गर्नु भएको हो ।
सम्मान ग्रहण पछि राउतले २०४६ सालको पुस २६ गतेका दिन यो विद्यालय स्थापनाका लागि निर्णय गरिएको थियो । त्यसपछि विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा दुई आना प्रदान गरेको थिए । त्यो, कार्य आफू यहाँबाट गाउँशहरमा पढ्न गएको, बाटोमा तिर्खा लागेर बाघखोरको जंगलमा पानी अमला खान जाँदा स्कूल जान नै कति दिन बिर्सिएको घट्नाको पीडाले यो गाउँका बालबालिकाले गाउँमै उचित शिक्षादीक्षा पाउनु पर्छ भन्ने पवित्र भावनाले जग्गा दान गरेको स्मरण गर्नु भयो ।
उहाँले त्यो बेलामा व्यवस्थापन समितिको अध्यक्ष समेत आफैलाई बन्नु पर्ने बाध्यता रह्यो, बने । तर भवन निर्माणको काम अलपत्र थियो । रेडक्रस शाखामा अनुरोध गरेर छानाको लागि जस्तापाताको जोगाड गरेको, किलाकाटी नपुग आफैले खल्तीबाट बेहोर गरेको समेत जानकारी दिनुभयो । त्यसैगरी, त्यो बेलामा गाउँमा खानेपानीको अभाव पूर्ति गर्न खानेपानी योजना, यसपर हरियाली बचाउनका लागि जंगलको संरक्षण कार्यक्रम समेत आफूले यहाँ बस्दा सञ्चालन गरेको उल्लेख गर्नु भयो । उहाँले विद्यालय हाताको मिलानका लागि आवश्यक पर्ने थप करिब छ आना जग्गा पनि निकट भविष्यमै विद्यालयलाई प्रदान गर्ने प्रतिवद्धतासहितको जानकारी दिनु भएको छ ।
सो अवसरमा उहाँका सुपुत्र सोमबहादुर राउतलाई पनि सम्मान गरिएको थियो । जग्गा दाता राउतको परिवार यतिबेला नवलपरासीको कावासोती नगरपालिका– ३ को शान्तिटोलमा बस्ने गर्नु हुन्छ । उहाँ २०५६ सालमा त्यसतर्फ झर्नु भएको हो । तर आजका दिनसम्म पनि बसाईसराई उता नगलेको गर्वका साथ बताउनु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि वडासदस्य सोमबहादुर रिमालले जग्गादाता राउतलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले २०४६ सालमा यो गाउँको नयाँ भाग्य कोर्नका लागि पहल गर्नु भएको, खानेपानी समते आफ्नै पहलमा गाउँमा ल्याउनु भएको, वरपरको जंगलको संरक्षण जस्ता कार्य गरेर विशेष योगदान गरेको उल्लेख गर्नुभयो ।
सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती भण्डारी राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वअध्यक्ष एवम् पूर्ववडा सदस्य होम राउतले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
उहाँले विद्यालयको इतिहासका बारेमा जानकारी दिदै जग्गादाताकै कारणले आज चनौटे गाउँको शोभाका रुपमा यो प्रावि रहन सकेको उल्लेख गर्नु भयो । यसैकारणले पनि जग्गादाताहरू स्मरण गर्दै गणेशबहादुर राउत र यमबहादुर राउत(सात आना जग्गाका दाता) गाउँलेका लागि सदा सम्मानित रहिरहनु हुने उहाँले बताउनु भयो । सो अवसरमा गणेशबहादुर राउतलाई हस्तान्तरण गरिएको सम्मानपत्र उहाँले वाचन गरी सुनाउनु भएको थियो ।
सो अवसरमा व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू सन्तबहादुर राउत, दुर्गा खड्का राउत, कृष्ण आले, पूर्वशिक्षक कृष्णबहादुर राउत, मर्स्र्याङदी वन उपभोक्ता समितिका सचिव रामकाजी राउत, सोही समितिका पूर्वअध्यक्ष जगतबहादुर राउत, सोही समितिका पूर्वसचिव भेषबहादुर राउत, चनौटे खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम राउन, उपाध्यक्ष खुसबहादुर राउत, शिक्षक लक्ष्मी बुढाथोकी, चनौटे टोल सुधार समितिका अध्यक्ष राजकुमार राउत लगायत अभिभावकहरूको सहभागिता थियो ।
प्रावि तहको कक्षा– ३ सम्ममात्र पढाई हुने उक्त विद्यालयका कुनै दिन एकसय ५० जना विद्यार्थी रहेका थिए । तर हालमा भने २२ जनामा सीमित हुन भएको छ । त्यो संख्यामा पनि स्थानीयबासीका छोराछोरी अति कम छन् । अधिकांश त्यो क्षेत्रमा डेरा गरी बस्ने बाहिरका व्यक्तिहरूका छोराछोरी मात्र पढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रकाशित मिति २०८१ मंसिर ९, आईतवार १९:४९ गते