बेसीशहर– ‘महिला काममा, बालबालिका स्कूलमा’(वाकस) महिला अधिकार र समुन्नतिका लागि एक सार्थक अभियानका रुपमा स्थापित भइरहेको छ । त्यसको दुई दिने केन्द्र र क्षेत्रीय समितिका प्रतिनिधिहरूको प्रशिक्षण यहाँ स्थित गेटवे हिमालय रिसोर्टमा मंसिर १५ गते सम्पन्न भएको छ ।
महिलालाई स्वावलम्बी र आत्मानिर्भर बनाउनु यो कार्यक्रमको उद्देश्य रहेको छ । हिजोका दिनमा श्लिषाले समूहगत रुपमा सञ्चालन गरेको यो कार्यक्रमले पछिल्ला महिनामा वाकसका नाउँमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर गैससको रुप धारण गरेको सो अभियानकी तनहुँकी टोली नेता दीपा अधिकारीले बताउनु भयो । उहाँका अनुसार वाकसको समूहमा आवद्ध भएका महिलाहरूले आफ्नै क्षमतामा आधारित आत्म निर्भर कार्यक्रम आफ्नो सीप, रुचि र क्षमता अनुसार सञ्चालन गरिआउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो अभियानमा जोडिनु भएका दिदीबहिनीहरूले कुखुरा, बाख्र्रा, वंगुर, पुष्पखेती, अदुवा, हलेदो खेती, तरकारीसहित विभिन्नजातका वनस्पतिको नर्सरी आदि सञ्चालन गरी आउनु भएको छ ।’
अधिकारीले आफ्नो शब्दमा सो तालिमको उद्देश्यमा प्रकाश पार्दै महिलाको सक्रिय सहभागिताबाट उद्यमी र आत्मनिर्भर महिला बनाई सशक्त तथा न्यायोचिन समाजको निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार लमजुङमा रहेका क्षेत्रीय र केन्द्रीय समितिका प्रतिनिधिहरू यो तालिममा ५८ जनाले भाग लिएका छन् ।
केही दिन अघिमात्र केन्द्रीय सचिवमा निर्वाचित हुनुभएकी कल्पना पौडेलले उद्यामशीलताका लागि दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने, महिलाहरूमा आत्मविश्वास जागृत गर्ने, पुरुषमा निर्भर हुनु नपर्ने स्थितिको विकासका लागि आफूले काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तालिममा विगतका तीन वर्षमा गरिएका कार्यक्रमको समीक्षा, उपलब्धी र समस्यालाई लाई लिपिबद्ध गरी न्यस्करणका उपायको खोजी गरिएको छ ।’
सो अभियानमा लमजुङका दुई हजारभन्दा बढी महिला आवद्ध भएका छन् । त्यो कार्यक्रम यो वर्षदेखि दोर्दी गाउँपालिकाको सबै वडामा पुग्दै छ भने मध्यनेपाल नगरपालिकामा पनि विस्तार हुँदैछ । विस्तारै जिल्लाव्यापी हुने क्रममा रहेको यो अभियान क्ब्होलासोथर र मर्स्याङदी गाउँपालिकामा जान बाँकी छ । श्लिषा नामक गैससबाट यो अभियान लमजुङमा सन् २०१६ बाट थालिएको हो । मुलुकका जम्मा पाँच जिल्लामा सञ्चालित यो कार्यक्रममा लमजुङ समेटिनु थप फलदायी मानिएको छ । सो कार्यक्रम तनहुँ, काठमाडौं, ललितपुरका अतिरिक्त रौतहटमा सञ्चालन हुँदै आएको छ ।
सो अभियान तथा श्लिषाका परिकल्पनाकार झण्डै पाँच दशकदेखि महिला अधिकारका लागि लडिरहनु भएकी अभियन्ता संगीता श्रेष्ठ हुनुहुन्छ । उहाँले तालिममा सैद्धान्तिक र प्रयोगात्मक विधिबाट उत्प्रेरणामूलक प्रशिक्षण दिनु भएको थियो । उहाँले सहभागीहरूलाई १० समूहमा विभाजन गरी विषयगत छलफल गर्न लगाएर समस्या तथा चुनौतिको पहिचान गराई समाधानका उपाय खोजी गर्न लगाउने र ती उपायलाई भोलिका दिनमा कार्यान्वय गर्नका लागि आत्मबल बढाउने गरी प्रशिक्षित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय र केन्द्रीय समितिका प्रतिनिधिहरूको अनुभव आदानप्रदान, भूमिका, कार्य योजनाको निर्माण गर्नुका साथै वाकस लमजुङको यात्रा तय गर्ने कार्य गरिएको छ । समग्रमा तालिम उपलब्धीपूर्ण रह्यो, सहभागीहरू उत्साहित भएर केही गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरेर फर्कनु भएको छ सो अभियान तथा श्लिषाका परिकल्पनाकार संगीता श्रेष्ठले उल्लेख गर्नुभयो ।
भोलिदेखि यो तालिम तनहुँ सञ्चालन गरिने टोली नेता दीपा अधिकारीले जानकारी दिनु भएको । तनहुँमा कार्यक्रम भरखर भरखर विस्तार गरिएको हुँदा भानु नगरपालिकाका आठ वडामा मात्र हाल कार्यक्षेत्र रहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ मंसिर १५, शनिबार १७:२५ गते