पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कास्कीको पहिलो जिल्ला भेलाले यदुनाथ अघिकारीलाई निर्विरोध रुपमा चयन गरेको छ । सो दलका केन्द्रीय सदस्य एवम् संघीय सांसद शिव नेपाली तथा रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमको विशेष उपस्थितिमा भएको भेलाले अधिकारीलाई मंसिर १४ गते जिल्ला सभापति चयन गरेको हो ।
यहाँ स्थित जिरो किलोमा रहेको घण्टीघरमा आयोजित जिल्ला भेलामा कास्की जिल्लाका पाँच वटै पालिका समिति, तिनका प्रतिनिधिहरूका साथै जिल्ला स्थित ७२ वटै वडाका प्रतिनिधिले भाग लिएका थिए । भेलाको सांसद नेपालीले घण्टी बजाएर उदघाटन गर्नु भएको थियो ।
आफ्नो उदघाटन मन्तव्यमा सांसद नेपालीले देशको विद्यमान राजनीतिक वस्तुस्थितिका साथै पार्टीको वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, गण्डकी प्रदेशका सभापति राजन गौतमले गण्डकीमा जिल्ला भेला गर्ने कास्की पहिलो जिल्ला भएको जानकारी दिनुभएको थियो । उहाँले गण्डकीको प्रदेशस्तर पार्टीको गतिविधि एवम् संगठन विस्तारका विगतका कार्य र भावि योजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।
यसैगरी, भेलाको सभापतित्व समेत गर्नु भएको रास्वपा कास्कीका जिल्ला संयोजक योगराज पौडेलले जिल्लामा पार्टीको गतिविधिका बारेमा प्रकाश पार्नु हुँदै आफ्नो पालामा भए गरेका कामको प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । उहाँले कास्कीमा रास्वपाको सदस्यता लिने संख्या भेलाको अघिल्लो दिनसम्म छ हजार ४९ जना रहेको जानकारी दिनुभयो ।
रास्वपाका प्रदेश इन्चार्ज एवम् निर्वाचन समितिका संयोजक झपिलाल डुम्रेले निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै निर्वाचित समितिको घोषणा गर्नु भएको थियो ।
भेलाबाट नवगठित समितिको सभापति यदुनाथ अधिकारी चयन हुनुभएको छ । यसैगरी उपसभापति राजु राई चयन हुनु भएको छ । राई यसअघि जिल्ला समितिमा सहसंयोजक हुनुहुन्थ्यो । त्यस्तै, सचिव दीपेन्द्र पोखरेल (वादशाह), सहसचिव एकराज सापकोटा चयन हुनुभएको छ । त्यसैगरी, समितिको सदस्यहरूमा बिना गुरुङ, शोभा कायस्थ, शर्मिला रिजाल, भोजराज तिमिल्सिना, श्याम गुरुङ, विश्वराज पोडेल र श्रवणराज कट्टेल चयन हुनु भएको छ ।
१९ सदस्यीय हुने कास्की शाखाको जिल्ला समितिका बाँकी पदमा पाँच पालिकाका सभापति पदेन सदस्य हुनुहुन्छ भने कोषाध्यक्ष सहित अन्य सदस्य पद पहिलो बैठकले मनोनित गरी पूर्ति गर्ने नवनिर्वाचित जिल्ला सभापति अधिकारीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८१ मंसिर १६, आईतवार ०७:२९ गते