काठमाडौँ– स्थानीय तह उपनिर्वाचन अन्तर्गत ६० प्रतिशतभन्दा बढी मत खस्ने आंकलन निर्वाचन आयोगले गरेको छ । दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मतदान सम्पन्न भइसकेको आधारमा निर्वाचन आयोगले मंसिर १६ गते त्यस्तो आंकलन गरेको हो ।
मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलले बताउनु भयो । उहाँका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ । उहाँले भन्नुभयो, ‘उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । आयोगले मतदानको गति हेर्दा ६० प्रतिशत बढि मत खस्ने अनुमान गरिएको छ निर्वाचन आयोगकोे भनाइ छ ।’
यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ ।
गोरखा– ५ मा २ बजेसम्म ५५ प्रतिशत मतदान :
यसैबीच, गोरखा नगरपालिका– ५ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा अपराह्न २ बजेसम्म ५५.९१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताउनु भयो । उहाँका अनुसार दिउँसो २ बजेसम्म १ हजार २४४ मतदाताले मत खसालेका छन् । उहाँले भन्नुभयो, ‘गोरखा– ५ मा दुई हजार २२५ मतदाता छन् ।’
उक्त वडामा वडाध्यक्ष चयनका लागि मतदान भएको हो ।
गोरखा– ५ को वडाध्यक्ष बन्नलाई चुनावी मैदानमा ९ जना छन् । वडाध्यक्ष निर्वाचित हुने दौडमा नेकपा एमालेको तर्फबाट दुर्गामाया थापा, नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापा चुनवानी मैदानमा हुनुहुन्छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्पना राना, नेपाल समाजवादी पार्टीका रुपेश मगराती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङ पनि चुनावी मैदान उत्रनु भएको छ ।
२०७९ मा स्थानीय तह निर्वाचनमा सो वडा अध्यक्ष पदमा नेकपा एमालेका खिलबहादुर रानाले जित्नु भएको थियो ।
रानाको २०७९ साल कार्तिक १० गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
काठमाडौँमा मतदान लगत्तै गणना थालिने :
यसैबीच, काठमाडौँ महानगर– १६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर– १ र ४ को वडाध्यक्षका लागि भइरहेको चार वटै स्थानमा मतदान सकिएलगत्तै मतगणना सुरू हुने व्यवस्था मिलाइएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनु भएको छ । उहाँका अनुसार काठमाडौं– १६ को वडाध्यक्षको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने प्रवन्ध छ । भोलि विहानसम्म परिणाम आउने छ ।
उहाँले भन्नुभयो, ‘काठमाडौं– १६ र कीर्तिपुरको दुई वडाध्यक्षको परिणाम रातभरिमा आउन सक्छ ।’
कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन् ।
यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको साथ लिएर उम्मेदवारी दिएको छ ।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवशरण महर्जन चुनावी मैदानमा उत्रनु भएको छ ।
स्वतन्त्र उम्मेदवारहरूमा राजमान महर्जन, नरेश श्रेष्ठ लगायत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले वजाएको छ ।
मुलुकभर नगरपालिकाको मेयर र उपमेयर एक, एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा निर्वाचनका लागि मतदान जारी रहेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
प्रकाशित मिति २०८१ मंसिर १६, आईतवार १५:४५ गते