लमजुङ– पत्रकार महासंघको मंसिर २८ गते लमजुङमा सम्पन्न भएको निर्वाचनको घट्नाबाट त्यो दिनले ‘कालो दिन’को संज्ञा मात्र पाएको छैन सो गठबन्धन आउँदो २०८४ सालमा हुने आमनिर्वाचनको पूर्व संकेतका रुपमा हेरिएको छ । सो भागवण्डाले पत्रकार महासंघको कार्यसमितिमा रहेका व्यक्तिहरूमा उथलपुथल ल्याएर उनीहरू पार्टीका गोटी भएको थप पुष्टि गरेको छ । पत्रकारको हुर्मत लिएको रुपमा समेत हेरिएको छ ।
अर्काले गरेका विकृति विसंगतिका बारेमा प्रश्न उठाउने पत्रकार जगतको यो अवस्थाले पनि समाजमा के कति स्वच्छता ल्याउन मद्दत गर्ने हो ? भन्ने थप आशंका बढाउने काम गरेको छ । अर्को पत्रकारहरूमा हुनु पर्ने ठूलो सम्पत्ती भनेको ‘स्वाभिमान’ हो । त्यो जिल्लाका कति पत्रकारमा छ ? सम्पन्न निर्वाचनले यो प्रश्नलाई थप पेचिलो रुपमा उजागर गरेको छ ।
यहाँ व्यक्तिको भन्दा पनि पद्दति तथा प्रक्रियाका प्रश्न उठाइएको हो । पद्दति मासियो भने त्यसपछि लोकतन्त्रको जग कसरी बलियो हुन्छ । औचित्य के रहन्छ ? अनि, त्यहाँ हैकमवाद नमौलाए के मौलाउँछ ?
अध्यक्षमा जित्नु भएका सन्देश पौडेल गत निर्वाचनमा उपाध्यक्षमा पराजित हुनु भएको थियो । उहाँ अध्यक्ष हुनुलाई अन्यथा मान्न सकिदैन, स्वभाविकै हो । उहाँले एकै पटक दुई लडाई जित्नु भएको छ । तर अनुज अधिकारीले आफूले हराएको व्यक्तिको अण्डरमा बस्न चाहनु भएन उहाँले स्वाभिमान देखाउनु भयो र स्वतन्त्र उम्मेवारी दिनु भएको हो । तर अन्यको अवस्था के कस्तो छ ? नियालौं ।
गत कार्यकालमा महिला उपाध्यक्ष रहनु भएकी शान्ता कमली कार्यकारी सदस्यमा झर्नुभएको छ । एक कार्यकाल उपाध्यक्ष बिताई सक्नु भएका कृष्ण आले सचिवमा झर्नु भएको छ । त्यस्तै, दुई कार्यकाल सहसचिव रहनु भएका श्याम सित्तल परियार पनि सदस्यमा झर्नु भएको जानकारीमा आएको छ । उता मनाङमा समेत सदस्य रहनु भएका जिवी घिमिरे पनि एक कार्यकाल सहसचिव भइसक्नु भएको हो तर उहाँ पनि सदस्यमा झर्नु भएको बताइन्छ ।
यो वर्षमात्र सदस्यता पाउनु भएकी वसन्ता भट्टले महिला उपाध्यक्ष भेट्नु भएको छ । तर यस्तै परम्पराले निरन्तरता पायो भने उहाँको यो वर्ष पाएको खुशी कति कायम रहने हो ? भोलि भोलिका दिनमा देखिने नै छ । त्यसमा पनि लामो समय पत्रकारिता गर्ने सोच हुनेहरूले पद लिदा बिचार गर्नु पर्छ भन्ने संकेत समेत यो निर्वाचनले दिएको छ ।
पत्रकार महासंघको सम्पन्न निर्वाचनले एकल निर्वाचन लड्ने गुड्डी हाकिरहेको नेपाली काँग्रेसको समेत धोती खुस्केको रुपमा लिइएको छ ।
प्रकाशित मिति २०८१ मंसिर २९, शनिबार ०७:३९ गते