
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको पहिलो जिल्ला भेलाद्वारा निविरोध तदर्थ समिति चयन गरेको छ । यहाँ स्थित शान्ति टोल तमु भवनमा भएको भेलाले मंसिर २९ गते नौ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
१३ सदस्यीय हुने सो समितिको बाकी चार सदस्य पद र कोषाध्यक्ष निकट भविष्यमै पूर्ति गरेको बताएको छ । समितिको सभापतिमा अशोक सापकोटा सुन्दरबजार, उपसभापति प्रकाश थापा बेसीशहर, सचिव रमा खड्का दोर्दी, सहसचिव बाबुराम अधिकारी सुन्दबजार चयन हुुुनु भएको निर्वाचन समितिका संयोजक एकराज न्यौपानेले बताउनु भएको छ ।
यसैगरी, सदस्यमा विजयरञ्जन पौडेल मध्यनेपाल, होमबहादुर राउत बेसीशहर, धनबहादुर गुरुङ राइनास, मीना खड्का बेसीशहर, सविता बराल बेसीशहर र फलेन्द्रबहादुर रावल बेसीशहर चयन हुनुभएको निर्वाचन समितिका सदस्य अनिता अधिकारीले बताउनु भएको छ ।
सो समितिमा चार सदस्य पद मनोनित गर्दा क्ब्होलासोथार र दूधपोखरीको पनि प्रतिनिधित्व हुने रास्वपामा निर्वातमान जिल्ला संयोजक धर्म केसीले बताउनु भएको छ । उहाँका अनुसार क्ब्होलासोथारको प्रतिनिधि आउनु भएर पनि उम्मेवारी दर्ता गर्ने समयमा उहाँ बाहिर जानु भएको हुँदा छुट्नु भएको हो । उहाँले भन्नुभयो, ‘तदर्थ समितिले पूर्णता पाउँदा कुनै पनि पालिका छुट्दैन ।’
सो भेलाको रास्वपाका कावा महामन्त्री कविन्द्र बुर्लाकोटीले उदघाटन गर्नु भएको हो । उहाँले भेलालाई सम्बोधन गर्दै पार्टीलाई सक्दो बढी मात्रामा अनुशासित र लोकतान्त्रिक बनाउने बताउनु भयो । उहाँले पछिल्ला वर्षमा कम्युनिष्टहरू कम्युनिष्ट रहेनन् न त लोकतन्त्रवादी हुँ भन्ने दलनै लोकतान्त्रिक सिद्धान्तमा अडेका छन् । त्यसैले हामी हाम्रो पार्टीलाई ती दलभन्दा भिन्न बनाउन चाहन्छौं भन्नुभयो ।
उहाँले कार्यकर्ताको मुख्य कसी इमान्दारिता हो, इमान्दारितामा खरो उत्रन नसक्ने व्यक्ति रास्वपाको कार्यकर्ता हुन नसक्ने उहाँको जिकिर थियो । उहाँले पार्टीलाई संगठन मुखी बनाउनका लागि जिल्ला भेलाको आयोजना गरिएको जानकारी दिदै गत सातासम्म २९ जिल्लामा तदर्थ समिति गठन भएको र यो साता त्यो संख्या ४० जिल्लामा पुग्ने उल्लेख गर्नु भयो । उहाँले पुस मसान्त भित्र थप २० जिल्लामा संगठन विस्तार गर्ने कार्यक्रम पार्टीको रहेको उहाँले जानकारी दिनु भयो ।
सभापतिको हिरासत बसाई पार्टीका लागि चुनौति भएको उहाँल उल्लेख गर्नुभयो । आफ्नो पार्टीले हाम्रोभन्दा राम्रो छान्ने जिकिर गर्नु भएको थियो ।
त्यस्तै, पार्टीमा समय दिनसक्ने कार्यकर्ताको समेत खाँचो रहेको उहाँको भनाई थियो । उहाँले खहरे भनिएको रास्वपा अब महासागर बन्ने दौडमा छ जहाँ भ्रष्टाचार तथा नैतिकहीनहरूलाई छुर्लुम्म डुवाउने छ भन्नुभयो ।
सो भेलामा पूर्वशिक्षामन्त्री समेत रहनु भएका सांसद शिशिर खनालले रास्वपालाई काठमाडौंकी नानीमैयाको संज्ञा दिदै खहरे भन्नेहरू संघीय सांसदको उपनिर्वाचनमा तनहुँ र चितवनमा सानदार जीत भएसँगै भ्रष्टाचारीहरूको सातो गएको स्मरण गर्नुभयो । त्यसैले सभापति रवि लामिछानेलाई फसाउने षडयन्त्र गरी रातारात यता र उता सार्ने गर्नुका साथै उहाँको मनोबल गिराउने प्रयास भएको छ तर रवि त्यति सहजै गल्ने मान्छे हुनुहुन्न उहाँले भन्नुभयो । उहाँले अबको अढाई वर्षमा हुने स्थानीय तहको निर्वाचनलाई हेरेर काम गर्नु पर्नेमा जोड दिनु हुँदै त्यस्तो सक्षम नेतृत्व चयन गर्नका लागि आग्रह गर्नुभयो । रास्वपा के कस्तो दल हो भन्ने चार महिना सरकारमा बस्दा यो दलबाट मन्त्री भएकाहरू कसैले पनि भ्रष्टाचार नगरेबाट प्रष्ट हुन्छ भन्नुभयो ।
सो दलका गण्डकी प्रदेश सभापति राजन गौतमले रास्वपाको सपना सभापति रवि लामिछानेको मात्र नभई हामी लाखौं कार्यकर्ता तथा देशबासीको समेत हो भन्नुभयो । उहाँलाई मुद्दा लगाउनु अर्थ ठूला मुद्दा ओझेलमा पार्नका लागि विषयान्तर गर्न गरिएको हो गौतमले ठोकुवा गर्नुभयो । उहाँले दुईतिहाईको दम्भले फुलेको सरकारले हिम्मत भए मध्यवधि निर्वाचन घोषणा गरेर हेर्न चुनौति दिनुभयो । रास्वपाका सभापति रविले जेलभित्रैबाट नेतृत्व गरेर पनि पार्टीलाई दुईतिहाई दिलाउने सक्ने दावी गर्नुभयो ।
रास्वपाका केन्द्रीय सदस्य समेत रहनु भएका गण्डकी प्रदेश सभापति राजन गौतमले ०७९ को निर्वाचनमा २१ जना भ्रष्टाचारीलाई सदनमा जानबाट राकेको रास्वपाले ०८४ को निर्वाचनमा १८४ जनालाई रोक्ने छ भन्नुभयो ।
सो अवसरमा रास्वापा काठमाडौं क्षेत्रनं ७ को निर्वाचन समितिका उपसंयोजक कैलाश शिलुवालले शुभकामना व्यक्त गर्दै आफू लमजुङबासी भएर पनि काठमाडौंको प्रतिनिधि भएर उभिएको उल्लेख गर्नु भयो । जिल्ला भेलामा दरिलो उपस्थिति तथा र्यालीले लमजुङ घण्टीमय भएको पुष्टि भएको छ, यो उत्साहलाई निरन्तरता दिएर अघि बढ्नु पर्छ भन्नुभयो । रास्वापाका जिल्ला संयोजक धर्म केसीको अध्यक्षतामा भएको सभामा सहसंयोजक अशोक सापकोटाले स्वागत तथा बेसीशहर नगरको महिला विभाग संयोजक मीना खड्काले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ मंसिर २९, शनिबार १८:२३ गते