बेसीशहर– लमजुङको यहाँ स्थित विद्याविकास आवासीय मावि गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगितामा दोस्रो हुन सफल भएको छ । शिक्षक तथा विद्यार्थी प्रतीभा पहिचान कार्यक्रम अन्तरगतको सो प्रतियोगितामा लमजुङको विद्याविकास आवासीय मावि दोस्रो भएको हो ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास निर्देशनालयको आयोजनामा सो प्रतियोगिता गरिएको हो । गण्डकी प्रदेशका १० जिल्लाले भाग लिएको सो प्रतियोगितामा दोस्रो भएसँगै विद्याविकास आवासीय माविले २० हजार नगद र प्रमाणपत्र पाएको छ ।
विद्याविकास आमाविबाट नृत्य प्रदर्शन गर्ने टोलीमा जीना गुरुङ, प्रिन्सेस गुरुङ, आस्ना गुरुङ, एल्जीना गुरुङ र जेसिका घले रहेका थिए ।
सो प्रतियोगितामा कास्की पहिलो र म्याग्दी जिल्लाको टोली तेस्रो भएका थिए ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दूकुमार थापाले विजयी कलाकारहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमले मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धन कार्यमा टेवा पुग्ने विश्वास गर्न सकिने आधार तयार भएको बताउनु भयो ।
आँगनमा फूल फुल्यो भन्ने बोलको मगर समुदायमा नाचिने नाच टप्पा नृत्य खासगरी दाङमा बढी प्रचलित रहेको प्रदर्शन गरेको आयोजक शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा मौलिक संस्कृतिमा आधारित गीतहरू आएका थिए ।
प्रकाशित मिति २०८१ पुष २, मंगलवार ०७:५८ गते