काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झा तथा प्रतिक थापालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ । उच्च अदालत पाटनले समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै राख्न कार्तिक २७ गते आदेश दिएसँगै त्यस्तो खुलासा भएको हो ।
जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए । ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो ।
जिल्ला अदालत काठमाडौँले दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनीहरू उच्च अदालत गएका थिए ।
न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । सो संयुक्त इजलासले बेचन झा तथा प्रतिक थापालाई कारागारमै राख्न आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताउनु भयो । उहाँका अनुसार जिल्ला अदालतले गरेको आदेश ठीक छ, त्यसैलाई कार्यान्वयन गर्नू भनेर आदेश सदर गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । त्यस्तै, बेचनभन्दा अघि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । तत्कालीन समयमा फरार रहेका उनी पक्राउ गरी अदालतमा पेस गरेपछि पुर्पक्षका लागि पुर्पक्षका लागि थुनामा पठाइएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।
झालाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानका आधारमा पक्राउ गरेको हो । तर झाले आफ्नो संलग्नताबारे भने अस्वीकार गर्दै आएका छन् ।
स्मरणीय छ, उक्त मुद्दामा नेपाली काग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।
प्रकाशित मिति २०८१ पुष २, मंगलवार ०९:०८ गते