दुईपिप्ले(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा प्रथम मध्यनेपाल महोत्सव– २०८१ को सञ्चालन गर्ने घोषणा गरिएको छ । नौ दिने सो महोत्सव यही पुसको २४ गतेदेखि माघ ३ गतेसम्म हुने महोत्सवको लमजुङ उद्योग वाणिज्य संघको दुईपिप्ले– सोतीपसल इकाईले सयोजन गर्ने भएको हो ।
सो महोत्सवका लागि ‘स्थानीय उत्पादन, पर्यटन पूर्वाधार, मौलिक कलासंस्कृति मध्यनेपालको आधार’ भन्ने नारा तय गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघको दुईपिप्ले– सोतीपसल इकाईका अध्यक्ष एवम् महोत्सव मूलसमारोह समितिका संयोजक रमेशचन्द्र भट्टराईले बताउनु भयो । उहाँका अनुसार स्थानीय क्षेत्रका वडाध्यक्ष तथा बुद्धिजीवीहरूको संयुक्त बैठकबाट सो महोत्सव सञ्चालन गर्ने निर्णय गरिएको हो ।
महोत्सवका आकर्षणमा स्थानीय उत्पादन, कृषि, घरेलु एवम् व्यवसायिक प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, ख्यातिप्राप्त कलाकारहरूबाट हाँस्यव्यङ्ग्य प्रस्तुति, मनोरञ्जनका लागि बालउद्यान/रमाइलो मेलाका साथमा ठाडोभाका आदि रहेको महोत्सव मूलसमारोह समितिका संयोजक भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार अन्य आकर्षणमा हस्तकला प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पर्यटकीय धार्मिक स्थलहरूको अवलोकन, आदिबासी जनजातिको संग्रहालय एवम् खाना महोत्सव, खुला लोकदोहारी गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम, विभिन्न जनजातिहरूको भेषभुषा, संस्कृति झल्कने झाँकीको प्रदर्शन आदि रहेको छ ।
महोत्सवका संरक्षकमा मध्यनेपाल नगरपालिका रहेको छ । त्यस्तै सहयोगीमा लमजुङ उद्योग वाणिज्य संघ रहेको सयोजक भट्टराईले जानकारी दिनु भएकोछ ।
महोत्सवका बारेमा थप जानकारी निकट भविष्यमा पत्रकार सम्मेलन गरेर दिइने महोत्सव मूलसमारोह समितिका संयोजक भट्टराईले उल्लेख गर्नु भएको छ ।
प्रकाशित मिति २०८१ पुष २, मंगलवार १९:४७ गते