वामपन्थी नेता वामदेव समाजवादी प्रवेश गर्न अन्तिम तयारीमा

वामपन्थी नेता वामदेव समाजवादी प्रवेश गर्न अन्तिम तयारीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १० गते बुधबार ०८:११

गौतमले अभियानका महासचिव डिबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन भएको छ ।

माधवकुमार नेपाल र झलनाथ खनालपछिको तेस्रो मर्यादाक्रममा रहनेगरी गौतम पार्टी प्रवेश गर्ने हुनु भएको हो ।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने निश्चित भएको छ । वामदेव गौतम एकीकृत समाजवादी)मा प्रवेश गर्न आन्तरिक छलफल जारीसँगै अन्तिम तयारी चलिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी(एमाले) का पूर्वउपाध्यक्षसमेत रहनु भएका वामपन्थी नेता गौतम सुरुमा एमालेमा फर्किन चाहनु भएको थियो । तर, एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई भित्र्याउन चासो देखाएनन् । पछिल्लो पटक भने गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने हुनु भएको हो ।
माधव नेपालसँगको छलफल सकारात्मक भएपछि गौतमले औपचारिक रूपमा अभियानका तर्फबाट वार्ता समिति गठन गर्नु भएको छ । अभियान र एकीकृत समाजवादका बीचमा एकीकरणका लागि थप छलफल गर्ने उद्देश्यले वार्ता समिति गठन गरिएको हो । अभियानका महासचिव डिबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन भएको छ ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, बलराम बाँस्कोटासहितका नेताहरूले गौतमको भैंसेपाटी स्थित निवासमै पुगेर यसबारेमा पुस ४ गते छलफल गर्नु भएको थियो । सो वार्ताबाट सो कार्यले ठोस आकार लिने भएको हो । गौतम एकीकृत समाजवादीमा माधवकुमार नेपाल र झलनाथ खनालपछिको तेस्रो मर्यादाक्रममा रहनेगरी पार्टी प्रवेश गर्ने हुनु भएको हो ।
छलफल सकारात्मक नै देखिएको छ, उहाँ छिट्टै नै पार्टी प्रवेश गर्नहुन्छ, एकीकृत समाजवादका एक पदाधिकारीले भने ।
एकीकृत समाजवादीले यसअघि नै अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको बार्ता समिति बनाइसकेको छ । दुवै वार्ता समितिका बीचमा छलफल गर्दै एकताका बारेमा टुंगो लगाउनेबारे अन्तिम गृहकार्य चलिरहेको स्रोतको भनाइ छ ।
भैसेपार्ट स्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसे उहाँको प्रयास सार्थक हुने नदेखिएपछि गौतम एमाले र एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने आन्तरिक तयारी गर्नु भएको थियो । गौतम २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा नेकपाको सचिवालय सदस्य हुनुहुन्थ्यो । नेकपाको आन्तरिक विवाद एवं घरझगडामा गौतम कहिले ओली त कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा देखिनु भएको थियो । सायद त्यसैले पनि ओलीले गौतमलाई भित्र्याउन नचाहेको हुन सक्ने आंकलन छ । नेकपाको विघटनसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम कुनै दलमा लाग्नु भएन । स्वतन्त्र रहनु भयो । राष्ट्रिय एकता अभियान संगठन निर्माण गरी गौतम आफै त्यसको संयोजक हुनु भयो । एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीसहितका कम्युनिस्ट पार्टीलाई पुनः एकीकृत गर्ने गौतमको प्रयास सफल भएन । त्यसपछि उहाँ पुरानामध्येकै एक पार्टीमा जाने सोच बनाउनु भयो । त्यसै अनुसार उहाँ समाजवादीमा जाने हुनुभएको गोतम निकट स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०८१ पुष १०, बुधबार ०८:११ गते
हजुरको प्रतिक्रिया