हाप्किडो प्रतियोगिताका लागि १२ खेलाडी नेपालगञ्ज प्रस्थान

हाप्किडो प्रतियोगिताका लागि १२ खेलाडी नेपालगञ्ज प्रस्थान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १० गते बुधबार ०१:०५

नेपाल हाप्किडो संघका जिल्ला अध्यक्ष अमरकाजी अधिकारीले उच्च मनोबलका साथ प्रतिस्पर्धामा भाग लिएर जिल्लाको मान, इज्जत बढाउन आग्रह गर्दै यदि कुनै खेलाडीले मेडल प्राप्त गर्न सकेमा उनीहरूलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले आफूले व्यक्तिगत रुपमा पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

हाल जिल्लामा बेसीशहरका दुईवटा जनविकास माविमा मात्र दैनिक दुई घण्टा सो खेल सिकाइन्छ । जसमा हाल दुवै विद्यालयका ७० जना छात्रछात्रा सहभागी छन् ।

बेसीशहर– हाप्किडो खेलको दोस्रो राष्ट्रिय प्रतियोगितामा भाग लिन जिल्लाका १२ जना खेलाडी नेपालगञ्ज प्रस्थान गरेका छन् । ती खेलाडीहरूलाई नेपाल हाप्किडो संघ जिल्ला समिति लमजुङका अध्यक्ष अमरकाजी अधिकारीसहितका पदाधिकारीहरूले एक कार्यक्रमका बीच पुस १० गते विदाई गर्नु भएको हो । सो प्रतियोगिता नेपालगञ्जमा पुस १२ र १३ गते सञ्चालन हुँदैछ ।
मार्सल आर्टको उक्त हाप्किडो खेल आत्मरक्षाका लागि अति आवश्यक हुने सो खेलका प्रशिक्षक समिर गुरुङले बताउनु भयो । उहाँका अनुसार यो खेल नेपालमा २०७३ सालमा भित्रिएको कोरियन खेल हो । उहाँले भन्नुभयो, ‘यो छोटो समयमा बढी लोकप्रियता हासिल गर्न सफल भएको खेल हो ।’ यो खेलका लागि उमेरको हद छैन त्यसैले पनि यो बढी लोकप्रिय भएको हो भने आत्मरक्षाका लागि पनि उत्तिकै महत्वपूर्ण छ प्रशिक्षक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा बेसीशहरमा रहेको दुईवटा जनविकास माविमा मात्र दैनिक दुई घण्टा सिकाइन्छ । यो खेलको प्रतिक्षणमा हाल दुवै विद्यालयका ७० जना छात्रछात्रा सहभागी छन् । तीमध्ये दुवै विद्यालयका ६/६ जना छनौट भई नेपालगञ्ज जाने भएका हुन् । तीमध्ये तीनजना छात्रा रहेको प्रशिक्षक गुरुङले जनाकारी दिनुभयो । उहाँका अनुसार यो खेलमा सीपसँगै अनुशासनको उत्तिकै महत्व हुन्छ त्यसैले यो खेलले खेलाडीको जीवन पद्दतिनै बदलेर जिम्मेवार नागरिक बनाउने मद्दत गर्ने विश्वास गरिन्छ ।
उहाँले यसअघि छोटो अवधिमै सुर्खेतमा भएको पहिलो राष्ट्रिय प्रतियोगितामा मिनवहादुर गुरुङले कास्यपदक प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार त्यसैले पनि हामी बढी उत्साहित छौं । यो पटक पनि अवश्यक मेडल आउनेछ । प्रशिक्षक गुरुङले भन्नुभयो, ‘यो प्रतियोगितामा करिब ६० जिल्लाका छ सयभन्दा बढी खेलाडीले भाग लिने अनुमान गरिएको छ ।’ नेपाल हाप्किडो संघको ६३ जिल्लामा शाखा समिति गठन भइसकेको उहाँको भनाइ छ । सो खेलमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहकाले भाग लिएका छन् । उनीहरूलाई तौल अनुसारको खेलमा सहभागी गराइन्छ । त्यो हामीले भनेर हुँदैन, प्रतियोगिता स्थलमा पुगेपछि त्यहाँका प्रशिक्षक(रेफ्री)हरूले तौल लिएर समूह छुट्याउने काम गर्नु हुनेछ ।
विदाई समारोहमा प्रतियोगितामा जानका लागि तयार भएका खेलाडीहरूको विदाई मन्तव्य व्यक्त गर्दै नेपाल हाप्किडो संघका जिल्ला अध्यक्ष अमरकाजी अधिकारीले उच्च मनोबलका साथ प्रतिस्पर्धामा भाग लिएर जिल्लाको मान, इज्जत बढाएर आउन निर्देशन दिनु भयो । उहाँले यदि कुनै खेलाडीले मेडल प्राप्त गर्न सकेमा उसलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले आफूले व्यक्तिगत रुपमा पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यस्ता कार्यक्रममा स्थानीय सरकारले सहयोग नगरेको हुँदा दुःख समेत व्यक्त गर्नु भएको थियो । उहाँले बाटो खर्चको अभाव रहेका खेलाडी मीनबहादुर गुरुङलाई बाटो खर्च समेत प्रदान गर्नु भएको थियो ।
उक्त विदाई कार्यक्रमको सञ्चालन गर्दै नेपाल हाप्किडो संघका जिल्ला सचिव नारायण कुसुमले प्रतियोगितामा छनोट भएका खेलाडीहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले पास हुन सबै सक्छन् तर डिस्ट्रिक्सन ल्याउने भन्ने कुरा भने सबैले सक्दैनन् त्यसैले आफूलाई डिष्टिङसन ल्याउने हैसियतमा प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो ।
सो विदाई कार्यक्रममा नेपाल हाप्किडो संघका जिल्ला समितिका पदाधिकारीहरू तथा खेलाडीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८१ पुष १०, बुधबार १३:०५ गते
हजुरको प्रतिक्रिया