सल्लाहकार अधिकारीले ठाडोभाका प्रतिष्ठानमा थप्नु भयो पुरस्कार

सल्लाहकार अधिकारीले ठाडोभाका प्रतिष्ठानमा थप्नु भयो पुरस्कार

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ११ गते बिहिबार ०७:३२

विशेषतः समन्वयकारी भूमिकामा दखल राख्नु हुने सल्लाहकार अधिकारी निवृत्त हुनुभएपछि पश्चिमाञ्चलमा सांस्कृति उत्थानका लागि सामाजिक क्षेत्रबाट संस्थागत प्रयास गर्नु पर्छ भन्दै पहिलो संस्था खोल्ने व्यक्तित्व हुनुहुन्छ ।

हालसम्म प्रतिष्ठानमा अक्षयकोष सहितका तीन पुरस्कार स्थापना भइसकेका छन् । यो वर्ष दुई पुरस्कार थप हुने भएको हो ।

बेसीशहर– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले वितरण गर्ने अर्को एक पुरस्कार यो वर्षदेखि थपिएको छ  । प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले यो वर्षदेखि वितरण गर्ने गरी स्व. जगतमाया अधिकारी स्मृति राष्ट्रिय पुरस्कार थप गर्नु भएको हो ।
प्रतिष्ठानका सल्लाहकार रहनु भएका पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले आफ्नी स्वर्गीय आमा जगतमाया अधिकारीको स्मृतिमा सो पुरस्कार स्थापना गर्नु भएको हो । तत्कालनका लागि सो पुरस्कारको राशि पाँच हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहने प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार उक्त पुरस्कार ठाडोभाका लोककला प्रतिष्ठानमा आवद्ध हुनु भएका जेष्ठ गायकहरूलाई प्रदान गर्ने निर्णय भएको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानमा आवद्ध भई ठाडोभाका गायन क्षमता भएका वरिष्ठ आजीवन सदस्य तथा आजीवन सदस्यमध्ये जेष्ठ सदस्यहरूलाई क्रमशः प्रदान गरिने छ । सो पुरस्कार रहेक वर्ष प्रतिष्ठानको स्थापना दिवसको उदघाटन कार्यक्रम (माघ)मा प्रदान गरिने छ ।’
सल्लाहकार अधिकारीले उक्त पुरस्कारको स्थायित्वका लागि अक्षयकोषको समेत प्रवन्ध गर्ने हुनुभएको छ । विशेषतः समन्वयकारी भूमिकामा दखल राख्नु हुने सल्लाहकार अधिकारी निवृत्त हुनुभएपछि पश्चिमाञ्चलमा सांस्कृति उत्थानका लागि सामाजिक क्षेत्रबाट संस्थागत प्रयास गर्नु पर्छ भन्दै पहिलो संस्था खोल्ने व्यक्तित्व हुनुहुन्छ ।
हालसम्म ठाडोभाका लोककला प्रतिष्ठान नेपालले स्व. टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार, ठाडोभाका गायक स्व. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार, असल आमाबाबु सम्मान, सिर्जना विरही थापा प्रतीभा पुरस्कार वितरण गर्दै आएको छ । ती पुरस्कारको राशि क्रमशः एक हजार, २२ हजार २२२ रुपैया र एक हजार तथा सबैलाई सम्मानपत्र र दोसल्ला रहेको छ । सिर्जना विरही थापा प्रतीभा पुरस्कारको राशि ५÷५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । यो वर्षदेखि प्रतिष्ठानले सञ्चालन गर्ने प्रशिक्षणमा सबैभन्दा राम्रो गर्ने दुई जना प्रतिभालाई पाँच पाँच हजार रुपैयाँका दरले यो वर्षदेखि प्रदान गरिने भएको अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ ।
यसैगरी, अर्को असल आमाबाबु सम्मान पुरस्कार लमजुङको पालिकास्तरमा घुम्ति रुपमा गत वर्षबाट वितरण गर्न थालिएको छ । गत वर्ष मस्र्याङ्दी गाउँपालिकाबाट सुरु भएको सो पुरस्कार यो वर्ष दोर्दी गाउँपालिकामा वितरण गर्ने तयारी भएको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनुभयो । उहाँका अनुसार सो पुरस्कार यही पुस २६ गतेका दिन सम्बन्धित विद्यालयमा गएर एक कार्यक्रमका बीच वितरण गरिनेछ ।
त्यस्तै, प्रतिष्ठानले अन्य चार जना छात्रछात्रालाई प्लस टुसम्म छात्रवृत्ती प्रदान गरेको छ । तीमध्ये दुई जनालाई प्रतिष्ठान आफैले र दुई जनालाई प्रतिष्ठानको सिफरिसमा छात्रवृत्ती प्रदान गरिएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसी (खत्रीठाँटी) ले पनि आमाको नाउँमा स्थापना गर्नु भएको छ र सो पुरस्कार पनि यसै वर्षदेखि वितरण गर्ने तयारी भएको छ ।

प्रकाशित मिति २०८१ पुष ११, बिहीबार ०७:३२ गते
हजुरको प्रतिक्रिया