बेसीशहर(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो नवौं स्थापना दिवस यो वर्षदेखि तीन दिने ठाडोभाका मेलाका साथमा मनाउने तयारी गरेको छ । यो वर्ष दिवसको कार्यक्रम दोर्दी गाउँपालिका– ८ को हिलेबेसीमा आउँदो माघ १७, १८ र १९ गते सञ्चालन गरिने तय भएको हो ।
सो अवसरमा यो वर्षदेखि थप पात बजाउने प्रतियोगिता समेत थप गरिएको प्रतिष्ठानले जनाएको छ । यसअघि स्थापना दिवसमा ठाडोभाकाको खुला प्रतियोगिता र बाघचालको प्रतियोगिता हुँदै आएको थियो । त्यसमा यो वर्षदेखि पात बजाउने प्रतियोगिता थप गरिएको अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार केही दशक अघिसम्म पहाडका वनपाखामा घन्किने पातको सशेली हिजोआज सुन्न छाडिएको छ । उहाँले भन्नुभयो, ‘लोपोन्मुख पात बजाउने कलाको संरक्षण र प्रवद्र्धनका लागि यो वर्षदेखि सो प्रतियोगिता गरिने भएको हो ।’
जुन समयमा मादलको समेत पर्याप्तता थिएन– त्यो समयमा पात बजाउने, त्यसैमार्फत वारीपारीका साथी संगीलाई बोलाउने, मनका विरह बेथा वा खुशी पातको धुनमार्फत पस्कने काम गर्ने गरिन्थ्यो अध्यक्ष पहाडीको भनाइ छ । उहाँका अनुसार पछिल्लो पुस्ताले यसको नामसम्म नसुनेको स्थिति छ भने पात बजाउन जान्ने त धेरै परको भयो । अध्यक्ष पहाडीले भन्नुभयो, ‘पात बजाउनु पनि एक कला र संस्कृति थियो– लोप हुने स्थितिमा पुगेको हुँदा त्यसको जगेर्नाका लागि यसको समेत यो प्रतियोगिताको आयोजना गर्ने सोच र योजना अनुसार यो वर्षबाट सो प्रतियोगिता गरिने भएको हो ।’
यो पहिलो वर्ष परीक्षण वर्ष पनि भएको हुँदा सहभागी संख्याका आधारमा अर्को वर्षबाट पुरस्कार थप गर्न सकिने अध्यक्ष पहाडीको भनाइ छ । उहाँका अनुसार यो वर्ष पात बजाउने प्रतियोगितामा पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रो हुनेलाई पाँच हजार रुपैयाँ तेस्रो हुनेलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुईजनालाई जनही २÷२ हजार रुपैयाँ प्रदान गर्ने तयारी छ ।
यसैगरी बाघचालको पहिलो पुरस्कार १० हजार, दोस्रो सात हजार, तेस्रो पुरस्कार पाँच हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई २५ सयका दरले पुरस्कार प्रदान गरिने पहाडी बताउनु हुन्छ ।
त्यस्तै, ठाडोभाका प्रतियोगिताको पुरस्कार विगत वर्षजस्तै पहिलो हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले जनाकारी दिनु भएको छ । उहाँका अनुसार ठाडोभाका प्रतियोगितामा सहभागी हुने टिमलाई विगतका वर्षझैं गीत गाएपछि तीन हजार रुपैयाँ बाटोखर्च प्रदान गर्ने नीति कायमै छ ।
स्थापना दिवसको कार्यक्रम माघको १७, १८ र १९ गते दोर्दी गाउँपालिका– ८ को हिलेबेसीमा :
स्थापना दिवसको कार्यक्रम यो वर्ष दोर्दी गाउँपालिका– ८ को हिलेबेसीमा आउँदो माघको १७, १८ र १९ गते सञ्चालन गर्ने निर्णय प्रतिष्ठानको कार्य समितिले गरेको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार यो वर्षको प्रतियोगिताका लागि सामाजिक विकास कार्यालय लमजुङ र दोर्दी गाउँपालिकाले प्रायोजन गर्ने भएको आयोजकको भनाइ छ । प्रतिष्ठानले स्थापना दिवस स्थानीय तहमा घुम्ति रुपमा सञ्चालन गर्दै आएको छ । स्थापना दिवसमा यो वर्षदेखि चार पुरस्कार वितरण गर्ने तयारी छ ।
स्व. दुर्गा स्मृति लोकसंस्कृति खोज राष्ट्रिय पुरस्कार स्थापना :
प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसीले स्व. दुर्गा स्मृति लोकसंस्कृति खोज राष्ट्रिय पुरस्कारको स्थापना गर्नु भएको छ । तत्कालका लागि सो पुरस्कारको राशि पाँच हजार ५१ रुपैयाँ नगद, सम्मानपत्र र दासल्ला रहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार सो पुरस्कार नेपालको मौलिक लोकसंस्कृतिको अन्वेषणकर्तालाई प्रतिष्ठानको नवौ स्थापना दिवसको उदघाटन सत्रको कार्यक्रममा प्रदान गरिने सहमति भएको छ ।
स्व. दुर्गा स्मृति लोकसंस्कृति खोज राष्ट्रिय पुरस्कार का संस्थापक : केसी
चारवटा पुरस्कार वितरण गर्ने तयारी :
प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसीले स्व. दुर्गा स्मृति लोकसंस्कृति खोज राष्ट्रिय पुरस्कारसमेत यो वर्षदेखि ठाडोभाका लोककला प्रतिष्ठान नेपालले यो वर्षदेखि चारवटा पुरस्कार वितरण गर्ने भएको छ । यसअघि प्रतिष्ठानले विगतका पाँच वर्षदेखि स्व. टिकाकुमारी ढुंगाना स्मृति पुरस्कार वितरण गर्दै आएको छ । सो पुरस्कार प्रतिष्ठानका सल्लाहकार स्वर्गीय नरेन्द्रराज ढुंगानाले आफ्नी स्वर्गीय आमाका नाउँमा स्थापना गरी दिनु भएको हो । सो पुरस्कार लोकसाहित्यका योगदान गर्ने स्रष्टाका लागि वितरण गर्ने गरिन्छ ।
प्रतिष्ठानले गत वर्षबाट स्व. ह.ने. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार प्रदान गर्न थालेको छ । सो पुरस्कारराशि २२ हजार २२२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । सो पुरस्कार प्रतिष्ठानको गतिविधिमा कम्तिमा पाँच वर्ष आवद्ध भएका युवा गायक गायिका तथा लोकसंस्कृतिका अभियानकर्तालाई वितरण गर्ने गरिन्छ । यो पुरस्कारबाट गत वर्ष रोधिं टेलिभिजनकी सञ्चालिका बालकाशी गुरुङ सम्मानित हुनुभएको छ ।
यो वर्षबाट ती दुबै पुरस्कारले निरन्तरता पाउने छन् भने यो वर्षबाट थप दुई पुरस्कार स्व. जगतमाया स्मृति पुरस्कार र स्व. दुर्गा स्मृति लोकसंस्कृति खोज राष्ट्रिय पुरस्कार वितरण गर्ने तयारी छ ।
स्व. जगतमाया स्मृति पुरस्कार प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले स्थापना गर्नु भएको हो भने स्व. दुर्गा स्मृति लोकसंस्कृति खोज राष्ट्रिय पुरस्कार प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसी(खत्रीठाँटी)ले स्थापना गर्नु भएको हो । ती पुरस्कार उहाँहरूले क्रमशः आफ्ना आमा र बाबाको स्मृतिमा स्थापना गर्नु भएको हो ।
स्व. जगतमाया स्मृति पुरस्कार ठाडोभाका लोककला प्रतिष्ठानसँग आवद्ध हुनुभएका वरिष्ठ आजीवन सदस्य तथा आजीवन सदस्यहरूलाई जेष्ठताका आधारमा एक वर्ष महिला र अर्को वर्ष पुरुष गायकलाई प्रदान गयरने भएको छ । सो पुरस्कारको राशि पाँच हजार नगद, सम्मानपत्र र दासल्ला रहेको छ ।
अन्य दुई पुरस्कार समेत सञ्चालनमा :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले अन्य दुई पुरस्कार पनि वितरण गर्ने भएको छ । ती असल आमा– बाबा सम्मान पुरस्कार र लोकगायिका सिर्जना विरही थापा प्रतीभा पुरस्कार हुन् । असल आमा– बाबा सम्मान पुरस्कार प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले स्थापना गर्नु भएको हो । त्यसका लागि उहाँले उक्त पुरस्कारको स्थायित्वका लागि एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनु भएको छ । १० हजार नगद, सम्मान पत्र र दोसल्ला पुरस्कार राशि रहेको असल आमा– बाबु सम्मान पालिकास्तरमा लमजुङका पालिकाहरूमा घुम्ति रुपमा सामुदायिक विद्यालयका अभिभावकलाई प्रदान गर्ने गरिन्छ । यो पुरस्कार गत वर्षदेखि प्रदान गर्न थालिएको हो ।
यसैगरी, लोकगायिका सिर्जना विरही थापा प्रतीभा पुरस्कार लोकगायिका सिर्जना विरही थापाले नै स्थापना गर्नु भएको हो । हाल अमेरिकामा रहनु भएकी लोकगायिका स्याङ्जाकी हुनुहुन्छ । उहाँले उक्त पुरस्कारको स्थायित्वका लागि एक लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । सो रकमको व्याजबाट हरेक वर्ष प्रतिष्ठानले सञ्चालन गर्ने ठाडोभाका प्रशिक्षणमा उत्कृष्ठ स्थान हासिल गर्ने दुई नवप्रतीभालाई पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ । सो पुरस्कार यो वर्षदेखि वितरण गरिने भएको प्रतिष्ठानका अध्यक्ष नवरज पहाडीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८१ पुष ११, बिहीबार १८:३५ गते