आमा ! ! !

आमा  ! ! !

रचयिता : रमेशचन्द्र अधिकारी

@antaranganews

२०८१ पुस १२ गते शुक्रबार ०८:२८

बाँकी जीवन आमा सम्झी धरती मातालाई
दिनरात सेवा गर्ने शक्ति मिलोस मलाई !
आमा ............ आमा ............ !

शब्द संयोजन : देशबन्धु अधिकारी

आमा तिम्रो दूधको भारा,
यो जुनीमा सक्दिन तिरेर !
आमा …………

तिम्रो कोखमा बास पाएँ, धर्ती टेक्न पाएँ,
आमा तिम्रो प्रतापले संसार देख्न पाएँ
रगतको डल्लो थिएँ, सम्हालेर छोप्यौ
कति दुःख, कति पीर, कति ताप खप्यौ ।
आमा …………

तिमीसँगै तोते बोली सिकेँ रमाइ रमाइ
ताते ताते गर्न सिकेँ तिम्रै हात समाइ
क क न न सिकाउने तिमी सरस्वती !
तिमी नै हौ जगत्माता तिमी भगवती ।
आमा …………

धेरै बेर सुते पनि नसुते नि पीर
धेरै हाँसे उस्तै पीर, रोए पनि पीर
मैले हाँस्दा तिमी अझ कति मीठो हाँस्थ्यौ
मेरो बाबा साने ! भन्दै छातिभरी टाँस्थ्यौ ।
आमा …………

को खाई ! को खाई ! गर्दै ख्वाउँथ्यौ, कति मीठो हुन्थ्यो
फेराई दिने टोपी, नाना कति राम्रो लाग्थ्यो
आफू भोको बस्यौ होला, लाइनौ राम्रो टालो
कुरी बस्यौ होला आमा, सुख पाउने पालो
आमा …………

दुःख, सुख पर्दा रुने, हाँस्ने काख थियो
त्यही काख मेरो भाग्य, लाख लाख थियो
सबैथोक छ आज आमा, तिमी छैनौ तर
यो मनले खोजिरहन्छ सधैं वरपर ।
आमा …………

कति प्यारो थियो आमा, तिम्रो न्यानो काख
बिन्ति त्यही काख पाउँ, जुनी लाख लाख
सानो छँदा हुर्काएको पछ्यौरीले बेरी
संझी संझी रुन्छु आमा, तिम्रै तस्वीर हेरी !
आमा …………

पुनर्जन्म हुन्छ भने, तिम्रै काख पाउँ
त्यस जुनीमा तिम्रो सबै भारा तिर्न सकूँ
बाँकी जीवन आमा सम्झी धरती मातालाई
दिनरात सेवा गर्ने शक्ति मिलोस मलाई !
आमा ………… आमा ………… !

दुराडाँडा लमजुङ, हाल : काठमाडौं ।

प्रकाशित मिति २०८१ पुष १२, शुक्रबार २०:२८ गते
हजुरको प्रतिक्रिया