राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभागमा धर्म केसीसहित तीनजना चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभागमा धर्म केसीसहित तीनजना चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १३ गते शनिवार ०७:२९

बैठकले आउँदो बैशाख अन्तिम साता राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

६० जिल्लामा भेलाबाट अधिवेशनका लागि तदर्थ समिति बनेको हो ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संगठन विभागमा लमजुङका नेता धर्म केसी चयन हुनु भएको छ । उहाँ यसअघि लमजुङको जिल्ला संयोजक हुनुहुन्थ्यो । उहाँ २०७९ सालको निर्वाचनमा लमजुङबाट उम्मेदवार समेत हुनुुहन्थ्यो । उहाँलाई पार्टीले सो जिम्मेवारी पुस १२ गते दिएको हो ।
रास्वपाको सचिवालय बैठकले केन्द्रीय विभागको सदस्यमा नेता केसीलाई मनोनयन गरेको हो । सो विभागमा गोपाल घिमिरे रुपन्देही र डा. विमल तिवारी सिराहालाई मनोनित गरिएको प्रवक्ता मनिष झाले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार अनुशासन आयोगमा पनि दुई जना सदस्य थप हुनुभएको छ । उहाँहरू कमलप्रसाद पोखरेल नवलपरासी र हरिश्चन्द्र भट्टराई ताप्लेजुङ हुनुहुन्छ । उहाँहरू दुवै अधिवक्ता हुनुहुन्छ ।
यसैबीच, पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले समसामयिक राजनीति, केन्द्रीय विभागमा सदस्यहरू मनोनयन, केन्द्रीय समिति बैठक तयारीलगायतका विषयमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार महामन्त्री कविन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको जानकारी बैठकमा गराउनु भएको थियो ।
बैठकले आउँदो बैशाख अन्तिम साता राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
जिल्ला भेलाका लागि १२ जिल्लामा भेलाका मिति तय गरिएको पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताउनु भयो । उहाँका अनुसार हिमाली जिल्ला मध्ये ५ स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा मात्र हुनेछ । उहाँले भन्नुभयो, ‘करिब चार सय वडामा भेला सकिएको छ ।’ अहिले बनेको अधिवेशनका लागि तदर्थ समिति हो । भेला सकिएका ठाउँको नयाँ नेतृत्वमा धेरै पुरानै अनुहार आएको बरालले जानकारी दिनु भयो ।
पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिशोधपूर्ण पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ । सभापति हिरासतमा हुँदा डेढ महिना कार्यतालिकामा असर पुगेको बरालको भनाइ छ ।

प्रकाशित मिति २०८१ पुष १३, शनिबार ०७:२९ गते
हजुरको प्रतिक्रिया