काठमाडौं– भारतका प्रधानमन्त्री रहेका डा. मनमोहन सिंह सिद्धहस्त अर्थविद् समेत हुन् । उनको पुस ११ गते राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको अन्तिम संस्कार पुस १३ गते हुने कार्यक्रम रहेको छ । राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा सो राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको हो । लामो समयदेखि बिरामी उनलाई साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनी घरमै बेहोस भएका थिए । सो पश्चात् राति ८ः०६ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) लगिएको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।
उनको अन्त्येष्टिका दिन आज विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ । केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।
प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।
कांग्रेसका वरिष्ठ नेता समेत रहेका मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए ।
सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका थिए । एक साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा ठूलो उपलब्धि हासिले गरे । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए ।
भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए । त्यसै समयमा भारतीय अर्थतन्त्रलाई उनले नै उदारीकरणको बाटोमा लगेका हुन् । भारतले अहिले गरेको आर्थिक प्रगतिको श्रेय मनमोहन सिंहको त्यही आर्थिक सुधार कार्यक्रमलाई दिने गरिन्छ । उनले आर्थिक सुधार कार्यक्रम लागू गरेर भारतलाई तत्कालीन आर्थिक संकटबाट बाहिर ल्याएका थिए ।
भारतीय सञ्चारमाध्यम ‘आजतक’का अनुसार सरकारमा सिंहको प्रवेश सन् १९७१ मा वाणिज्य मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा भएको थियो । सन् १९७२ मा उनी अर्थ मन्त्रालयको मुख्य आर्थिक सल्लाहकार नियुक्त भए ।
त्यसपछि उनले अर्थ मन्त्रालयका सचिव, योजना आयोगका उपाध्यक्ष, भारतीय रिजर्भ बैंकका गभर्नर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्षका रूपमा काम गरेका थिए ।
राजीव गान्धीको समयमा त उनी योजना आयोगको उपाध्यक्ष नै बनाइएका थिए । राजीव गान्धीकै समयमा उनले उदारवादी अर्थतन्त्रउन्मुख उद्योग नीति ल्याउने जस्ता कामको सुरुवात गरेका थिए । कार्यकारी तहमा निर्णायक भूमिकाको पहिलो पाइलाका रूपमा उनी छोटो समयका प्रधानमन्त्री चन्द्रशेखरद्वारा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रूपमा नियुक्त भएका थिए । यो आफैंमा अचम्मको विषय थियो । कट्टर समाजवादी विचारक चन्द्रशेखरले उदारवादी अर्थतन्त्रका हिमायती मनमोहन सिंहलाई सल्लाहकार बनाएका थिए । चन्द्रशेखरले प्रधानमन्त्री पद सम्हाल्दा भारतको कुल विदेशी मुद्रा सञ्चय जम्मा ६ अर्ब डलरको थियो । यो भनेको दुई साताको आयात धान्नसम्म पुग्ने थियो । भारतले विदेशबाट लिएको सावाँ त छोडौं आंशिक ब्याज तिर्नसमेत नसक्ने अवस्था थियो ।
आर्थिक हिसाबले भारत राष्ट्र टाट पल्टेको घोषणा गर्नुपर्ने अवस्थामा पुगेको थियो । त्यसलाई जीवनदायिनीको काम गर्ने नेता हुन् मनमोहन सिंह ।
उनी सन् १९९१ मा पहिलोपल्ट राज्यसभा सदस्य बनेका थिए भने सन् १९९८ देखि २००४ सम्म भारतीय जनता पार्टी सत्तामा हुँदा उनी राज्यसभाका विपक्ष नेता थिए । उनले सन् १९९९ मा दिल्लीबाट लोकसभा चुनाव लडेका थिए । तर चुनाव जित्न सकेनन् ।
उनी सन् २००४ को आमनिर्वाचनपछि भारतको प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यसपछि २००९ मा उनी दोस्रोपटक प्रधानमन्त्री बने र २०१४ सम्म पदमा रहेका थिए ।
डा. मनमोहन सिंहलाई व्यंग्यात्मक तवर भन्ने गरिन्थ्यो– काकताली प्रधानमन्त्री (एक्सिडेन्टल प्राइममिनिस्टर) ! यो नामबाट चलचित्रसमेत बनेको छ । प्रधानमन्त्री बन्दा पनि अनायासै बनेका थिए । त्यसैकारण उनले एकपटक भनेका थिए– ‘मलाई एक्सिडेन्टल प्राइममिनिस्टर भन्छन्, वास्तवमा म एक्सिडेन्टल फाइनान्स मिनिस्टर पनि हुँ ।’
सिंहलाई सन् १९८७ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो ।
उनको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । साथै, १२ गतेका सबै कार्यक्रम रद्द गरिएको थियो । डा. मनमोहन सिंहको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिने तयारी छ ।
सिंहको निधनप्रति दुःख व्यक्त गर्दै राहुलले लेखेका छन्, ‘मैले मेरो मार्गदर्शक र गुरु गुमाएको छु ।’
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन् ।
एआईआईएमएसको बाहिर सुरक्षा कडा पारिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा तथा प्रधानमन्त्री नरेन्द्र मोदी एआईआईएमएस पुगेका थिए । सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । मोदीले भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको लेखेका छन् । साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंह वित्तमन्त्रीसहित भारतका विभिन्न पदमा बसेर आर्थिक नीतिमा बलियो छाप छोडेको बताएका छन् । भारतको प्रधानमन्त्रीको रूपमा सिंहले भारतीय जनताको जीवन सुधारमा व्यापक प्रयास गरेको भन्दै मोदीले पूर्व प्रधानमन्त्री सिंहलाई स्मरण गरेका छन् ।
प्रकाशित मिति २०८१ पुष १३, शनिबार ०९:२६ गते