राष्ट्रिय स्वतन्त्र पार्टीको टोल भेला : २२ जनाद्वारा सदस्यता ग्रहण

राष्ट्रिय स्वतन्त्र पार्टीको टोल भेला : २२ जनाद्वारा सदस्यता ग्रहण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १३ गते शनिवार ०६:०५

केही वक्ताहरूले रास्वपाले पनि काँग्रेस– एमालेले जस्तो बदमासी गरेमा नछाडिने भन्दै खबरदारी समेत गर्नु भएको थियो ।

सो भेलाले पुस भित्रै वडाअधिवेशन गर्ने निर्णय गरेको छ ।

गैह्री(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोल भेलामा २२ जनाले सदस्यता ग्रहण गरेका छन् । बेसीशहर नगरपालिका– २ को गैह्री गाउँमा गरिएको सो भेलामा रास्वपाको सदस्यताका लागि २२ जनाले सदस्यता फर्म पुस १३ गते भरेका हुन् ।
सोही वडाका सामाजिक कार्यकर्ता हरि धितालको अगुवाईमा भएको भेलामा रास्वपाका जिल्ला अध्यक्ष अशोक सापकोटा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, सोही दलका जिल्ला उपाध्यक्ष प्रकाश थापा, जिल्ला सदस्य होमबहादुर राउत, सो दलको बेसीशहर नगरका सभापति कृष्ण राउत सोही दलको सो वडाका अध्यक्ष आनन्द अधिकारी लगायतको उपस्थिति थियो । भेलामा जेष्ठ नागरिक ८४ वर्षीय खिमबहादुर पराजुलीको समेत सहभागिता थियो । उहाँले आजीवन काँग्रेस रहेको तर पछिल्ला महिनामा आएर त्यसका नेताहरूको व्यवहार चित्त नबुझेर त्यो पार्टी त्याग गरेर स्वतन्त्र पार्टीमा लाग्ने निधो गरेको बताउनु भयो ।
सो भेलाले पुस महिनाभित्रै वडाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रका नेताको समय मिलाएर वडा अधिवेशनको दिन तोक्ने सहमति भएको बेसीशहर नगरका सभापति कृष्ण राउतले जानकारी दिनु भएको छ ।
भेलामा जिल्ला अध्यक्ष अशोक सापकोटाले निःस्वार्थ सेवाका लागि लाग्ने हो, आजको जमानामा कसैले पनि कसैलाई बाधेर राख्न नसक्ने बताउनु भयो । यस्तो जागरण अभियान गाउँगाउँसम्म पुग्न जरुरी छ र आफूहरू यस्ता सम्भाव्य सबै ठाउँमा पुग्ने छौं भन्नुभयो । उहाँले गाउँ पुग्न र अभियानलाई निरन्तरता दिनका लागि पनि संगठनको आवश्यकता अनुभव गरी त्यसमा आफूहरू जुटेको जानकारी दिनुभयो ।
त्यस्तै, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले पार्टी सभापति जस्तै आफूले पनि पत्रकारितामार्फत सेवाको काम गरिरहेको तर आफ्ना जवानीका दिन काँग्रेसका लागि खर्चेको भए पनि काँग्रेसको व्यवहार ठीक नलागेपछि स्वतन्त्र पत्रकारिता गरिरहेकोमा पछिल्ला दिनमा ठूला भनिने पार्टीहरूको ज्यादति बढी भएको ठहर गरेर रास्वपामा लाग्ने निधो गरेको बाँँकी दिन यही पार्टीमा बिताउने बताउनु भयो । उहाँले आफूहरूले सकेसम्म गुनासो रहित ढंगले पार्टीका गतिविधि तथा कामलाई अघि बढाउने उल्लेख गर्नु भयो ।
पार्टीका उपाध्यक्ष एवम् वडानं– ६ का अध्यक्ष प्रकाश थापाले आफूले हिजोका दिनमा एमालेमा काम गरेको भएपनि पछि स्वतन्त्र समूह बनाएर गतिविधि अघि बढाएको स्थितिमा रास्वपा खुलेपछि आफूहरू यो पार्टीमा आएको जानकारी दिनु भयो । उहाँले पार्टी विधान अनुसार पार्टी संगठनको ढाँचा तथा विधिका बारेमा जानकारी दिनुभएको थियो । उहाँले जिल्ला समितिको हालैको बैठकले पहिलो चरणमा जिल्लाका २४ वडाहरूमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिनुहुँदै पहिलो अधिवेशन पुस २० गते वडानं– ६ को अधिवेशन गरिने भएको जानकारी दिनुभयो । यसरी विधान अनुसार वडाधिवेशनका लागि आवश्यक सदस्य संख्या पुगेका वडाहरूमा क्रमशः वडा अधिवेशन गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । पहिलो चरणमा बेसीशहरका आठ वडामा अधिवेशन गर्ने समेत उहाँले जानकारी दिनुभएको थियो ।
सो वडाका सामाजिक अगुवा हरि धितालले आफूलाई ०३६ सालको विद्यार्थीकालमा तत्कालीन शिक्षक लक्ष्मी राई, बालकृष्ण बराललगायतका शिक्षकहरूले कम्युनिष्ट पार्टी भनेको यस्तो हो, यसमा लाग्नु पर्छ भनेर उत्प्रेरित गरेको हुँदा त्यो बेलादेखि कम्युनिष्ट पार्टीमा लाग्दै आएको तर पछिल्ला वर्षमा नेताहरूको व्यवहार हेर्दा यहाँ कम्युनिष्ट कोही छैन भन्ने भान हुन थाल्यो र मेरो मन परिवर्तन भएको हो भन्नुभयो । उहाँले पार्टी सभापतिलाई झुठा मुद्दामा फसाउने तर धनराज, ऋषिकेश, लिलाबल्लभजस्तालाई उन्मुक्ति दिने जस्ता खेलले आफ्नो चित्त नबुझेपछि आफूले रास्वपामा लाग्ने निधो गरेर मैदानमा उत्रिएको उल्लेख गर्नुभयो ।
पार्टी सभापति रवि उपर सरकारले ज्यादति गर्यो :
सो भेलामा बोल्ने अधिकांशले पछिल्ला दिनमा पार्टी सभापति रवि उपर सरकारले गरेको ज्यादतिपूर्ण व्यवहार सहन गर्न नसकी अब मौन बस्न हुन्न भन्ने ठानेर यो पार्टीमा लाग्ने निधो गरेको उल्लेख गर्नु भएको थियो । कुमार पराजुलीले सभापति रविप्रति गरेको अत्याचारले आफूले यो पार्टीमा लाग्ने निधो गरेको बताउनु भयो ।

यसैगरी, सूर्य परालुलीले आफ्नो राजनीतिक जीवनका ४३ वर्षमा चप्पल लगाएर हिड्ने नेता कार चढेर आफूलाई भेट्न आउने भए भने हामीहरूको हालत उही च्यात्तिएको डोको बोक्नेभन्दा माथि उठ्न नसकेपछि यस्ताहरूको पछि लाग्न नहुने रहेछ भन्ने निधो गरी रास्वपामा लाग्ने निधो गरेको बताउनु भयो । उहाँले एक वर्षको अवधिमा रास्वपाका सभापति रविले सम्पत्ती शुद्धिकरण गर्नु पर्ने गरी के चाहिँ भ्रष्टाचार गरेका छन् ? र आज कुकुर र बिराला जस्ता दल एक भएर सत्ता चलाउनु परेको हो ? भन्ने प्रश्न समेत गर्नु भएको थियो ।
सो भेलामा कृषला थापाले गाउँमा जेष्ठ नागरिक बन्नु भएका औषधिसमेत राम्रोसँग खान नसक्ने अवस्थामा बृद्ध बाआमाहरू मात्र रहने स्थितिको अन्त्यका लागि पनि रास्वपाको खाचो छ भन्ने आफूले अनुभूति गरेको बताउनु भयो । सो टोल विकास संस्थाकी अध्यक्ष सीता लोहनीले राजनीतिको अध्ययन गर्दागर्दै बुढ्यौली लागिसक्यो अझै बुझ्न नसकेको जस्तो भयो भन्दै जनताले प्रधानमन्त्री प्रत्यक्ष छान्न पाउने निर्वाचन पद्दति हुन आवश्यक छ भन्नुभयो । पूर्व सैनिक रहनु भएका अर्जुन पराजुलीले जागिर खाँदा राजनीति गर्न पाइन्नथ्यो । निवृत्त भएपछि एमालेलाई सहयोग गरेको तर त्यो व्यर्थ गरिएछ भन्ने पछुतो लागेको बताउनु भयो । उहाँले नयाँ पुस्तालाई राजनीतिका बारेमा जानकार गराउनु पर्ने खाँचो रहेको औंल्याउनु भएको थियो ।
एमालेको नगर सदस्य समेत रहनु भएका बल्लभ धितालले केपि बा आफ्नै हजुरबा जस्तो लाग्थ्यो तर गाउँघरमा पानी बार्न लगाएर आफूहरू भने केन्द्रमा देश लुट्न मिल्दा रहेछन्, यस्तो कसरी सहेर त्यस्तो पार्टीमा बस्न सकिन्छ ? त्यसैले त्यो पद छाडेको हुँ भन्नुभयो ।

कुमार पराजुलीले रविलाई अत्याचार गरेको देख्दा र सुन्दा सहन गर्न नसकेर अब त यही रास्वपा पार्टी ठीक छ भन्ने लागेको बताउनु भयो । यसैगरी, बाबुबाजेको पालादेखि काँग्रेस भएको हुँदा त्यही पार्टीमा बसेको तर वरपरका दाजुभाइ अर्को पार्टीमा लाग्दा खल्लो लाग्ने गरेको थियो तर आज सबै बन्धुबान्धब एक भएर रास्वपामा लागेको देख्न पाउदा परिवार सब एकगढ भएको देख्दा खुशी लागेको बताउनु भयो ।
यसैगरी डम्बर परियारले पनि पानी बाराबारको स्थितिबाट गुज्रिरहेको समाज ऐले स्वतन्त्र पार्टीले गर्दा एक हुन गएकोमा खुशी लागेको छ भन्नुभयो । उहाँले बिना डरत्रास रविको पक्षमा लाग्नु पर्ने आजको आवश्यकता हो भन्नेमा जोड दिनु भएको थियो ।
केही वक्ताहरूले रास्वपाले पनि काँग्रेस– एमालेले जस्तो बदमासी गर्ने गरेमा नछाडिने भन्दै खबरदारी समेत गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष १३, शनिबार १८:०५ गते
हजुरको प्रतिक्रिया