चितवन साहित्य परिषद्बाट समालोचक रमेश प्रभात पुरस्कृत

चितवन साहित्य परिषद्बाट समालोचक रमेश प्रभात पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १६ गते मङ्गलबार ०८:१०

चितवनको रत्ननगर नगरपालिका बकुलहर स्थायी घर भई हाल अमेरिका बस्नु हुने कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गरेकोमा हाल सो अक्षयकोष साँढे दुइ लाख राशि पुगेको छ ।

वि.सं.२०७१ देखि प्रदान गर्न थालिएको यो पुरस्कार कुनै वर्ष एकल स्रष्टा र कुनै वर्ष स्रष्टा द्वयलाई दिइने गरेको छ ।

भरतपुर(चितवन)– समालोचक रमेश प्रभात चितवनमा पुरस्कृत हुनु भएको छ । १४१ औँ लेखनाथ जयन्तीका अवसरमा चितवन साहित्य परिषद(चिसाप)ले एक कार्यक्रमका बीच पुस १५ गते उहाँलाई पुरस्कृत गरेको हो ।
समालोचक प्रभातको समालोचना कृति ‘अलिकति फरक कुरा’लाई ‘चिसाप कृष्ण–कृष्णा साहित्य पुरस्कार २०८०’बाट पुरस्कृत हुनु भएको हो । भरतपुर महानगरपालिका– १५ मङ्गलपुर निवासी साहित्यकार रमेश प्रभातले वि.सं.को ४० को दशकदेखि हाइकू, गजल, मुक्तक, कविता तथा समालोचना विधामा कलम चलाउन थाल्नु भएको हो । उहाँको निरन्तरको साहित्यिक यात्रा एवम् योगदानको कदर गर्दै चिसापका अध्यक्ष केदारनाथ खनालले यो पुरस्कार प्रदान गरिएको बताउनु भयो ।
चिसापको हलमा आयोजित उक्त कार्यक्रममा चिसापका अध्यक्ष केदारनाथ खनाल, कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले समालोचक प्रभातलाई सम्मान गर्नु भएको थियो । उक्त पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्त्वमाथि कवि सुरेन्द्र अस्तफलले लिखित टिप्पणी प्रस्तुत गर्नु भएको थियो । टिप्पणी राख्ने क्रममा उहाँले रमेश प्रभात खरो खालको समालोचक भए पनि ‘अलिकति फरक कुरा’मा केही नरम भएर प्रस्तुत भएको धारणा राखे । त्यति मात्र नभएर कविडाँडा वरपरका समकालीन साथीका कृतिहरू समालोचकका नजरमा किन परेनन् ? भनेर प्रश्न पनि उठाउनु भएको थियो ।
वि.सं.२०७१ देखि प्रदान गर्न थालिएको यो पुरस्कार कुनै वर्ष एकल स्रष्टा र कुनै वर्ष स्रष्टा द्वयलाई दिइने गरेको छ । उक्त पुरस्कारबाट पहिलो वर्ष कवि लकाश पौडेलको महाकाव्य ‘शौर्यगाथा’लाई प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘सिडिओका सत्र वर्ष’, २०७३ सालमा सुमन घिमिरेको ‘मौनता’ उपन्यास र डा. मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह ‘पुस्तकालयको भोक’लाई संयुक्त रूपमा प्रदान गरिएको थियो । २०७४ सालमा दीपेन्द्रसिंह थापाको कवितासङ्ग्रह ‘सहयात्री शब्दहरू’ र निर्मल ढुङ्गानाको कथासङ्ग्रह ‘बतासा’लाई संयुक्त रूपमा दिइएको यो पुरस्कार २०७५ सालमा प्रसन्न घिमिरेको ‘मिझोर’ कवितासङ्ग्रहले प्राप्त गरेको थियो । त्यसैगरी २०७६ सालमा गणेश श्रमणको ‘गुलियो काठमाडौँ’ र लक्ष्मण अर्यालको ‘औंला’ लघुकथासङ्ग्रहले संयुक्तरूपमा पुरस्कार प्राप्त गरे । २०७७ सालमा नानी विभुको ‘अनुक्रोस’ उपन्यासलाई दिइएको यो पुरस्कार २०७८ सालमा दीपक सम्चुको ‘अनुहारमा आप्पा’ र कृष्णशरण उपाध्याय ‘अनेक प्रश्न’ कवितासङ्ग्रहलाई दिइएको थियो भने २०७९ सालमा मनोज चौधरीको ‘टुवरा’ उपन्यासले यो पुरस्कार प्राप्त गरेको थियो ।
चितवनको रत्ननगर नगरपालिका बकुलहर स्थायी घर भई हाल अमेरिका बस्नु हुने कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गरेकोमा हाल सो अक्षयकोष साँढे दुइ लाख राशि पुगेको छ ।
उक्त कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्त्वबारेमा प्रा.डा. नारायणप्रसाद खनालले प्रकाश पार्नु भएको थियो । देवघाटका चेलीहरूले लेखनाथका कविता वाचन गरेका थिए भने विष्णु तिवारी उषा, प्रकाश चापागाईं, होमनाथ घिमिरे, राजेन्द्र घायल लगायतका कविहरूले पनि कविता वाचन गर्नु भएको थियो । यसैगरी, कविडाँडा साहित्य समाजका अध्यक्षा एलबी क्षेत्री र कवि तथा समालोचक सरस्वती रिजालले शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन शान्ति शर्माले गर्नु भएको थियो ।

साहित्यकार रमेशचन्द्र घिमिरेको सहयोगमा ।

प्रकाशित मिति २०८१ पुष १६, मंगलवार ०८:१० गते
हजुरको प्रतिक्रिया