यो वर्षको असल आमा– बाबु सम्मानका लागि दोर्दीका पानकुमारी दम्पत्ति छनौट

यो वर्षको असल आमा– बाबु सम्मानका लागि दोर्दीका पानकुमारी दम्पत्ति छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १८ गते बिहिबार ०९:२१

पुरस्कारको स्थायित्वका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका संरक्षक तथा ठाडोभाका महानायकले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ ।

गत बर्षदेखि वितरण गर्न थालिएको उक्त पुरस्कार पालिका स्तरमा असल आमा–बाबु छनोट गरि घुम्ति रूपमा वितरण गर्ने गरिन्छ ।

बेसीशहर– लमजुङमा वितरण गरिने असल आमा– बाबु पुरस्कार यो वर्ष दोर्दी गाउँपालिका– ४ को नौथर, सेरा निवासी पानकुमारी गुरुङ – भरत गुरूङको दम्पतीलाई प्रदान गरिने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले वितरण गर्ने सो पुरस्कार ति दम्पतीलाई दिने प्रतिष्ठानले पुस १८ गते जनाएको हो ।
प्रतिष्ठानको पुरस्कार छनौट समितिले आज भर्चुअल बैठकबाट सो निर्णय गरेको हो । सो पुरस्कारको राशि १० हजार नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । उक्त पुरस्कार पढाईमा राम्रो गरिरहेका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी, अभिभावक सरकारी वा अन्य कुनै जागिर नभएका सकेसम्म विशुद्ध किसान परिवारका अभिभावकलाई प्राथमिकता दिने गरिएको छ ।उक्त पुरस्कार प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले स्थापना गर्नु भएको हो । पुरस्कारको स्थायित्वका लागि उहाँले एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनु भएको ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार पुरस्कारका संस्थापक, प्रतिष्ठानका अध्यक्ष सहितको तीन सदस्यीय समितिले सो पुरस्कारको घोषणा गरेको हो । उहाँले भन्नुभयो, यो वर्ष पुरस्कारको लागि देोर्दी गाँउपालिका– ४, नौथर, सिख्रमा रहेको चैतन्योदय सत्य माविको कक्षा– ६ मा पढ्ने छात्रा लक्ष्मी गुरुङका आमा– बाबालाई छनौट गरिएको छ ।
उनी सो कक्षाकी प्रथम विद्यार्थी भएको सो माविका प्रधानाध्यापक शहश्रजीवी घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार उनकी दिदीले पनि सोही माविबाट एसईई पास गरेकी हुन्, उनी पनि जेहन्दार विद्यार्थी मै पर्थिन् । उनकी बहिनी पनि सोही माविमा कक्षा– ३ मा पढ्दै छन् । उनी आफ्नो कक्षामा दाश्रो हुने विद्यार्थी हुन् प्रअ घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उनका भाइको स्कुल जाने बेला हुदैछ ।
सो पुरस्कार गत वर्ष बाट सम्वन्धित विद्यालयमा एक कार्यक्रम गरि ठाडोभाकाको प्रस्तुति कार्यक्रम सहित सो पुरस्कार असल आमा बाबुलाई हस्तान्तरण गरिन्छ ।
उक्त पुरस्कार यही पुस २६ गते वितरण गर्ने तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार पुरस्कृत व्यक्तित्व छनौटका लागि पालिका भित्रका माविका प्रअहरुसंग २/२ जना अभिभावकको नाम माग गरिएको थियोे । तीमध्येबाट पुरस्कृत व्यक्ति छनौट गरिएको प्रतिष्ठानले जनाएको छ । उहाँले भन्नुभयो ‘गत बर्षदेखि वितरण गर्न थालिएको उक्त पुरस्कार पालिका स्तरमा असल आमा–बाबु छनोट गरि घुम्ति रूपमा वितरण गर्ने गरिन्छ’ ।
गत बर्ष उक्त पुरस्कार मर्स्याङ्दी गाँउपालिका– ६ बाहुनडाँडा स्थित चन्द्रोदय माविका असल आमा–बाबुलाइ प्रदान गरिएको थियो ।

प्रकाशित मिति २०८१ पुष १८, बिहीबार २१:२१ गते

हजुरको प्रतिक्रिया