लमजुङमा एक असल आमा– बाबाको जोडीलाई एक कार्यक्रमका बीच सम्मान

लमजुङमा एक असल आमा– बाबाको जोडीलाई एक कार्यक्रमका बीच सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २६ गते शुक्रबार १०:२०

आफ्नो प्रतिष्ठानले नेपाली संस्कृतिको धरोहरका रुपमा रहेका ठाडोभाका मात्र नभई बाघचाल र यो वर्षदेखि पात बजाउने प्रतियोगितासमेत प्रतिष्ठानको स्थापना दिवसका ठाडोभाका मेलाका रुपमा तीन दिनसम्म बनाउने भएको अध्यक्ष पहाडीले जानकारी दिनु भयो ।

आफ्नो पहिचान र परिचय बोकेको हाम्रो जरोकिलो भनेको नै धर्म, संस्कार, संस्कृति हो यसलाई बिर्सने हो भने मानिस रोवर्ट बन्छ प्रमुख अतिथिकाफ्लेले भन्नुभयो ।

नौथर(लमजुङ)– लमजुङमा असल आमा– बाबाको एक जोडीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । दोर्दी गाउँपालिका– ४ को नौथर, सिख्र स्थित चैतन्योदय माविमा आयोजित कार्यक्रममा स्थानीय टोल निवासी फुलकुमारी गुरुङ÷भरत गुरुङलाई उक्त सम्मान पुस २६ गते गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, विशेष अतिथि ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, सो माविका प्रधानाध्यापक सहस्रजीवी घिमिरेले संयुक्त रुपमा असल आमा– बाबा पानकुमारी गुरुङ र भरत गुरुङ दम्पतीलाई उक्त सम्मान गर्नु भएको हो । सो पुरस्कारको राशि दश हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि काफ्लेले सम्मान पत्र, विशेष अतिथि धम्पुले नगद पुरस्कार तथा प्रअ घिमिरेले टीका र दोसल्ला ओढाएर फुलकुमारी दम्पतीलाई सम्मान गर्नु भएको हो । सो विद्यालयमा पढ्ने फुलकुमारीकी माहिली छोरी लक्ष्मी गुरुङ कक्षा– ६ र कान्छी छोरी बिनु गुरुङ कक्षा– ३ मा दुवै आफ्नो कक्षामा पहिलो हुने विद्यार्थी भएको सो माविका प्रअ घिमिरेले जानकारी दिनु भएको छ ।
त्यस्ता जेहन्दार विद्यार्थीका आमा– बाबा जो विशुद्ध किसान छन्, उनीहरूको घरमा सरकारी वा अर्ध सरकारी जागिर खाने कोही छैन भने त्यस्तो परिवारलाई यो सम्मान प्रदान गर्ने प्रतिष्ठानको नीति रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त पुरस्कार प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले स्थापना गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘सो पुरस्कारको स्थायित्वका लागि संरक्षक धम्पुले एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनु भएको छ ।’
सो पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले कार्यक्रमका बारेमा हिजोमात्र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीमार्फत जानकारी पाएको हुँ, यो कार्यक्रम यति महत्वको र प्रभावकारी होला भन्ने कल्पना गरेको थिइन्, कार्यक्रम प्रेरणादायी छ भन्दै सांस्कृतिक उन्नयनका लागि यस्तो उदाहरणीय कार्य गर्ने संस्थाको अभियानमा म आफू पनि जोडिन तयार छु, त्यसका लागि यस प्रतिष्ठानको आजीवन सदस्य बन्छु भन्ने उदघोष गर्नु भयो ।
उहाँले यो कार्यक्रममा कलासंस्कृति र साहित्यको एक साथ उत्थान गर्ने गरी संयोजन गरिएको आफूले पाएको उल्लेख गर्नु भयो । यस्ता कार्यक्रम अझ धेरै व्यक्तिहरूका माझ गरेर लोकप्रिय, सर्वसुलभ बनाउन सकिन्छ, आफ्नो पहिचान र परिचय बोकेको हाम्रो जरोकिलो भनेको नै धर्म, संस्कार, संस्कृति हो यसलाई बिर्सने हो भने मानिस रोवर्ट बन्छ काफ्लेले भन्नुभयो । प्रमुख अतिथि काफ्लेले माटो कला संस्कृति, साहित्यसँग जोडिनु पर्छ, पहिचान मेटियो भने बाच्नुको अर्थ रहन्न, कला बिहीन जीवन निर्जिव हुन्छ भन्नुभयो । जीवलाई सजीव, गतिशील र उर्जाशील बनाउन संस्कृतिलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ उहाँले जोड दिनुभयो । अब नेपालमा सामाजिक, सांस्कृतिक जागरणको अभियान थाल्नु पर्ने बेला आएको छ भन्दै उहाँले कार्यक्रममा सहभागी कवि श्रीकृष्ण न्यौपानेलाई ठाडोभाकाको अनुसन्धानमूलक कीर्ति तयार गर्न आग्रह गर्दै त्यो काम गरेमा त्यसको प्रकाशनको जिम्मा आफूले लिने जानकारी दिनुभयो ।
सांस्कृतिक इतिहासको विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न, त्यसलाई गति दिनका लागि पनि यस्ता कार्यक्रमको आवश्यक छ भन्ने उहाँले उल्लेख गर्दै आफ्नो पालिकाबाट सांस्कृतिक उन्नयनका लागि चालु आवमा दुई लाख रुपैया बजेट विनियोजन गरेको जानकारी दिनुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले संसारमा आमा– बाबुभन्दा ठूलो अर्को कोही नभएको बताउँदै आफ्नी आमाको सम्झनामा जिवित आमाहरूको सम्मानका लागि यो पुरस्कारको स्थापना गरेको हुँ भन्नुभयो । उहाँले विद्यार्थीलाई उत्प्रेरित गर्न आमाप्रति श्रद्धा जागृत गर्ने गीतसमेत सँगसँगै गाउन लगाउँदै मनोरञ्जन दिनु भएको थियो भने ठाडोभाकाको समेत प्रस्तुति दिनु भएको थियो । उहाँले हामी संस्कृतिमा कति धनी छौं भन्ने उदाहरण दिदै कृष्ण चरित्रमा ९ वटा राग र सोरठीमा ८ वटा राग हुन्छन् भन्ने जानकारी दिनु भएको थियो ।
सो माविका प्रअ सहस्रजीवी घिमिरेले स्वागत मन्तव्यका साथमा करिब एक महिना अघि आफूसँग प्रतिष्ठानका अध्यक्ष पहाडीले दुई जना अभिभावकको नाम माग्नु भएको जानकारी दिनु भयो । हामी सबै शिक्षकका बीचमा सल्लाह गरी नाम सिफारिस गरेका थियौं, एक साता अघि आज सम्मानित हुने अभिभावकको नाम छनौटमा परेको उहाँले जानकारी दिनु भयो, त्यो थाहा पाउँदा अति खुशी लाग्यो भन्दै कार्यक्रमको ढाचाका बारेमा समेत अध्यक्ष पहाडीले आफूलाई जानकारी दिएको बताउनु भयो । उहाँले आफ्नो विद्यालयका यस्ता कार्यक्रमले प्रतिष्ठानमार्फत निरन्तरता पाउन् भन्ने माग गर्नु भएको थियो ।
कार्यक्रमका सभापति एवम् आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको औचित्यका बरेमा प्रकाश पार्दै प्रतिष्ठानका गतिविधिमा प्रकाश पार्नु भएको थियो । उहाँले यो सम्मानको रकम विशुद्ध किसानको घरमा जानु पर्छ भन्ने सोचका साथ अभिभावकको छनौट कार्य गरिएको हो भन्नुभयो । उहाँले कला संस्कृति साहित्यका क्षेत्रमा काम गर्नेका लागि राज्य अभिभावक बन्न नसकेको दुःखेसो पोख्नु भएको थियो । आफ्नो प्रतिष्ठानले नेपाली संस्कृतिको धरोहरका रुपमा रहेका ठाडोभाका मात्र नभई बाघचाल र यो वर्षदेखि पात बजाउने प्रतियोगितासमेत प्रतिष्ठानको स्थापना दिवसका ठाडोभाका मेलाका रुपमा तीन दिनसम्म बनाउने भएको अध्यक्ष पहाडीले जानकारी दिनु भयो । उहाँले यो वर्ष ठाडोभाका मेलाको तीन दिने कार्यक्रम पनि यसै पालिकाको हिलेबेसीमा आउँदो माघ १७ देखि १९ गतेसम्म हुने उल्लेख गर्दै ती सबै प्रतियोगितामा यो पालिकाबाट बढीभन्दा बढी सहभागी भएर पुरस्कार जित्न आग्रह गर्नु भयो ।
सो अवसरमा सोही माविका शिक्षक एवम् कवि श्रीकृष्ण न्यौपानेले ठाडोभाकाका गायकहरू लोककवि हुन् भन्दै लक्ष्मीप्रसाद देवकोटा ‘मुना मदन’ कीर्तिमा ठाडोभाका र नानिलो भाकामा झ्याउरे छन्दमा लेखिएको दावी गर्नुभयो । उहाँले ठाडोभाकाका हाँगाविंगा समेत फैलिदै गरेको हुँदा यो कहिल्यै मर्दैन भन्नु भयो । उहाँले ठाडोभाका गाउनेहरू झ्याउरे कवि हुन्, उनीहरू सिर्जनशील छन् त्यसैले पनि ठाडोभाका नमर्ने ठोकुवा गर्न सकिन्छ भन्दै ठाडोभाका गाएर समेत सुनाउनु भएको थियो ।
उक्त कार्यक्रममा विव्यसका पूर्वअध्यक्ष अशोक अधिकारी तथा वर्तमान अध्यक्ष लालकाजी श्रेष्ठले समेत शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयलाई सम्झिरहन आयोजकलाई आग्रह गर्नु भएको थियो ।
उक्त अवसरमा आयोजक प्रतिष्ठानका संरक्षक धम्पु, उपाध्यक्ष सीता दुरा, ८४ वर्षीय अग्रज गायक एवम् प्रतिष्ठानका कार्यकारी सदस्य अमरध्वज गुरुङ, कार्यकारी सदस्य मीना गुरुङले ठाडोभाका गाउनु भएको थियो भने स्थानीय गायक भीमबहादुर मगरले समेत ठाडोभाका गाउनु भएको थियो । सो अवसरमा प्रतिष्ठानका संरक्षक धम्पुका साथमा प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ सम्मानित आमा– बाबाका छोरीद्वय लक्ष्मी र बिनु तथा कक्षा– ४ का छात्र साजन विकले समेत नृत्य प्रदर्शन गर्नु भएको थियो ।
त्यस्तै, उक्त विद्यालयका शिक्षक रुपेन्द्र थापाले सो कार्यक्रममा उदघोषणको कार्य गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष २६, शुक्रबार २२:२० गते
हजुरको प्रतिक्रिया