प्याब्सन लमजुङको अध्यक्षमा ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेल निर्विरोध

प्याब्सन लमजुङको अध्यक्षमा ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेल निर्विरोध

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २७ गते शनिवार ०६:२६

निजी क्षेत्रको शिक्षा यौटा उद्योगमा परिणत भइसकेको हुँदा यसलाई व्यस्थित गर्नेमा सरकारको ध्यानाकर्षण गएको छ भने सामुदायिक विद्यालयमा हुने अति राजनीतिले पनि बिग्रेको हो मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

नेतृत्वको भिजन अनुसार संस्था चल्ने हुँदा नेतृत्व छनौटमा विशेष ध्यान दिनु पर्छ : मन्त्री गुरुङ

बेसीशहर– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) लमजुङको अध्यक्षमा ईश्वर पौडेल निर्विरोध चयन हुनुभएको छ । यसअघि सो संस्थाको उपाध्यक्ष रहनु भएको पौडेल १२औं जिल्ला अधिवेशनबाट पुस २५ गते अध्यक्ष चयन हुनु भएको हो ।
अधिवेशनबाट प्याव्सन लमजुङको उपाध्यक्षमा बेसीशहरकै युनिभर्सल एकेडेमीका प्रिन्सीपल विमल अधिकारी चयन हुनु भएको छ । उहाँ यसअधि सचिव पदमा हुनुहुथ्यो । त्यस्तै, यसअघिका कोषाध्यक्ष एवम् भूपू सैनिक आमावि बेसीशहरका प्रिन्सीपल विनोद गुरुङ सचिवमा चयन हुनु भएको छ भने कोषाध्यक्षमा मस्र्याङदी गाँउपालिका स्थित हिमचुली आवासीय माविका पूर्वप्रिन्सीपल रामचन्द्र भण्डारी चयन हुनुभएको छ । भण्डारी यसअघि सदस्य हुनुहुन्थ्यो ।
समितिको सदस्यहरूमा अर्थली प्याराडाइज आमाविका प्रिन्सीपल उद्धव घिमिरे, हिमाली आमावि भोर्लेटारका रमिला गुरुङ, मनकामना आमावि भकुण्डेका प्रमोद अधिकारी, बुद्ध मेमोरियल आमाविका मोहनबहादुर रावत, विद्या विकास आमाविका सागर चुडाल, न्युइरा आमाविका किरण श्रेष्ठ तथा भूपू सैनिक आवासीय मावि भोटेओडारका शैलेन्द्रलाल श्रेष्ठ चयन हुनुभएको नवनिर्वाचित सचिव विनोद गुरुङले जानकारी दिनु भएको छ । उहाँका अनुसार नवनिर्वाचित समितिको कार्यका ३ वर्षको हुने विधानमा व्यवस्था छ ।
सम्पन्न अधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उदघाटन गर्नु भएको थियो । उदघाटन मन्तव्यमा नेतृत्वको भिजन अनुसार संस्था चल्ने हुँदा नेतृत्व छनौटमा विशेष ध्यान दिनु पर्ने बताउनु भएको थियो । ऐलेको वेरोजगार उत्पादन गर्ने शिक्षा नीति ठीक नभएको हुँदा अब शिक्षा नीतिलाई समयानुकुल बनाउन सरकार लागि परेको मन्त्री गुरुङले जानकारी दिनु भयो । सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो र हुनुपर्छ भन्ने तथ्यलाई यो सरकारले राम्रोसँग बुझेको छ र त्यसै अनुरुप अघि बढ्नका लागि नीति, नियम तथा ऐन बनाउने र परिमार्जित गर्ने कार्यमा जुटेको छ भन्नुभयो ।
निजी क्षेत्रको शिक्षा यौटा उद्योगमा परिणत भइसकेको हुँदा यसलाई व्यस्थित गर्नेमा सरकारको ध्यानाकर्षण गएको छ उहाँले उल्लेख गर्नु भयो । विद्यार्थीभन्दा शिक्षक बढी हुने सामुदायिक विद्यालयका व्यवस्थापनका बारेमा कठोर निर्णय लिने बेला आएको समेत उहाँको भनाइ थियो । साथै सामुदायिक विद्यालयमा अति राजनीतिले पनि बिग्रेको हो मन्त्री गुरुङले बताउनु भएको थियो ।
सो अवसरमा विभिन्न महानुभावले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अधिवेशनको उद्घाटन सत्र प्याब्सनका अध्यक्ष मेन घलेको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष ईश्वर पौडेलले र सञ्चालन सचिव विमल अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष २७, शनिबार ०६:२६ गते
हजुरको प्रतिक्रिया