भारतको असमका केबी नेपालीसहितका चार जना स्रष्टाहरू नेपालमा सम्मानका लागि छनौट

भारतको असमका केबी नेपालीसहितका चार जना स्रष्टाहरू नेपालमा सम्मानका लागि छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १ गते मङ्गलबार ०७:००

स्रष्टाहरूमा केबी नेपाली असम निवासी हुनुहुन्छ भने मुम्बई निवासी रञ्जित गजमेर, दार्जिलिङ निवासी डा.जीवन नामदुङ र सिक्किम निवासी डा.शान्ती क्षेत्री हुनुहुन्छ ।

केबी नेपालीलाई ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने पुरस्कार नेपाली मूलका विदेशमा रहनु हुने विदेशीनागरिक नागरिकलाई मात्र प्रदान गरिन्छ ।

काठमाडौं– भारतका चार जना स्रष्टालाई नेपालका लागि सम्मानका लागि छनौट गरिएको छ । नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई नइ पुरस्कार– २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने माघ १ गते घोषणा गरेसँगै त्यस्तो खुलासा भएको हो ।
नइ प्रकाशनले त्यस्तो कार्य गर्ने भएको हो । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार त्यस्तो पुरस्कार पाउने स्रष्टाहरूमा असमका केबी नेपाली, रञ्जित गजमेर, डा.जीवन नामदुङ र डा.शान्ती क्षेत्री हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘भारतको असमका केबी नेपालीलाई ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।’ साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विगत साढे छ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत नेपालीलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली मूलका विदेशमा रहनु हुने विदेशी नागरिक नागरिकलाई मात्र प्रदान गरिन्छ । उक्त पुरस्कार राशि दुई लाख रुपैयाँ(नेपाली) रहेको छ ।
यसैगरी, ‘नइ कोइलीदेवी पुरस्कार’ रञ्जित गजमेरलाई समर्पण गर्ने निर्णय भएको छ । उहाँ नेपाली भाषालाई देशदेशान्तरमा जनप्रिय बनाउन अहोरात्र क्रियाशील हुनुहुन्छ । सङ्गीतकार उहाँ मुम्बई निवासी
हुनुहुन्छ । विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी योगदान गर्नु भएको छ ।
त्यस्तै, डा.जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशन सदस्यसचिव प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार दार्जिलिङ निवासी उहाँले नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गर्नुभएको छ । उहाँको सोही योगदानको उच्च मूल्यांकलन गर्दै उहाँलाई सम्मानका लागि छनौट गरिएको हो ।
नइ प्रकाशनका सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।’ उहाँका अनुसार सिक्किम निवासी क्षेत्रीले नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाउनु भएको छ ।
गजमेर, नामदुङ र डा. क्षेत्रीलाई प्रदान गरिने तीन पुरस्कारका राशि जनही एक एक लाख रुपैयाँका रहेको नइ प्रकाशनका सदस्यसचिव प्रसाईले उल्लेख गर्नुभयो । उहाँका अनुसार यी पुरस्कार आउँदो फागुनमा एक विशेष कार्यक्रमका बीच वितरण गर्ने तयारी छ ।

प्रकाशित मिति २०८१ माघ १, मंगलवार १९:०० गते
हजुरको प्रतिक्रिया