लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङ, जिल्लामा संगठन निर्माण कार्यमा जुटेको छ । एकै दिन दुई वडा अधिवेशन सम्पन्न गर्दै सो पार्टी संगठनको औपचारिक निर्माणमा जुटेको हो । जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ६ र ८ वडाको बेग्ला बेग्लै कार्यक्रमका साथ वडा अधिवशेन गर्दै रास्वपा लमजुङले त्यस्तो गतिविधि माघ ५ गते अघि बढाएको हो ।
ती दुवै वडामा यसअघि तदर्थ समिति थिए । पहिलो चरणमा वडानं– ६ को वडा कार्यालयमा वडाअधिवशेन भएको हो भने दोस्रो चरणमा वडानं– ८ को वडा अधिवशेन सोही दलको कार्यालय स्थित सभाहलमा भएको हो । दुवै वडाको अधिवेशन रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसी, आप्रवास विभागका सचिव पदमराज पन्थी, जिल्ला सभापति अशोक सापकोटाले संंयुक्त रुपमा घण्टी बनाएर उदघाटन गर्नु भएको हो ।
आफ्नो सम्बोधन क्रममा केन्द्रीय संगठन विभागका सदस्य केसीले पार्टीले माघ २ गतेदेखि सञ्चालन गरेको दुई महिने ‘संगठन निर्माण अभियान’का बारेमा जानकारी दिनु भएको थियो । उहाँले सो अभियानको प्राविधिक पक्षमा समेत प्रकाश पार्नु भएको थियो । अब पार्टी संगठनलाई वडाको टोलटोलमा पुर्याउनु पर्ने उहाँले जोड दिनु भयो ।
उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारलाई ब्लड क्यान्सरको उपमा दिदै त्यसको समुल नष्ट नगरेमा त्यस्ता रोगीको ज्यानै जाने भएको हुँदा हामी होसियारीका साथ अघि बढ्नु पर्छ मुलुकमा व्याप्त भ्रष्टाचारलाई समुल नष्ट गर्नु पर्छ भन्नु भयो । उहाँले हाल बेसीशहर नगरपालिका– ८ निवासी शिक्षक पेशाबाट निवृत्त भई समाजसेवामा जुट्नु भएका यज्ञप्रसाद घिमिरेले व्यक्त गर्नु भएको विचार र निर्णयले देशको यथार्थ वस्तु स्थितिको चित्रण गरेको बताउनु भयो । उहाँले भ्रष्टाचारमात्र नभई न्यायका पक्षमा समेत आफूहरू डटेर लाग्ने बताउँदै नवनिर्वाचित समितिलाई बधाई दिनु भएको थियो ।
सो कार्यक्रममा प्रवास विभागका सचिव पदमराज पन्थीले पार्टी सभापतिउपर राज्य के कसरी निर्लज्ज तरिकाले उत्रिरहेको छ ? भन्ने विभिन्न घट्नाक्रमले पुष्टि गरेको उदाहरण सहित बताउनु भयो । उहाँले केही दिन अघि काठमाडौं जिल्ला अदालत परिसरमा भएको घट्नामा काँग्रेसकै व्यक्ति संलग्न भएको पाइयो, त्यस घट्नाबाट काँग्रेस भित्र सल्किएको पीडा(भूसको आगो) को एक रुप हो भन्नुभयो । उहाँले देश खोक्रो बनाउने धन्दाका विरुद्ध लाग्न आह्वान गर्नुभयो ।
रास्वपाको लमजुङ– काठमाडौं सम्पर्क समितिमा अध्यक्ष एवम् जिल्ला निर्वाचन क्षेत्र समितिका सदस्य भोला शर्माले समसामयिक राजनीतिक घट्नाक्रमका बारेमा प्रष्ट्याउँदै ती कुकर्मको भण्डाफोर गर्ने सशक्त माध्यम भनेकै संगठन निर्माण हो र यसलाई पहिलो सर्तका रुपमा लिनु पर्छ भन्नु भएको छ ।
वडानं ६ को अधिवेशनमा भरत भण्डारीले पनि आफ्नो धारणा राख्दै यतिबेला देशको हित, उन्नति एवम् समाजमा न्याय स्थापना गर्न र भ्रष्टाचारका विरुद्धमा सुशासन कायम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको बाटो सही भएको आफूले ठहर गरेको बताउनु भएको थियो । उहाँले नवनिर्वाचित समितिलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।
यसैगरी, वडानं– ८ को अधिवेशनमा हाल नगरपालिका– ८ निवासी सामाजिक व्यक्तित्व यज्ञप्रसाद घिमिरेले आफू पञ्चायतको जर्जर अवस्था(२०४० साल)देखि काँग्रेसको सदस्य रहेको तर यसपटक भने क्रियाशील सदस्यता नवीकरण गर्न मन भएन भन्नु भयो । उहाँले त्यसको कारण भ्रष्टाचारमा देश डुवाउने प्रपञ्चका विरुद्ध जुट्ने संकल्प हो भन्नुभयो । उहाँले हिजोका दिनमा पनि शिक्षक युनियनमा समेत आफूले भूइँको धुलो भएर पद नखोजी काम गरेको स्मरण गर्दै देशमा सुशासन र न्याय स्थापित गर्न ढिला हुन थालेको संकेत आफूले पाएको हुँदा आफू रास्वपाको बाटोमा लागेको हुँ, जय घण्टी ! भन्नुभएको थियो ।
सो पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् निर्वाचन समितिका संयोजक नवराज पहाडीले पार्टीले ऐतिहासिक फड्को मार्ने क्रममा रहेको हुँदा हाम्रो सक्रियतालाई थप बढाउनु पर्ने खाँचो छ भन्नुभयो । उहाँले हामी कार्यकर्ताहरू पार्टीको साइनबोर्ड हौं, साइनबोर्डलाई चम्काउने वा धमिल्याउने हाम्रो हातमा छ, त्यसैले हाम्रा गतिविधिले त्यसको पुष्टि गर्नुपर्छ भन्नुभयो । उहाँले हामीले ‘नयाँ बाटो हिड्ने’ भने पनि कतिपय अवस्थामा पुराना पार्टीका धङ्धङी तथा अनीबानीले नछाडेको स्थिति छ, त्यसैले हामी इमान्दार हुन नसमा अर्को बदमासप्रति औंला ठड्याउन सक्दैनौं यसतर्फ पनि सोचेर अघि बढौं उहाँले आग्रह गर्नु भयो ।
साथै उहाँले निर्वाचन प्रक्रियाका बारेमा जानकारी दिनु भएको थियो । पार्टी विधान अनुसार एक वडामा ११ जनाको समिति रहने, तीमध्ये सभापति, उपसभापति र सचिव सहित छ जना सदस्य निर्वाचित हुने । ११ जनामा चार जना महिला अनिवार्य हुनु पर्ने र त्यसमा एक दलित महिला पनि अनिवार्य रहेको जानकारी दिनुभयो । चार जना महिलामा निर्वाचित हुन नसकेमा अध्यक्षले मनोतित गर्ने २ जनामा महिलानै मनोनित गरी पूर्ति गर्नु पर्ने विधानत व्यवस्था भएको निर्वाचन संयोजक पहाडीले जानकारी दिनुभयो ।
ृउक्त कार्यक्रममा रास्वपाका वडा सदस्य केशव दुलालले समत आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ६ मा तेजबहादुर भण्डारी सभापति निर्विरोध चयन हुनु भएको सो वडाका निर्वाचन समितिका संयोजक एवम् जिल्ला सदस्य होमबहादुर राउतले बताउनु भयो । उहाँका अनुसार उपसभापतिमा राजकुमार राउत र सचिवमा सोमबहादुर रिमाल चयन हुनुभएको छ । उहाँले भन्नुभयो, ‘सो समितिको सदस्यमा सूर्यबहादुर गुरुङ, बमबहादुर अधिकारी, डिल्लीराम परियार, अमृत खत्री, सीता विक, कोपिला अधिकारी थापा, उषा भण्डारी र सुनिता भण्डारी चयन हुनुभएको छ ।’
सो वडाका सभापति र उपसभापति यसअघि पनि उहाँहरू नै हुनुहुन्थ्यो । वडा सभापति तेजबहादुर भण्डारीको अध्यक्षतामा भएको सो अधिवेशनमा बेसीशहर नगरका सभापति कृष्णबहादुर राउतले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला उपसभापति एवम् सोही वडाका अध्यक्ष प्रकाश थापाले सञ्चालन गर्नु भएको थियो ।
बेसीशहर नगरपालिका– ८ को सभापतिमा फडिन्द्र रावल चयन :
सम्पन्न अधिवशेनले राष्ट्रिय स्वतन्त्र पार्टीको वडानं– ८ मा निर्विरोध रुपमा फडिन्द्र रावल सभापति चयन गरेको सो वडाका निर्वाचन समितिका संयोजक एवम् जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले घोषणा गर्नु भएको थियो । त्यस्तै उपसभापति विष्णु सुयल र सचिवमा रामजी श्रेष्ठ चयन हुनुभएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार समितिको सदस्यहरूमा वासमाया दुलाल, मपिता मिया, केशब दुलाल, काजीराम रावल, हरुना गुरुङ र शिव रावल निर्वाचित हुनुभएको छ । रिक्त दुई सदस्य पदमा नवनिर्वाचित सभापतिले मनोनित गर्नु हुने निर्वाचन संयोजक पहाडीले जानकारी दिनुभयो ।
सो अवसरमा यसअघिका वडा सभापति ध्रुवराज ढकाल र उपसभापति अहल्दिन मियालाई नगर समितिका विभागमा लगिने भएको निर्वाचन समितिका सयोजक पहाडीले जानकारी दिनु भएको थियो ।
सो वडाका वडा सभापति ध्रुवराज ढकालको अध्यक्षतामा भएको उक्त वडा अधिवेशनमा जिल्ला सदस्य सविता अधिकारी बरालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सदस्य मीना खड्काले गर्नु भएको थियो ।
दुवै वडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जिल्ला सभापति अशोक सापकोटाले सपथ खुवाउनु भएको थियो ।
प्रकाशित मिति २०८१ माघ ५, शनिबार १९:३७ गते