काठमाडौँ— नेपाली भाषा साहित्यको उन्नयनमा आफूलाई समर्पित गर्दै आएको नइ प्रकाशनले २०८० सालको ‘नइ पुरस्कार’का लागि विभिन्न लब्धप्रतिष्ठित दस जना व्यक्तित्वको छनौट गरेको छ । नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा माघ ७ गते जारी एक विज्ञप्तिमा त्यस्तो खेलाइएको हो ।
नेपालमा सर्वाधिक पुरस्कार वितरण गर्ने संस्थामा नइ पुरस्कार दर्ज भएको छ । सोही प्रकाशनले राष्ट्रिय जीवनका ख्याति प्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार पुरस्कारका लागि छनौट हुनु भएका व्यक्तित्वहरूमा प्रा.चेतोनाथ शर्मा आचार्य, हरिराम जोशी, प्रा. गोपीकृष्ण शर्मा, प्रा.डा. मोहन लोहनी, डा. वसन्त पन्त हुनुहुन्छ । यसैगरी, अन्य व्यक्तित्वमा रञ्जुश्री पराजुली, शान्तिनारायण श्रेष्ठ, राधिका गुरागाईँ तथा कमल प्रधान र ध्रुव थापा हुनु भएको प्रसाईले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘ती सबै पुरस्कारका राशि जनही एक÷एक लाख रुपैयाँ रहेका छन् ।’
नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ । त्यस्तै, नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ ।
नेपाली भाषासाहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याउनु भएको विशिष्ट योगदानका निम्ति प्रा. गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् प्रा.डा. मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाएबापत न्युरो सर्जन डा. वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’ तथा नेपाली भाषामा बालसाहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति श्रीमती रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्नेे निर्णय भएको छ ।’
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो भन्ने जानकारी दिनु हुँदै नइ प्रकाशनका सदस्यसचिव प्रसाईले उल्लेख गर्नु भयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यस्तै, राजधानीबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको नइ प्रकाशनका सदस्यसचिव प्रसाईको भनाइ छ । उहाँले भन्नुभयो, ‘सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्त्वपूर्ण योगदान दिएबापत कमल प्रधान तथा श्री ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने निर्णय भएको छ ।’
प्रकाशित मिति २०८१ माघ ७, सोमबार २०:२५ गते