बेसीशहर– लमजुङमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले वितरण गर्ने दुई पुरस्कारका लागि लोकसंस्कृति तथा लोकसाहित्यमा विशेष योगदान गर्नु भएका प्रा.डा. न्यौपाने बन्धुद्वयलाई छनौट गरिएको छ । छनौट हुनेमा प्रा.डा. कृष्णप्रसाद न्यौपाने (काठमाडौंं) र प्रा. डा. कुसुमाकर न्यौपाने(पोखरा) माघ ११ गते छनौट हुनु भएको हो ।
लमजुङमा मौलिक लोककला संस्कृति एवम् साहित्यका लागि काम गर्दै आएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सो निर्णय गरेको हो । छनौट हुने व्यक्तित्वमा त्रिविको नेपाली विभागका प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपाने र हालै निवृत्त हुनु भएका प्रा. डा. कुसुमाकर न्यौपाने हुनुहुन्छ । पुरस्कारका लागि उहाँहरूको नाम सो प्रतिष्ठानको पुरस्कार छनौट समितिको बैठकले सर्वसम्मत रुपमा छनौट गरेको पुरस्कार छनौट समितिका संयोजक एवम् प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार त्रिविको नेपाली विभागका प्रमुख समेत रहनु भएका प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई ठाडोभाका– टिकाकुमारी ढुंगाना स्मृति राष्ट्रिय पुरस्कारका लागि समर्पण गर्ने निर्णय गरिएको हो ।
ठाडोभाका– टिकाकुमारी ढुंगाना स्मृति राष्ट्रिय पुरस्कारका संस्थापक : स्व. नरेन्द्रराज ढुंगाना
ती दुवै पुरस्कार लोकसंस्कृतिको श्रीबृद्धिमा विशेष योगदान पुर्याई आउनु भएका व्यक्तित्वलाई प्रदान गर्ने नीति प्रतिष्ठानको रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रा.डा. कृष्णप्रसाद न्यौपानेका लागि समर्पण गरिने पुरस्कारको राशि नगद १० हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला रहेको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानका सल्लाहकार स्व. नरेन्द्रराज ढुंगानाले आफ्नी ममतामयी आमा टीकाकुमारीको स्मृतिमा सो पुरस्कार स्थापना गरिदिनु भएको हो ।’ यो पुरस्कार प्रतिष्ठानले २०७६ सालदेखि वितरण गर्दै आएको पहाडीले जानकारी दिनु भयो । ‘प्रा.डा. न्यौपानेजस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउँदा हाम्रो प्रतिष्ठानको समेत शिर उचो हुने भएको छ ।’ पहाडीले उल्लेख गर्नुभयो ।
ठाडोभाका– दुर्गा स्मृति पुरस्कारका संस्थापक : कार्यकारी सदस्य कृष्णबहादुर केसी
त्यस्तै, ‘ठाडोभाका– दुर्गा स्मृति पुरस्कार’ (प्रदेशस्तर)का लागि प्रा.डा. कुशुमाकर न्यौपानेलाई छनौट गरिएको पहाडीको भनाइ छ । उहाँका अनुसार सो पुरस्कार प्रतिष्ठानका कार्यकारी सदस्य कृष्णबहादुर केसीले आफ्ना पुजनीय बुबा स्व. दुर्गा केसीका नाउँमा स्थापना गरिदिनु भएको हो । उहाँले भन्नुभो, ‘उक्त पुरस्कारको राशि पाँच हजार ५१ रुपैयाँ, सम्मान पत्र र दोसल्ला रहेको छ ।’
यो पुरस्कार प्रतिष्ठानकातर्फबाट पहिलो पटक वितरण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले उल्लेख गर्नु भयो । उहाँका अनुसार ती दुवै पुरस्कार ठाडोभाका लोककला प्रतिष्ठान नेपालको नवौं स्थापना दिवसका अवसरमा आयोजित ‘ठाडोभाका मेला’(तीन दिवसीय)को उदघाटनका अवसरमा यही माघ १७ गते वितरण गरिने तयारी गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुने तयारी छ ।
प्रतिष्ठानको स्थापना दिवस पालिकास्तरमा घुम्ति रुपमा मनाउने प्रचलन छ । सो अनुसार यो वर्ष लमजुङको दोर्दी गाउँपालिका– ८ को हिलेबेसीमा स्थापना दिवस मनाउने तयारी रहेको प्रतिष्ठानका उपाध्यक्ष एवम् लोकगायिका सीतादेवी दुराले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८१ माघ ११, शुक्रबार १९:३० गते