बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ हुने सोनाम ल्होछार विशेष बृहत साँस्कृतिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । तामाङ समुदायको महान पर्व २८६१ औँ सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङले बेसीशहरको फूलवारी मञ्चमा बृहत साँस्कृतिक उत्सव २०८१ को आज माघ १२ गतेका लागि आयोजना गरेको हो ।
उक्त कार्यक्रममा जिल्लाबाट निर्वाचित तीनै जना मन्त्रीहरू नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ, गण्डकीका आर्थिक मामिला मन्त्री टकराज गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल सहभागी हुनु हुने आयोजकको भनाइ छ । यसैगरी उक्त कार्यक्रमका लागि आयोजक संस्थाका केन्द्रीय अध्यक्ष कुमार घिसिङ तामाङ, पूर्वअध्यक्ष धनप्रसाद तामाङ, गण्डकी प्रदेश समितिका उपाध्यक्ष जसपाल तामाङ आउनु भएको छ ।
उदघाटन कार्यक्रम अघि मनाङ्गे चौताराबाट झाँकी र्याली प्रदर्शन गरिने छ । र्याली त्रिवेणी टोल, भीमसेन स्थान, नारायण स्थान हुँदै फूलबारी मञ्चमा पुगेर उत्सवको औपचारिक कार्यक्रममा सहभागी हुने तयारी छ । ‘भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ उत्सवको आयोजना गरिएको हो । उक्त कार्यक्रममा तामाङ जातिको परम्परागत रुपमा प्रयोग हुँदै आइरहेका भेषभुषा, बाजागाजा, बोम्वो, ताम्वा, लामा, गन्वा आदिको प्रदर्शन गर्ने तयारी रहेको आयोजकको भनाइ छ ।
सोनाम ल्होछारका अवसरमा तामाङ समुदायमा ठूलाबडासंग आशीर्वाद लिने तथा घर र गुम्वाहरूमा पूजापाठसमेत गर्ने गरिन्छ । ल्हो भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउने हुँदा तामाङहरूको नयाँ वर्षनै ल्होछार हो । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई विभिन्न जनवार तथा पंक्षीको प्रतिकका रुपमा लिने गरिन्छ ।
लमजुङ जिल्ला भरका तामाङ समुदाय एकै स्थानमा भेला भएर धुमधामका साथ सोनाम ल्होछार मनाउने गरी तयारी गरिएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङले बताउनुभयो । उहाँका अनुसार तामाङ समुदायको वर्ग चक्र अनुसार डुल ल्हो (नाग वर्ग)को अवसरमा वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
यसका साथैै तामाङ समुदायमा प्रचलित परम्परागत खाना, साहित्यिक कार्यक्रम, झाँकी तथा र्याली पदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिको साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम गरिने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका जिल्ला सचिव आशिष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय कलाकार उर्गेन दोङ, २०२४ का मिस तामाङ रिया लामाका साथमा जिल्लाका तामाङ कलाकार लक्ष्मी तामाङ, प्रशान्त तामाङ लगाायतको प्रस्तुति रहने कार्यक्रम छ । यसैगरी, अयोजक संस्थाका विभिन्न इकाई तथा पालिकास्तरका समितिको सांस्कृतिक प्रदर्शन हुने कार्यक्रम छ ।
उहाँले भन्नुभयो, ‘सो उत्सवमा करिव सात लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । उक्त साँस्कृतिक उत्सवका लागि विभिन्न फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरू, जिल्लाका स्थानीय पालिकाहरू, स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका व्यक्तित्वहरू एवम् अन्य सरोकारवालाहरूसँग सहयोग प्राप्त भइरहेको छ ।’
ल्होछारमा प्रायः मान्यजनबाट आशीर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा–मीठा परिकार खाने खुवाउने र नाचगान गरी मनाउने प्रचालन छ । विभिन्न ठाउँमा छरिएर रहेका तामाङ समूदायलाई एक ठाउँमा जम्मा गरी एकता र भातृत्वका लागि महोत्सव सञ्चालन गर्दै आएको सचिव आशिष तामाङले उल्लेख गर्नुुभयो ।
लमजुङमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अन्तरगत पात पालिकामा पालिका समिति, २६ वडामा इकाई रहेका छन् । तीमध्ये १६ वटाले आफ्नो सांगीतिक प्रस्तुतिका लागि नाम लेखइसकेको आयोजकको भनाइ छ । आयोजकका अनुसार गाउँगाउँबाट उत्सवमा सहभागी हुनका लागि तामाङका टिमहरू कोही आइसकेको र कोही बाटोमा आउँदै गरेको जानकारी आएको छ ।
प्रकाशित मिति २०८१ माघ १२, शनिबार ०९:०५ गते