मंगला माविको हीरक जयन्ती महोत्सवको साताव्यापी औपचारिक कार्यक्रम सुरु

मंगला माविको हीरक जयन्ती महोत्सवको साताव्यापी औपचारिक कार्यक्रम सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १२ गते शनिवार १०:४४

महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको समेत उक्त उत्सवमा समुपस्थिति माघ १५ गते आगमन हुने भएको छ ।

आज शिक्षक मैत्री भलिबलको फाइनल हुने कार्यक्रम छ ।

सोतीपसल(लमजुङ)– तनहुँको संगम स्थल, रिस्ती खोला करिडोरको गौरवको रुपमा रहेको मंगला मावि, सोतीपसलको हीरक जयन्ती महोत्सवको औपचारिक साताव्यापी कार्यक्रम सुरु भएको छ । नेपाल सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम माघ ११ गते भएको हो ।
सो अवसरमा उहाँले मंगला माविको प्रसंशा गर्दै यति राम्रो विद्यालयमा यसअघि आउने मौका मिलेको थिएन, प्रदेशमै अगुवा विद्यालय मान्न सकिन्छ । अन्यत्र विद्यार्थीको खडेरी रहेको भावन खण्डहरमा परिणत हुँदै गरेको अवस्थामा यो विद्यालयले गरेको प्रगति देख्दा खुशी लागेको बताउनु भयो । अर्को एक प्रसंगमा मुलुकका ठूला दुई दल मिल्नुको औचित्यमा प्रकाश पार्नु भएको थियो । उहाँले मुलुकलाई भ्रष्टाचा मुक्त गरी सुशासन दिन र राजनीतिक अस्थिरता अन्त्यका लागि काँग्रेस– एमालेको गठबन्धन भएको अन्य कार्यक्रममा जस्तै उल्लेख गर्नु भएको थियो ।
मन्त्री गुरुङले सो अवसरमा गरिएको विज्ञान प्रदर्शनीको अवलोकन समेत गर्नु भएको थियो ।
सो अवसरमा शिक्षक अभिभावक संघका पूर्वअध्यक्षहरू दलबहादुर श्रेष्ठ, रामनाथ पौडेल, ऋषिराम खनाल, रामप्रसाद मिश्र, हरिप्रसाद मिश्र, भोलानाथ पौडेल, बलराम पौडेल र सूर्यलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैगरी, हीरक जयन्तीको क्रममा दुई हजार पाँच सय भन्दा माथि १० हजार ९९९ रुपैयाँसम्म चन्दा प्रदान गर्ने चन्दादाताहरू तथा अक्षयकोष दातालाई सम्मान गरिएको थियो । त्यसैगरी, अक्षयकोषको व्याजबाट विभिन्न १० जना छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् हीरक जयन्ती मूल समारोह समितिका संयोजक लक्ष्मण बसौलाको सभापतित्वमा भएको कार्यक्रममा जिसस सदस्य शारदा पाख्रीन, मध्यनेपाल नगरपालिकाका उपमेयर सीता गुरुङ, मध्यनेपाल नगरपालिका– ३ का वडा अध्यक्ष केशव न्यौपाने, पूर्वविद्यार्थी समेत रहनु भएका विव्यसका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ, रामचन्द्र बगाले, किरण अवस्थी आदिले शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रधानाध्यापक विष्णुहरि वास्तोलाले प्रतिवेदन प्रस्तुत तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य शिशक अभिभावक संघका अध्यक्ष शमसेरबहादुर थापाले गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन शिक्षक उदयचन्द्र कंडेल र सचिवालय सदस्य दुवराज सोतीले गर्नु भएको थियो ।
त्यसैगरी, आज माघ १२ गते मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुखआतिथ्यतामा कार्यक्रम सञ्चालन हुने भएको सो माविका शिक्षक उदयचन्द्र कँडेलले बताउनु भएको छ । उहाँका अनुसार १२ गते शिक्षक मैत्री भलिबलको फाइनल हुनेछ, साथमा अन्तर मावि तोक नृत्य प्रतियोगिता र ईशानेश्वरको बालुन प्रदर्शनको कार्यक्रम हुने तयारी छ ।
महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको समेत उक्त उत्सवमा समुपस्थिति माघ १५ गते आगमन हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २०८१ माघ १२, शनिबार १०:४४ गते
हजुरको प्रतिक्रिया