बेसीशहर– गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजीको भाषा बनाउन सुझाब संकलन गरिएको छ । समाजिक, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशकोआयोजनामा जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजिक एक विशेष कार्यक्रममा त्यस्तो सुझाव संकलन कार्य माघ १२ गते गरिएको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उक्त कार्यक्रमको उदघाटन गर्दै अब सुरु हुने प्रदेश सभाको हिउँदे अधिवेशनबाट यो ऐन पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । विधेयक पार गर्नका लागि गर्नु पर्ने धेरै काम बाँकी छन् तर पनि हामी ती सबै खुड्किला पार गरेर विधेयक पारित गर्ने पक्षमा छौं उहाँले भन्नुभयो । उहाँले ऐन बनाउ त्यसपछि नपुग कुराहरू नियम, निर्देशिका तथा कार्यविधि आदिमा छलफल गर्दै समावेश गरौंला उहाँले भन्नुभयो । उहाँले यो विधेयकप्रति सरकारको मात्र नभई सबै दलको साझा धारणा रहेर ऐक्यवद्धता भएका कारणले पनि यसलाई पारित गर्न समस्या नहुने देखिन्छ भन्ने उल्लेख गर्नुभयो ।
यस्तो अधिकारको सुनिश्चित हुनु संवैधानिक अधिकार पनि हो र त्यो ऐलेको संविधानले दिएको हो तर कहिलेकाहीँ जसले यो काम गर्दैछ त्यही सरकार(माहिलो)को औचित्य छैन भन्ने टिकाटिप्पणी पनि सुनिन्छ त्यस्ता भ्रमपूर्ण गलत कुराका पछि लाग्न हुँदैन उहाँले भन्नुभयो । उहाँले अल्पसंख्यक समुदायको भाषाहरूको संरक्षण नगरेमा मगर भाषा, गुरुङका भाषा पनि संरक्षित रहने छैनन् भन्नुभयो । भाषा जोगाउनका लागि घरव्यवहारमा प्रयोगको आवश्यक छ उहाँले जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल अर्को काममा जानु पर्ने भएको हुँदा उपस्थिति जनाएरमात्रै हिड्नु भएको थियो । प्रदेश सांसद द्वय टिकाकुमारी बस्याल र यशोदा रिमाल, जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल तथा क्ब्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पनि विधेयकका बारेमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।
आयोजक मन्त्रालयका सचिव नवराज ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले स्वागत गर्दै कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएको थियो । उहाँले गण्डकी प्रदेशमा १८.९७ प्रतिशत मगर भाषा र १३.३० प्रतिशत मानिसले गुरुङ भाषा बोल्ने गरेको जानकारी दिनुभयो । उहाँले संविधानले नै प्रदेशका प्रमुख भाषालाई कामकाजीको भाषा बनाउन सक्ने प्रवन्ध गरेको हुँदा यो कार्यक्रममा हामी यहाँहरूका सुझाव संकलनका लागि आएका हौं भन्ने जानकारी दिनुभयो । उहाँले यसअघि यो कार्यक्रम स्याङ्जा र तनहुँमा गरिसकेको अब तत्कालीन बाग्लुङ अञ्चलमा गर्ने र अन्तिममा पोखरामा ठूलो कार्यक्रम गर्ने लक्ष्य छ भन्ने जानकारी दिनुभयो ।
सो अवसरमा आयोजक मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले ‘मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजीको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को मस्यौदा प्रस्तुति गर्नु भएको थियो ।
त्यसपछि सुझाबका लागि खुला गरिएको थियो । आफ्नो सुझाब राख्दै डा. बालकृष्ण बरालले सरकार भिडको पछि लाग्ने गर्छ त्यसैले सरकारले सबै काम गरिदिन्छ भनेर विश्वास गर्न हुन्न स्रोत साधन मागेर आफूहरूले विज्ञमार्फत यस्ता काम गर्नु पर्छ भन्नुभयो । उहाँले मगर र गुरुङ सहभागीलाई आआफ्ना भाषा प्रज्ञाप्रतिष्ठान खोल्नका लागि सुझाव दिनु भएको थियो । काँग्रेसका उपसभापति आनन्द घिमिरेले यो विधेयक पनि मगर र गुरुङ भाषामा भएको भए थप उत्तम हुने सुझाव दिदै राजनीतिक रेखांकनमा कास्की परेको क्ब्होलासोंथरलाई लमजुङमा पारिनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले कार्यान्वयनको समस्या बल्झिने गरेको यो मुलुकमा विधेयकमा २०८१ साल लेखिएझैं अबको अढाई महिनामै बन्न सकोस् भन्ने कामना गर्नुभयो । उहाँले नेपाली भाषामा गर्व र गर्भ जस्तो धेरै विषय जसले फरक अर्थ दिन्छन् तर प्रयोग गर्दा मानिसहरूले जथाभावी गरीरहेको पाइन्छ । त्यस्तो समस्या मगर र गुरुङ भाषामा पनि आउने सक्ने प्रशस्त सम्भावना छ । किनकि, मगरका भाषा तीन वटा भएको र गुरुङको पनि आधिकारिक लिपि कुन हो ? भन्ने बारेमा विभिन्न मत आएको देखिएको छ । यसले कार्यान्वयनमा थप जटिलता त ल्याउने हैन ? यसतर्फ ध्यानदिइयोस् भन्ने सुझाव राख्नु भएको थियो ।
सो अवसरमा जिल्ला मगर संघको तर्फबाट मगर संघका जिल्ला उपाध्यक्ष डम्बर आलेले र गुरुङ भाषाका बारेमा उमे लिपिका अभियन्ता खेमजंग गुरुङले तयार गर्नु भएको लिखित सुझावका साथमा आफूले प्रकाशन गरेको गुरुङहरूको परम्परा र इतिहास पुस्तक उहाँले मन्त्री तथा सो मन्त्रालय एवम् सांसदहरूलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा मगर संघ केन्द्रीय उपाध्यक्ष गंगा ठाकुरले गण्डकी सरकारलाई धन्यवाद दिदै विधेयक छिटो कार्यान्वयनमा आओस् भन्नुभयो । सुझाव राख्नेहरूमा पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल, तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय उपाध्यक्ष मेनबहादुर घले, मगर संघका केन्द्रीय सदस्य बलबहादुर राना, तमु छोंजधि गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष जीवराज घले, बेसीशहर– ८ की वडाध्यक्ष पवित्रा थापा राना, मगर समाजकी प्रतिनिधि राममाया थापामगर, पत्रकार मीना गुरुङ लगायत हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको सञ्चालन सो मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ माघ १२, शनिबार १९:५९ गते