साहिलीटार क्लबको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा चर्चित ढकाल चयन

साहिलीटार क्लबको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा चर्चित ढकाल चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १३ गते आईतबार ११:३२

सोही वडाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले सो क्लबलाई वडाले संरक्षकत्व प्रदान गरी वडाबाट वार्षिक कम्तिमा एक लाख रुपैयाँ विनियोजनको नीति तय गरेको जानकारी दिनुभएको छ ।

नगरपालिकाले सञ्चालन गरेका रोजगार मूलक तालिमले पनि उपलब्धि दिएन : उपमेयर खनाल

साहिलिटार(लमजुङ)– राइनास नगरपालिका– १ को यहाँ स्थित साहिलीटार क्लबको प्रथम अधिवेशन सम्पन्न भएको छ । राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनालको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनले चर्चित ढकाललाई अध्यक्षमा माघ १२ गते चयन गर्दै सम्पन्न भएको हो ।
सो समितिको उपाध्यक्षमा शान्ता लामिछाने, सचिव शिव ढकाल, कोषाध्यक्ष एकबहादुर अधिकारी, सहसचिव कपिल अधिकारी चयन हुनुभएको सोही वडाका अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक विष्णुप्रसाद पोखरेले बताउनु भएको छ । उहाँका अनुसार सदस्यहरूमा सिजन पोखरेल, चन्द्रकला बास्कोटा, अमृत ढकाल, जिनिसा पौडेल, कमल अधिकारी र सूर्य विक चयन हुनुभएको छ ।
प्रमुख अतिथि नगरपालिकाका उपमेयर खनालले अधिवेशनको उदघाटन गर्दे क्लबले यत्तिको प्रगति गर्न सकेकोमा पनि खुशी व्यक्त गर्नुभयो । तर जुनकुनै पनि सामाजिक संस्थाको व्यवस्थापनको पाटो निकै कमजोर भएको उहाँले जानकारी दिनुभयो । अब सार्वजनिक भवनहरूलाई आयसँग जोड्न नसक्ने हो भने तिनको काम नहुने स्थिति उत्पन्न भएको उहाँले बताउनु भयो । उहाँले वर्षमा दुई दिन बैठकसम्म नबस्ने आमा समूहलाई पनि भवन चाहिएको छ भन्दै आफ्नै पूर्जा नहुने हो भने भवन निर्माणका लागि सहयोग गर्न नसक्ने स्थिति छ भन्ने जानकारी दिनुभयो । नगरपालिकाले सञ्चालन गरेका रोजगार मूलक तालिमको पनि काम भएन, विगतमा नगरपालिकाले दुना–टपरी बनाउने तालिम दिइयो, वडानं २ मा साबुन बनाउने एड्भान्स तालिम दिएको पनि खेर गयो, ऐले वडानं– ५ को कुमाल गाउँमा व्यवसायिक काम गर्ने भनेर माटाका भाडा बनाउने तालिम चलिरहेको छ । हाम्रा संस्थाहरू आर्थिक व्यवस्थापनमा निकै कमजोर छन्, भावनामा जस्तो बलियो हुने गरी आर्थिक स्थितिमा देखिन र पारदर्शीतातर्फ पनि उक्तिकै ध्यान दिन जरुरी छ उहाँले भन्नुभयो ।
उपमेयर पुष्पराज खनालले ऐले बुढाबुढी विदेशमा भएको छोराछोरी कहिले आउला भनेर बाटो हेर्दै बस्ने र मेरेपछि पनि ५– ७ दिनसम्म लास गन्हाउने गरी कुर्नु पर्ने अवस्थाका बारेमा सोच्न जरुरी छ भन्नुभयो । यही क्लबको पनि दीर्घकालसम्म कसरी जीवन्त बनाउने हो भन्ने प्रश्न देखिन्छ भन्दै उहाँले वडाबाट आउने सहयोगमा पालिकाको सहयोगमा जोड दिने र सामाजिक हितका लागि श्रमदान बढाउने र काम गर्नेतर्फ लागेर कोषको तर्जुमा गर्ने गर्नु पर्छ भन्ने सल्लाह दिनुभयो । आएको पैसा खर्च गर्न जस्ले पनि सक्छ तर मैले मेरो कार्यकालमा यति जम्मा गर्न सक्ने ल्याकत राख्ने अध्यक्ष सामाजिक संस्थाहरूमा चाहिएको छ उहाँले भन्नुभयो ।
नयाँ पुस्तामा आशा के कसरी भर्ने ? आजको प्रश्न हो । आफ्ना छोराछोरीलाई आफ्नै काखमा राख्ने बनाउनेतर्फ सोचौं उपमेयर खनालको सुझाव थियो ।
क्लबका अध्यक्ष सिजन पोखरेलको अध्यक्षतामा भएको उदघाटन सत्रमा कार्यक्रमका विशेष अतिथि एवम् सोही वडाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले क्लबको संरक्षकत्व प्रदान गरी वडाबाट वार्षिक कम्तिमा एक लाख रुपैयाँ विनियोजनको नीति तय गरेको जानकारी दिनुभयो । त्यस्तै, क्लबका प्रतिनिधि शिव ढकाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
क्लबका अध्यक्ष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ०७९ को जेठमा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाणपत्र पाई औपचारिक रुपमा स्थापना भएको क्लबले सेभेन ए साइडको खेल मैदान दुई लाख रुपैयाँमा निर्माण गरेको, पाँच लाख रुपैयाँको तटबन्ध गरेको, सोही खेल मैदानको स्तरोन्नति कार्यमा पाँच लाख खर्चेको, उक्त खेलमैदानलाई फूल अर्थात ११ साइडको बनाउन लागेको बताउनु भयो । यसैगरी, उजेली डाँडामा एक भलिबल खेल मैदान निर्माणको तयारीमा रहेको त्यसका लागि नगरपालिकाबाट एक लाख प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै क्लबले कुलत तथा दुव्र्यसन विरुद्ध सचेतनाका कार्यक्रम, सरसफाई, विभिन्न निर्माण कार्यमा श्रमदान लगायतका कार्य गरेबको उहाँको भनाइ थियो ।

– प्रमोद अधिकारीबाट ।

प्रकाशित मिति २०८१ माघ १३, आईतवार ११:३२ गते
हजुरको प्रतिक्रिया