हिलेबेसी(लमजुङ)– लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाकाको तीन दिवसीय मेला आज माघ १७ गतेदेखि यहाँ सुरु हुदैछ । आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले एक समारोहबीच बिहान १०ः३५ बजे उद्घाटन हुने तयारी छ ।
मौलिक लोक संस्कृति एवम् लोक साहित्यको खोज, संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ठाडोभाका लोककला प्रतिष्ठान नेपालले विगतका चार वर्षदेखि आफ्नो स्थापना दिवस तीन दिवसीय रुपमा मनाउँदै आएकोमा यो वर्षदेखि मेलाको रुप दिन लागिएको हो । मेलाको रौनक बढाउन यो वर्षदेखि पात बजाउने प्रतियोगिता पनि थप गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार मेलाको प्रतिष्ठानका सल्लाहकार समेत रहनुभएका गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष पहाडीले भन्नुभयो, मेलाको सबै तयारी पुरा भएको छ । दोर्दी गाउँपालिका–८ हिलेबेसी मा आयोजना गरिएको मेलाका लागि स्थानीय सिद्धार्थ मिलन आमा समूह, हिलेबजार टोल विकास संस्था र हिलेबजार युवा क्लबले सहयोग गरेका छन् ।
मेलामा विगतका वर्षहरुमा सञ्चालन हुँदै आएका ठाडोभाका र बाघचालका प्रतियोगिता यथावत छन् । आयोजकसँग सम्पर्कमा रहेका सबै भाग लिन आएमा ठाडोभाकाका १५, पात बजाउने ५० र बाघचाल प्रतियोगितामा ४० भन्दा बढीले भाग लिनेछन् ।
ठाडोभाकाको प्रतियोगिता आजै उद्घाटन सत्रपछि र पात बजाउने र बाघचाल प्रतियोगिता भोलि १८ गते बिहान १० बजे सुरु गर्ने तयारी रहेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार आयोजक प्रतिष्ठानको टोली अध्यक्ष पहाडीको नेतृत्वमा हिजै कार्यक्रम स्थलमा आइसकेको छ । उहाँका अनुसार प्रतिष्ठानका सल्लाहकार एवम् पूर्व प्रशाशक रमेशचन्द्र अधिकारी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, उपाध्यक्ष सीतादेवी दुरा, ८४ वर्षीय ठाडोभाकाका जेष्ठ गायक एवम् कार्यकारी सदस्य अमरध्वज गुरुङलगायतको टिम आइसकेको छ । समितिका अन्य साथीहरु ऐले बिहान आउने कार्यक्रम छ ।
उद्घाटन समारोहमा प्रतिष्ठानले स्थापना गरेका पुरस्कारहरु वितरण, ७० वर्ष पार गर्नु भएका ठाडोभाकाका अग्रज गायक/गायिकाहरुलाई सम्मान, प्रतिष्ठानका वरिष्ठ तथा आजीवन सदस्यलाई प्रमाणपत्र वितरण लगायतका कार्य गर्ने तयारी रहेको प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो ।
प्रकाशित मिति २०८१ माघ १७, बिहीबार ०६:४० गते