सोतीपसल(लमजुङ)– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गाउँहरू रित्तिदै गएकोमा चिन्ता व्यक्त गनुभएको छ । उहाँले यहाँ स्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको उद्धघाटन गर्दै माघ १६ गते त्यस्तो चिन्ता व्यक्त गर्नु भएको हो ।
राष्ट्रपति पौडेलले युवा जनशक्ति विदेश पलायन भएका कारण गाँउहरू रित्तिदै गएका हुन, यो चिन्ताको विषय हो भन्नुभयो । उहाँले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभयो ।
समारोहलाई सम्बोधनको क्रममा उहाँले गाँउ गाँउको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेशामा रुपान्तरण गरी कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग यहाँ ल्याउनुपर्ने बताउनुभयो । पौडेलले गाँउ गाँउमा रोजगारीको अवसरहरू सृजना गरी युवा शक्तिलाई गाँउमै रोक्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘राजनीतिक परिवर्तन पछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ ।’ तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदैछन् त्यति त्यति गाउँ रित्तिदैछन् । शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ । ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ । उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ । पछिल्लो समय गाउँबाट शहर र शहरबाट विदेशिने श्रृङ्खला अटुट छ । राष्ट्रपति पौडेलले आफू जन्मे हुर्किएको नेपालको मध्यभागमा अवस्थित यो सुरम्य रिस्ति उपत्यकामा उभिँदा म भावुक भएको बताउँदै बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्तिपनि बिचलित नभई जेलनेल, संघर्ष र यातनाको रत्तिभर पर्वाह नगरी आज जुन ठाउँमा पुगेको छु त्यसमा यही माटो, हावापानी र साथीसंगतको ठूलो योगदान भएको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने निर्देशन दिदैँ अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुशी हुन सक्छ भन्नुभयो । उहाँले भन्नुभयो ‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पुर्याउने ? आजको चुनौती नै यही हो ।’ यसका लागि कृषिको आधुनिकिकरण र व्यवसायिकीकरण गरी औधोगिकिकरणतर्फ फड्को मार्नुको विकल्प नभएको उहाँले उल्लेख गर्नु भयो ।
उहाँले गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सृजना गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो । उहाँले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्ने र नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो धारण रहेको प्रष्ट्याउनुभयो ।
विदेश नगईकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउने काम गरेका छन् । वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको बताउनुभयो । देश विकासको लािग कृषिलाई आधुनिकिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता भएको उहाँको धारणा थियो । हिमाल, पहाड र तराईको नेपालको हावापानी र माटो अनुपम छ । यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी छ ।
गाऊँबाट अस्थिर भएको मनलाई आधुनिक सेवा र सुविधा पुर्याएर गाउँमा नै बसौंं भन्नका लागि आँफू राजनीतिमा लागेको उहाँ बताउनुभयो । आफुले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको स्मरण गर्दै भन्नुभयो त्यसपछि गाउँमा बिजुली, पानी, बाटो, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधासम्पन्न पूर्वाधार विकास गर्ने गरी ग्रामीण स्वालम्बनको कार्यक्रम सुरु गरियो । त्यसयताको अवधिलाई फर्केर हेर्दा गाउँमा आधारभूत सुविधाको प्रवन्ध पनि भयो । गाउँको जीवन फेरियो । उत्पादन बजारमा लैजाने अवस्था पनि बन्यो । तर, सुविधा पुगेर पनि आज गाउँ रित्तिने जुन दुःखद परिस्थिति देखापरिरहेछ यसलाई सामान्य रुपमा हेर्नुहुन्न । यही अवस्था विद्यमान रहनु मुलुकको लागि चिन्ताको विषय हो ।
यता बाहुनपोखरा उता रीस्ती उपत्यकामा ६ दशक अघि विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउने हाम्रा अग्रज धन्य छन् । उहाँले यस क्षेत्रका अग्रजहरूको उत्साह र योगदानबाट स्थापित यो विद्यालयलाई अहिलेसम्म धानेर गण्डकी प्रदेशको नमूना विद्यालय बनाउने काममा जुट्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो ‘देशको मध्यविन्दुमा रहेको यो मध्यनेपाल नगरपालिका र रिस्तीक्षेत्रलाई बहुआयामिक विकास अवधारणा अनुरुप रिस्ती उपत्यका एकिकृत विकास योजनाकारुपमा अघि बढाउनेतर्फ मेरो विशेष ध्यान रहने विश्वास दिलाउन चाहन्छु ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशलाई मङ्गला माविले पुर्याएको योगदानको प्रसंशा गर्नुभयो । उहाँले अबका दिनमा शिक्षालाई युग सुहाँउदो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा स्थानिय मेयर रमेशकुमार पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा राष्ट्रपति पौडेलले सो विद्यालयका संस्थापक तीन व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो । साथै सम्मानित हुनेहरूमा विद्यालयका पुर्वअध्यक्षहरू १५ जना विद्यालयको श्रीवृद्धिमा उत्कृष्ट योगदान गर्ने तीन व्यक्तित्वहरू सुनिलचन्द्र न्यैपाने, नेत्रराज खनाल र नेत्रबहादुर बस्नेत बर्तमान व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला शिक्षक अभिभावक संघका अध्यक्ष समशेर बहादुर थापा समेत हुनुहुन्छ । यसैगरी, उक्त अवसरमा सो विद्यालयका प्रधानाध्यापक विष्णुहरी बास्तोलालाई दिर्घसेवा सम्मान गरिएको सो विद्यालयका शिक्षक उदयचन्द्र कणेलले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण बसौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक विष्णुहरी बास्तोला र सञ्चालन शिक्षक उदयचन्द्र कणेलले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ माघ १७, बिहीबार २०:३८ गते