तीन दिने ठाडोभाका मेला भव्य रुपमा सफलता उन्मुख, पात बजाउने प्रतियोगिताको नतिजा घोषणा

तीन दिने ठाडोभाका मेला भव्य रुपमा सफलता उन्मुख, पात बजाउने प्रतियोगिताको नतिजा घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १९ गते शनिवार ०८:३६

मेलामा ठाडोभाकातर्फ १४ टिम, पात बजाउने प्रतियोगितामा २७ र बाघचालतर्फ ३२ जना सहभागी, ठाडोभाकामा पनि क्वाटरदेखिको प्रतिस्पर्धा हुँदै

बाघचालको ए पोलबाट तनहुँका शंकर न्यौपाने फाइनलमा, वि पोलतर्फ क्वाटर फाइनलदेखिका खेल आज हुने

हिलेबेसी(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– ८ को यहाँ सञ्चालन गरिएको तीनदिने ठाडोभाका मेला ऐतिहासिक रूपमा भव्यताका सफलतातर्फ उन्मुख भइरहेको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले सो मेलाको आयोजना गरेको हो । मेलाको आज अन्तिम दिन हो । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा आज माघ १९ गते मेलाको समापन गर्ने तयारी छ ।
मेलाको सफलताका लागि यहाँ स्थित सिद्धार्थ आमा समूह, हिलेबेसी टोल विकास संस्था तथा हिलेबेसी युवा क्लवले सहयोग गरेका छन् भने सामाजिक विकास कार्यालय र दोर्दी गाउँपालिकाले प्रवद्र्धन गरेको आयोजकले जनाएका छन् । हिलेबेसी युवा क्लवको सभाहल तथा फुटवल ग्राउण्डमा सञ्चालन भइरहेको मेलाको देस्रो दिन तीनवटै प्रतियोगिता सञ्चालन भएका थिए । मेलाको प्रतिष्ठानका सल्लाहकार एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषवहादुर पौडेलले उद्घाटन गर्नुभएको हो ।
मेलामा ठाडोभाकातर्फ १४ टिम, पात बजाउने प्रतियोगितामा २७ र बाघचालतर्फ ३ जना महिला समेत ३२ जनाले भाग लिएका छन् । ठाडोभाकामा पनि क्वाटरदेखिको प्रतिस्पर्धा हुँदैछ ।
बाघचाल र पात वजाउने प्रतियोगिताको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले उद्घाटन गर्नु भएको थियोे । पात बजाउने प्रतियोगितामा २६ जनालाई उछिन्दै स्थानीय हिलेबेसी निवासी टिकाराम बिक पहिलो, क्ब्होलासोथार गाउँपालिका– २, कपुर गाउँ निवासी सुकमाया मिजार दोस्रो, दोर्दी गाउँपालिका– ७ लप्सीबोट निवासी ईच्छाकुमारी गुरुङ तेस्रो, भानु नगरपालिका– ३, भन्सारका अकल बिरही गुरुङ र सुन्दरबजार नगरपालिका– ९, पैह्रे निवासी मीना गुरुङले सान्त्वना स्थान हासिल गर्नु भएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार मुल्यांकनका लागि भाका, प्रस्तुति, सुर र लयलाई मुख्य आधार मानिएको थियोे ।
सो अवसरमा सिद्दार्थ मिलन आमा समूह अन्तर्गतको तामाङ समाजले आयोजक प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्नु भएको थियोे । सो कार्यको नेतृत्व आमा समूहका अध्यक्ष उमा तामाङले गर्नु भएको थियोे ।
बाघचालको ए पोलबाट तनहुँका शंकर न्यौपाने फाइनलमा, वि पोलतर्फ क्वाटर फाइनलदेखिका खेल आज हुदैँछन् । बेसीशहर नगरपालिका – ६ चनौटे निवासी होमबहादुर राउतले तेस्रो स्थानको लागि प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । बि पोलको क्वाटर फाइनलमा हिलेबेसीका द्वय लिलबहादुर गुरूङ र सुजन गुरूङ, बेसीशहर– ३ का भरत राना र दोर्दी– ३ का धनबहादुर गुरूङले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ माघ १९, शनिबार ०८:३६ गते
हजुरको प्रतिक्रिया