तीन दिने ठाडोभाका मेलामा विविध कार्यक्रम : ठाडोभाका प्रतियोगितामा २६ वर्षीय नवीन बराल पहिलो

तीन दिने ठाडोभाका मेलामा विविध कार्यक्रम : ठाडोभाका प्रतियोगितामा २६ वर्षीय नवीन बराल पहिलो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २० गते आईतबार ०७:५६

कार्यक्रमका प्रमुख अतिथि दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले यो गीत यति लामो समयसम्म आफूलाई पहिलो पटक सुन्ने मौका मिलेको भन्दै कार्यक्रममा बसेको झण्डै पाँच घण्टाको अवधि बिताएको पत्तै भएन, यो गीत हाम्रो चिनारी र सम्पत्तीको यसको संरक्षण हुन जरुरी छ उहाँले भन्नुभयो ।

२६ वर्षमा टेक्दै गर्नु भएका भाइ नवीनले यो प्रतियोगितामा पहिलो हुनुले यो गीत नयाँ पुस्तामा हस्तान्तरण हुँदैछ भन्ने प्रमाण हो : अध्यक्ष पहाडी

हिलेबेसी(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– ८ को यहाँ सञ्चालन गरिएको तीन दिने ठाडोभाका भेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो नवौं स्थापना दिवसको अवसरमा तीन दिने ठाडोभाका मेलाको आयोजना गरिएको हो । लोपोन्मुख ठाडोभाका प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ९ भोटेओडार निवासी २६ वर्षीय नवीन बरालको टोली माघ १९ गते पहिलो भएर नेपाली लोकसंस्कृतिको क्षेत्रमा नयाँ कीर्तिमान कामय गर्नु भएको छ ।
लोपोन्मुख ठाडोभाकाको संरक्षण एवम् प्रवर्द्धन गर्ने साथमा लोककला र साहित्यको समेत प्रवद्र्धन गर्ने उद्देश्यले २०७२ सालमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको स्थापना गरिएको हो । यो प्रतिष्ठानका प्रतिफल विस्तारै देखिन थालेका छन् । सो प्रतियोगितामा २६ वर्षीय नवीन बराल(सुन्दरबजार नगरपालिका– ९ बलिथुम)को टोली पहिलो भएको छ । २०७६ सालमा आयोजना गरियो उक्त प्रतियोगिताको १ अंकले पहिलो चरणमै बाहिरिएको नवीन बरालको सो टोली २०७९ को प्रतियोगितामा दोस्रो भएको थियो । सो टिममा महिलातर्फ देउकुमारी गुरुङले नेतृत्व गर्नु भएको थियो । ठाडोभाकाको यो वर्ष सञ्चालित प्रतियोगिता छैटौं हो ।
यसैगरी सुन्दरबजार नगरपालिका– ११, सिन्दूरे निवासी बमबहादुर दुराको टोलीले दोस्रो स्थान हासिल गरेको छ । सो टोलीमा महिलातर्फ सोही स्थानकी काशीमाया दुराले नेतृत्व गर्नु भएको थियो । यसैगरी, बेसीशहर नगरपालिका– ८ निवासी कृष्णमान श्रेष्ठ तेस्रो हुनु भएको छ । सो टोलीमा महिलातर्फ बागलुङ शर्मिला विसीले नेतृत्व गर्नु भएको थियो । त्यस्तै, सान्त्वनाको पहिलो स्थान रोधिं टेलिभिजन पोखराका टसबहादुर गुरुङको टोलीले हासिल गरेको छ । सो टोलीमा महिलाको नेतृत्व सुन्दरबजार नगरपालिका– ९ पैह्रे निवासी मीना गुरुङले गर्नु भएको थियो । यसैगरी, सान्त्वनातर्फको दोस्रो स्थान दोर्दी गाउँपालिका– ८ निवासी सोममाया गुरुङले गर्नु भएको थियो । सो टोलीमा पुरुषतर्फ टिकाराम विकले नेतृत्व गर्नु भएको थियो ।ठाडोभाकाको सो प्रतियोगितामा एक टोलीमा महिला र पुरुष तीन÷तीन जना हुनु पर्ने प्रावधान राखिएको थियो ।
ठाडोभाका मेलाको समापनका अवसरमा दोर्दी गाउँपालिकाकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यता थियो । उहाँका साथमा आयोजक प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रशासक रमेशचन्द्र अधिकारी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी सहितले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ४० हजार र प्रमाण पत्र, दोस्रो हुने टिमलाई नगद २५ हजार र प्रमाणपत्र, तेस्रो हुने टिमलाई नगद १५ हजार र प्रमाणपत्र, सान्त्वनातर्फ पहिलो टिमलाई १० हजार र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई आठ हजार रुपैया र प्रमाण पत्र प्रदान गरिएको थियो ।
पुरस्कार वितरण पछि समापन कार्यक्रमका प्रमुख अतिथि अधिकारीले तीन दिवसीय मेलाका लागि दोर्दी गाउँपालिका छनौट गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले देउबहादुर दुरा र पञ्चैसुब्बाले सिर्जना गरेको यो भाका पछि भेडीखर्के साइलाबाट जीवन्त हुन पुग्यो भने ऐले त्यसको संरक्षणका लागि प्रतिष्ठान स्थापना भएपछि यो भाकाले मौलाउने मौका पाउँदै आएको छ उल्लेख गर्नुभयो । अध्यक्ष अधिकारीले यो गीत यति लामो समयसम्म आफूलाई पहिलो पटक सुन्ने मौका मिलेको भन्दै कार्यक्रममा बसेको झण्डै पाँच घण्टाको अवधि बिताएको पत्तै भएन, यो गीत हाम्रो चिनारी र सम्पत्तीको यसको संरक्षण हुन जरुरी छ उहाँले भन्नुभयो । यस्तो कार्यमा लाग्नु हुने प्रतिष्ठानका संरक्षक, सल्लाहकार पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी सहित सबैको योगदान उल्लेख्य छ भन्नुभयो । दोर्दी गाउँपालिका बालुन, घाँटु, कौरा, कृष्ण चरित्र, सोरठी, झ्याउरे, सेर्गा लगायतका विविध संस्कृतिको धनी छ, यस्ता लोकसंस्कृतिको बचाउनु स्थानीय सरकारको पनि दायित्व हो भन्ने हामीले बुझेका छौं, त्यसका लागि हामीले गाउँपालिकाले वार्षिक बजेटमा पाँच लाख रुपैयाँ विनियोजन गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँले लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाकाको संरक्षण गर्ने लगायतका कार्य गर्न २०७२ सालमा स्थापनाको यो प्रतिष्ठानले गरेको निरन्तरको कार्यले आजको परिणाम आएको हो भन्नुभयो । यस प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी २०५६ सालमा पत्रकार महासंघको जिल्ला शाखा स्थापना गर्दा उहाँ शाखाको संस्थापक अध्यक्ष र आफू पनि त्यो समितिमा रहेर सहकार्यको थालनी गरेको स्मरण गर्नु हुँदै उहाँ आज पनि पत्रकारितामै हुनुहुन्छ पछि यो प्रतिष्ठानको पनि संस्थापक अध्यक्ष भएर नेतृत्व गरिआउनु भएको छ । हाम्रो सहकार्य आजका दिनसम्म पनि निरन्तर छ र रहिरहने छ भन्नुभयो । उहाँले तत्कालै प्रतिष्ठानको आजीवन सदस्यता समेत ग्रहण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले मनको भावना पोख्दै संस्कृतिको बचाउने गर्ने कार्यमा इटा थप गर्न यो कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कलाकारहरूलाई अश्लिल शब्दको प्रयोग नगर्न, भेषभुषाका साथ गीतको प्रस्तुति गर्न सुझाव दिनु भएको थियो ।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य होमबहादुर राउत, सिद्धार्थमिलन आमा समूहका अध्यक्ष उमा तामाङ, हिलेबजार युवा क्लबका अध्यक्ष सागर गुरुङले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले यहाँको टोल विकास संस्था, सिद्धार्थ आमा समूह र युवा क्लबका पदाधिकारीले कार्यक्रम राख्नुहोस्, व्यवस्थापनमा हामी सहकार्य गर्छौं भन्ने बचन नदिनु भएको भए यो कार्यक्रम यहाँ नहुन पनि सक्यो, यस्तो सहयोगप्रति हामी तीनवटै संस्थाप्रति कृतज्ञ छौं भन्नुभयो । उहाँले लोक संस्कृति र लोकसाहित्यको जर्गेना गर्ने उद्देश्यमा यो वर्षबाट थप इटा थपिएको जानकारी दिदै यो वर्ष लोकसंस्कृति र साहित्यका दुईवटा पुरस्कार तथा पात बजाउने प्रतियोगिता थप भएको जानकारी दिनुभयो । उहाँले २६ वर्षमा टेक्दै गर्नु भएका भाइ नवीनले यो प्रतियोगितामा पहिलो हुनुले यो गीत नयाँ पुस्तामा हस्तान्तरण हुँदैछ भन्ने प्रमाण हो भन्नुभयो, हामीले गरेको लगानीको प्रतिफलको यो एक नमुना हो उहाँले भन्नुभयो ।

‘लोक संस्कृति र लोक साहित्यका लागि पर्यटन पदयात्रा’ :

निकट भविष्यमा गर्ने कार्यक्रमको जानकारी दिदै भारतको असम प्रान्तको असम नेपाली संस्कृति सुरक्षा परिषदका पदाधिकारी सहितको १५– १६ जनाको टोलीलाई निमन्त्रणा गरिएको र त्यो टोली चार दिने ‘लोक संस्कृति र लोक साहित्यका लागि पर्यटन पदयात्रा’ कार्यक्रम शिवरात्रीपर्वका अवसर(फागुन)मा आउने जानकारी दिनुभयो । उहाँले सो टोलीलाई गोरखा बजारमा स्वागत गरिने र राइनासकोट, सर्वोदय सेवाश्रम, दुराडाँडाको हलो क्रान्तिस्थल, खजेपार्क, सिन्दूरे ढुंगा हुँदै साँझ ठूलोस्वाँरामा बास, भोलिपल्ट बर्धन गाउँ नेटा हुँदै तान्द्राङ टक्सार बास र १४ गते शिवरात्रीको दिनमा ईशानेश्वर महादेव मन्दिर परिसरमा पुगेर लोकसंस्कृति र साहित्यिक गोष्ठी गरी विदाई गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रममा सहयोग गर्नु हुने सबैप्रति आफूहरू कृतज्ञ रहेको बताउनु भयो ।
उक्त मेलाको उदघाटनका अवसरमा ठाडोभाकाका ७० वर्ष पार गरेका जेष्ठ गायक÷गायिकालाई सम्मान गर्ने प्रतिष्ठानको नीति अनुसार ८१ वर्षीया धनकुमारी रानामगरलाई सम्मान गरिएको थियो । बेसीशहर नगरपालिका– ११ चिति निवासी उनले विवाह समेत ठाडोभाका गाएर गरेकी थिइन् । सम्मानित भएपछि उनले गाएको गीत सुन्दा दर्शकदीर्घा मन्त्रमुग्ध भएको थियो । सो अवसरमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलका साथै प्रतिष्ठानमा विभिन्न पुरस्कार राख्नु हुने पुरस्कारका संस्थापकहरू रमेशचन्द्र अधिकारी, बुद्धिमान दुरा ‘धम्पु’ र कृष्ण केसीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा बाघचाल र पात बजाउने प्रतियोगिता पनि गरिएको थियो ।

प्रकाशित मिति २०८१ माघ २०, आईतवार ०७:५६ गते
हजुरको प्रतिक्रिया