पात बजाउने प्रतियोगितामा महिलाहरूको तहल्का, बाघचाल प्रतियोगितामा तनहुँका शंकर पहिलो

पात बजाउने प्रतियोगितामा महिलाहरूको तहल्का, बाघचाल प्रतियोगितामा तनहुँका शंकर पहिलो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २० गते आईतबार ०३:४६

यो वर्ष ८१ वर्षीया ठाडोभाका जेष्ठ गायिकालाई सम्मान गर्ने कार्य समेत गरेको छ । प्रतिष्ठानले ७० वर्ष पार गरेका ठाडोभाकाका अग्रज गायक/गायिकालाई पनि सम्मान गर्दै आएको छ ।

पाँचौं बाघचाल प्रतियोगितामा तनहुँका शंकर न्यौपाने विजेता बन्न सफल

हिलेबजार(लमजुङ)– लमजुङमा आयोजना गरिएको पात बजाउने प्रतियोगितामा महिलाहरूको तहल्का मच्चाएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले आफ्नो नवौं स्थापना दिवसका अवसरमा आयोजना गरिएको तीन दिने ठाडोभाका मेलाका अवसरमा सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा तोकिएका पाँच पुरस्कार मध्ये तीन पुरस्कार महिलाले जित्नुका साथै सहभागी संख्या पनि पुरुषकै हाराहारी रहेरसँगै त्यस्तो पुष्टि भएको हो ।
लमजुङको दोर्दी गाउँपालिका– ८ को हिलेबजारमा आयोजना गरिएको उक्त पात बजाउने प्रतियोगितामा तनहुँ र लमजुङका ३२ जना सहभागी मध्ये महिलाहरू १५ जनाले भाग लिएका थिए । सो प्रतियोगितामा एक सय पूर्णांकमा ७२ अंक ल्याउँदै हिलेबजारकै टिकाराम विक पहिलो हुनुभयो । सो प्रतियोगितामा क्ब्होलासोथार गाउँपालिका– २, कपुर गाउँ निवासी सुकमाया मिजारले दोस्रो स्थन हासिल गर्नु भयो । दोर्दी गाउँपालिका– ७ लप्सीबोट निवासी ईच्छाकुमारी गुरुङले तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो भने भानु नगरपालिका– ३, भन्सार, तनहुँका अकल बिरही गुरुङ र सुन्दरबजार नगरपालिका– ९, पैह्रे निवासी मीना गुरुङले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार मुल्यांकनका लागि भाका, प्रस्तुति, सुर र लयलाई मुख्य आधार मानिएको थियोे ।
विजयी कलाकारहरूलाई मेलाको समापन कार्यक्रमका प्रमुख अतिथि दोर्दी गाउँपालिकाकाका अध्यक्ष युवराज अधिकारी, पूर्वप्रजिअ समेत रहनु भएका प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ तथा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संयुक्त रुपमा टिका, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो ।
सो प्रतियोगितामा पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रो हुनेलाई पाँच हजार नगद, तेस्रो हुनेलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेलाई २÷२ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको आयोजक प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार यो पहिलो प्रतियोगिता हो र सम्भवतः नेपालमै पनि यो प्रतियोगिता पहिलो हो भन्ने हामीले ठानेका छौं । उहाँले भन्नुभयो, ‘यो पहिलो प्रतियोगिता हो, यसअघिदेखि सञ्चालन हुँदै आएका ठाडोभाका र बाघचाल प्रतियोगिता पनि सञ्चालन भइरहेका छन् ।’
पाँचौं बाघचाल प्रतियोगितामा तनहुँका शंकर न्यौपाने विजेता बन्न सफल :

यसैगरी, सोही अवसरमा सञ्चालन गरिएको बाघचाल प्रतियोगितामा तनहुँ भानु नगरपालिका– ३ निवासी शंकर न्यौपानेले पहिल स्थान हासिल गर्दै उपाधि पुम्नु भयो । जम्मा २७ जनाले भाग लिएको सो प्रतियोगितामा सो प्रतियोगितामा बेसीशहर नगरपालिका– ३ निवासी भरत राना दोस्रो स्थान हासिल गर्नु भयो भने बेसीशहर नगरपालिका– ६ निवासी होमबहादुर राउत तेस्रो हुनुभएको छ । यसैगरी, बेसीशहर ८ निवासी दिलबहादुर गुरुङ र दोर्दी गाउँपालिका– ८ निवासी सुजन गुरुङले सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
लमजुङमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गर्ने गरेको सो प्रतियोगिताको यो पाँचौं शृंखला भएको सो प्रतियोगिताको निर्णायक समितिका संयोजक एवम् आयोजक प्रतिष्ठानका उपमहासचिव आशबहादुर विकले बताउनु भयो । उहाँका अनुसार विजेताहरू पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने २ जनालाई क्रमशः १० हजार, सात हजार, पाँच हजार र २५ सयका सदरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । उहाँले भन्नुभयो, ‘म यो प्रतियोगिताको दोस्रो शृंखलामा पहिलो भएको व्यक्ति हुँ, मध्यनेपाल नगरपालिका– १० को बर्धन गाउँमा भएको त्यो बेलाको प्रतियोगितामा ५१ जनाले भाग लिएका थिए ।’
कार्यक्रमको समापनका अवसरमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कार्यक्रमको झलक दिने तत्कालै रचना गरेको कविता वाचन गरेर सहभागीहरूलाई चकित बनाउनु भएको थियो ।
विगतका चार वर्षदेखि तीन दिवसीय रुपमा आफ्नो स्थापना दिवस मनाउँदै आएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले यो वर्षदेखि ठाडोभाकाको मेलाका साथमा विविध कार्य गर्दै आएको छ । यो वर्ष ८१ वर्षीया ठाडोभाका जेष्ठ गायिका धनमाष रानामगरलाई सम्मान गर्ने कार्य समेत गरेको छ । प्रतिष्ठानले ७० वर्ष पार गरेका ठाडोभाकाका अग्रज गायक/गायिकालाई पनि सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति २०८१ माघ २०, आईतवार १५:४६ गते
हजुरको प्रतिक्रिया