हिलेबजार(लमजुङ)– यहाँ आयोजना गरिएको तीन दिने ठाडोभाका मेलामा भविबल खेल प्रवद्र्धन गर्न विद्यालयलाई नेट र भलिबल प्रदान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो नवौं स्थापना दिवसका अवसरमा आयोजना गरिएको ठाडोभाका मेलाको अन्तिम दिन मध्यनेपाल नगरपालिका– २ को टक्सार स्थित बालविकास माविलाई भविबल खेल प्रवद्र्धन गर्न सो विद्यालयलाई नेट र भलिबल माघ १९ गते प्रदान गरिएको हो ।
प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले प्रायोजन गर्नु भएका ती सामग्री प्रतिष्ठानको तर्फबाट सो विद्यालयका शिक्षक शिव खनाललाई सल्लाहकार अधिकारी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ तथा अध्यक्ष नवराज पहाडीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
त्यस अवसरमा सल्लाहकार अधिकारीले विद्यार्थी जीवनमा आफू भलिबलको राम्रो खेलाडी त्यसमा पनि रेजर रहेको स्मरण गर्दै यो खेलको प्रवद्र्धन गर्नु पर्छ भन्ने उद्देश्यले विद्यालयस्तरमा हुने भलिबललाई सहयोग गरेको बताउनु भयो । उहाँले अब हुने प्रतियोगिता त्यस माविले भलिबल खेलमा राम्रो फड्को मार्नेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
विद्यालयका लागि उक्त सहयोग बुझेपछि शिक्षक खनालले सहयोगका लागि आफ्नो विद्यालयलाई छनौट गरेकोमा प्रतिष्ठान र प्रायोजन गर्नु हुने प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीलाई धन्यवाद दिनु भयो । आफूहरूले दाताहरूको भावनाको कदर हुने गरी विद्यालयले भलिवल खेलमा विशेष ध्यानदिने र राम्रो नतिजा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको थियो भने उहाँकै सिफारिसमा सो माविलाई ती सामग्री उपलब्ध भएको हो ।
अर्को पुरस्कार स्थापना :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले प्रतिष्ठानले सञ्चालन गर्ने गरी अर्को एक पुरस्कार स्थापनाको घोषणा उहाँले सोही अवसरमा गर्नु भएको छ । आफ्ना पुजनीय स्वर्गीय पिता रामदत्त अधिकारीको स्मृतिमा उहाँले ठाडोभाका– रामदत्त अधिकारी स्मृति पुरस्कारको घोषणा गर्नु भएको हो ।
आफ्ना पिताले बासुरी, खैजडीलगायतका बाद्यवादनका सामग्रीमा राम्रो दखल राख्नुका साथै भजन, बालुन आदिमा समेत सक्रियपूर्वक भाग लिने गरेको स्मरण गर्दै उहाँले पिताजीको त्यो रहरलाई साकार रुप दिनका लागि लमजुङमा कार्यरत भजन समूहहरू जो विधिवत् रुपमा दर्ता भई नियमित नवीकरण गरी सक्रिय रहेका छन् । त्यस्ता भजन समूहलाई प्रोत्साहन गर्नका लागि पाँच हजार १७ रुपैयाँ नगद र सम्मान पत्र रहेको पुरस्कार स्थापनाको घोषणा गर्नु भएको हो । यो पुरस्कार हरेक वर्ष वितरण गरिनेछ ।
सो अवसरमा पुरस्कारको घोषणा गर्दै त्यसको सञ्चालन विधि र प्रक्रियामा पुरस्कार स्थापनाको उद्देश्य अनुरुप हरेक वर्ष पुरस्कार वितरणका लागि योग्य भजन समूहको छनोट गरी पुरस्कृत गर्न पुरस्कारको संस्थापकको हैसियतले प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई अधिकार प्रत्यायोजन गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।
उक्त पुरस्कार स्थापना गरेर प्रतिष्ठानको इज्जत एवम् गौरव बढाउनुका साथै आफूहरूको कार्य क्षमतामा थप उर्जा भर्ने काममा योगदान गर्नु भएकोमा प्रतिष्ठानका सल्लाहकार अधिकारीलाई प्रतिष्ठानका अध्यक्ष पहाडीले विशेष कृतज्ञता अर्पण गर्नु भएको थियो ।
सो पुरस्कार आउँदो शिवरात्री पर्वमा आयोजना हुने ठाडोभाकाको पदयात्रा सहितको लोक संस्कृति तथा लोक साहित्यिक गोष्ठीका अवसरमा वितरण हुने प्रतिष्ठानका अध्यक्ष पहाडीले जनाकारी दिनु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष पहाडीका अनुसार सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले प्रतिष्ठानले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिदिनु भएकोमा सोही अवसरमा प्रतिष्ठानको तर्फबाट उहाँलाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान समेत गरिएको छ ।
पहाडीले दिनु भएको जानकारी अनुसार यसअघि सल्लाहकार अधिकारीले आफ्नी ममतामयी आमाको स्मरणमा ठाडोभाका– जगतमाया स्मृति पुरस्कार स्थापना गर्नु भएको छ । सो पुरस्कार ठाडोभाका गायनका जेष्ठ व्यक्तित्वलाई यसै वर्षदेखि प्रदान गर्ने तयारी छ ।
प्रतिष्ठानले यसअघि ठाडोभाका– टिकाकुमारी ढुंगाना स्मृति पुरस्कार, ठाडोभाका– हने सन्तबहादुर गुरुङ स्मृति पुरस्कार, ठाडोभाका– असल आमाबाबु सम्मान पुरस्कार, ठाडोभाका– दुर्गा केसी स्मृति पुरस्कार सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, प्रतिष्ठानले भोलिका दिनमा गायक बन्ने अठोट लिएका चारजना विद्यार्थीलाई प्लसटुसम्म पढ्नका लागि स्कूलका लाग्ने सबै खर्च बेहोर्ने गरी छात्रबृत्ती सञ्चालन गरेको छ । चारमध्ये दुई जनाको खर्च प्रतिष्ठान आफैले बहोर गर्ने र दुईका लागि प्रतिष्ठानको सिफारिसमा अन्य संस्थाबाट सो सुविधा प्राप्त भएको अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८१ माघ २०, आईतवार १९:१७ गते