
काठमाडौं– नेपालको निजी क्षेत्रको सर्वाधिक पुरस्कार वितरण गर्ने नइ प्रकाशनले वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत व्यक्तित्वको छनौट क्रम जारी रहेको छ । उसैक्रममा पाँडे, शाह, बाउसेलाई ‘वानीरा पुरस्कार’ र नौ जना किशोरकिशोरीलाई नइ बाल पुरस्कारका पुरस्कृत व्यक्तित्वको छनौट गरिएको छ ।
प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित उहाँलाई सो पुरस्कार सपर्मण गर्ने निर्णय भएको हो ।
यसैगरी चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एक एक लाख रुपैयाँ रहेका छन् ।
यसैगरी पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर कृष्ण बाउसेलाई प्रदान गर्ने निर्णय भएको वानीरा फाउन्डेसनका सदस्यसचिव प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
नौ जनालाई नइ बाल पुरस्कारको लागि बालबालिका तथा किशोर किशोरी छनौट :
यसैबीच, नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिका तथा किशोर किशोरीलाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ प्रकाशनले जनाएको छ ।
‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन, खेलकुदतर्फ सुश्री सुप्रिया ऐर छन् ।
यी पुरस्कारका राशि ताम्रपत्रसहित जनही दस हजार रूपैयाँ रहेको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार नइ कोपिला पुरस्कार गायनमा सुश्री काव्या शिवाकोटी र नृत्यमा सुश्री सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ । उहाँले भन्नुभयो, ‘ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपैयाँ रहेका छन् ।’
यसैगरी, ताम्रपत्रसहित पाँच हजार रूपैयाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी सुश्री मानशी भण्डारीलाई समर्पण गरिने भएको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
प्रकाशित मिति २०८१ माघ २२, मंगलवार ०६:५९ गते