चितवन अदालतद्वारा रास्वपा सभापति रविसँग मागियो ५४ लाख धरौटी, बैंक ग्यारेन्टी बुझाएर रिहा

चितवन अदालतद्वारा रास्वपा सभापति रविसँग मागियो ५४ लाख धरौटी, बैंक ग्यारेन्टी बुझाएर रिहा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २४ गते बिहिबार ०७:३६

रास्वपाका सभापति रविलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै शुभचिन्तकहरूले खुसीयाली मनाएका छन् । त्यो खुसीयालीमा केही शुभचिन्तक अदालत आसपासको क्षेत्रमा भाले र लालपुर्जा समेत बोकेर पुगेका थिए ।

चितवन देवभूमि हो, यहाँबाट परिवर्तन जन्मिएरै छाड्छ रास्वपा सभापति रविको उदघोष

भरतपुर(चितवन)– चितवन जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग ५४ लाख धरौटी माग गरेको छ । सो रकम बैंक ग्यारेन्टीमार्फत बुझाएर उहाँ आजै(माघ २४ गते) रिहा हुनु भएको छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले सो आदेश गरेको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताउनु भयो । सभापति रविलाई प्रतिशोध साध्नका लागि साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दा भिराइएको छ ।
प्रभु बैंकले रविका लागि बैंक ज्ञारेन्टी दिएको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनु भएको छ । हिजोदेखि सुरू भएको थुनछेक बहसमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जाहेरवालाकातर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
त्यसैगरी, रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा.नारायणदत्त कँडेलले बहस गर्नु भएको जानकारीमा आएको छ ।
सो सहकारी मुद्दामा विपक्षी बनाइएको ३२ जनामध्ये १२ जनालाई संगठित अपराध र ठगी दुवै कसुरमा मुद्दा दायर गरिए पनि रविसहित बाँकी २० जनालाई ठगीको मात्रै अभियोग लगाइको छ । त्यही कारण मुद्दा दायर गर्ने जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुईटेलको सो जिम्मेवारी खोस्दै उहाँमाथि छानबिन गर्न महान्यायाधीवक्ता कार्यालयले छानबिन समिति नै गठन गरेको छ ।
साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार रुपैयाँ गैरकानुनी रुपले गएको दाबी गरिएको छ । सो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रहरीले राय पेश गरेको छ ।
यसअघि गत ८ असोजमा पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
आदेशमा भनिएको छ, ‘ … पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रबि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,०००।– (चौवन्न लाख रुपैयाँ) धरौट वा जमानत वा बैड्क जमानत लिनु ।’
गत कार्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ गरी उहाँलाई पोखरा गलिएको थियो । कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा पुस २५ गते रिहा हुनु भएको थियो भने माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमाग गरेको थियो ।
त्यस्तै, रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटी राखेर रवि माघ १३ गते रिहा हुनु भएको थियो ।
नेता रवि रिहा हुने खुसीयालीमा भाले र लालपुर्जा बोकेर पुगे शुभचिन्तकहरू :
यसैबीच, रास्वपाका सभापति रविलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै शुभचिन्तकहरूले खुसीयाली मनाएका छन् । त्यो खुसीयालीमा केही शुभचिन्तक अदालत आसपासको क्षेत्रमा भालेकासाथमा लालपुर्जा समेत बोकेर स्वागतका लागि जिल्ला अदालतको गेटमा पुगेका थिए ।
चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो । सो क्रममा समर्थकहरूले रविको पक्षमा नाराबाजी गरेका थिए ।
चितवन देवभूमि हो, यहाँबाट परिवर्तन जन्मिएरै छाड्छ रास्वपा सभापति रविको उदघोष :
रास्वपाका सभापति रवि लामिछानेले चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने उदघोष गर्नु भएको छ । चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिर्दै आजै चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउनेछ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गर्दै सभापति रविले भन्नुभयो, ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवताजस्ता मान्छे बस्ने ठाउँ हो यो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु, अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’
‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ,’ रविको थप कथन छ ।

प्रकाशित मिति २०८१ माघ २४, बिहीबार १९:३६ गते
हजुरको प्रतिक्रिया