काठमाडौँ– काँग्रेस नेता एवम् वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश माघ २५ गते दिएको हो ।
काठमाडौँ जिल्ला अदालतले आक्रमणकारी भन्दै ज्यान मार्ने उद्योग मुद्दा भिराइएका उनीहरूलाई प्रतिव्यक्ति १÷१ लाखमा रिहा गर्न आदेश दिएको हो । धरौटी आदेश हुनेमा मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई तथा हुम्लाको अदानचुली गाउँपालिका– ४ घर भएका ३२ वर्षीय महानन्द जैसी हुनुहुन्छ । केसी र सीतादेवी राई धरौटीमा छुट्नु भएको छ भने ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको छ । त्यसको पुष्टि प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले गर्नु भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीका इजलासले त्यस्तो आदेश दिएको हो । उनीहरू तीनै जनासँग अदालतले जनही एक लाख धरौटी माग गरेको हो ।
काँग्रेस नेता त्रिपाठीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू तीनजना पक्राउ परेका थिए । उनीहरूविरूद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको विरुद्धमा बहस गरेका वरिष्ठ अधिवक्ता रहनु भएका काँग्रेस नेता त्रिपाठीलाई बबरमहलस्थित अदालत बाहिर माघ २ गते आक्रमण भएको थियो ।
यसैबीच, काँग्रेस नेता एवम् वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई माघ २४ गते पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेको प्रहरीले जनाएको छ । आलेलाई प्रहरी वृत्त सिंहदरको हिरासतमा राखिएको छ । उहाँलाई प्रहरीले साँझ साढे ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिनु भएको हो ।
उहाँका अनुसार मगरलाई काठमाडौं जिल्ला अदालतले आज पाँच दिन हिरासतमा राख्न अनुमति समेत दिएको छ । प्रहरीका अनुसार यसअघि अदालतमा दायर भएको मुद्दामा उनी प्रतिवादी नरहेकाले हिरासतमा राखेर अनुसन्धान गरेर पुरक अभियोजन लैजाने तयारी छ ।
प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका थिए । प्रतिवादी राईले भने आफू कुनै पनि संघसंस्था तथा पार्टीमा आवद्ध नरहेको बताउने गर्नु भएको छ् ।
स्मरणीय छ, धरौटी बुझाउन नसेक्नु भएका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति हुनुहुन्छ । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको बताउँदै आउनु भएको छ ।
प्रकाशित मिति २०८१ माघ २५, शुक्रबार २०:०७ गते