त्रिमूर्ति निकेतन १८ वर्षमा : तीन व्यक्तित्व पुरस्कृत

त्रिमूर्ति निकेतन १८ वर्षमा : तीन व्यक्तित्व पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २७ गते आईतबार ०६:५१

बालकृष्ण समको १२३ ओैँ जयन्तीको अवसरसँगै त्रिमूर्ति निकेतनद्वारा दिवस मनाइएको हो ।

ती तीनै पुरस्कारका राशि जनही एक एक लाख रूपैयाँ र ताम्रपत्र रहेका छन् ।

काठमाडौं– नेपाली भाषा सहित्यका क्षेत्रमा समर्पित त्रिमूर्ति निकेतन १८ वर्षमा प्रवेश गरेको छ । बालकृष्ण समको १२३ ओैँ जयन्तीको अवसरसँगै त्रिमूर्ति निकेतनद्वारा दिवस मनाइएको हो । सो अवसरमा विविध विधामा योगदान गर्दै आउनु भएका तीन व्यक्तित्वलाई २०८० सालका पुरस्कार एवम् सम्मान माघ २६ गते प्रदान गरिएको थियो ।
पुरस्कृत एवम् सम्मानित हुनुहुनेहरूमा रामबाबु सुवेदी, प्रा.डा. सावित्री कक्षपती र प्रा.डा. बेञ्जु शर्मा हुनुहुन्छ । उहाँहरूलाई त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थीले रामबाबु सुवेदी, प्रा.डा. सावित्री कक्षपती र प्रा.डा. बेञ्जु शर्मालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको छ । शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न उहाँले छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही विशिष्ट योगदान दिनु भएको सो सम्मान प्रदान गरिएको हो ।
यसैगरी, प्रा.डा. सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको छ । नेपाली भाषासाहित्यको सेवाका अतिरिक्त नेपाली रङ्गकर्मको संवर्धनमा मन, वचन र कर्मले समर्पित उहाँलाई नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नु भएकोमा सो पु्रस्कार प्रदान गरिएको हो ।
त्यस्तै, विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार ती तीनै पुरस्कारका राशि जनही एक एक लाख रूपैयाँ र ताम्रपत्र रहेका छन् ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा मुक्तक साम्राज्ञी उषा शेरचनले आफ्नो कविता सुनाउनु भएको थियो ।

प्रकाशित मिति २०८१ माघ २७, आईतवार ०६:५१ गते
हजुरको प्रतिक्रिया