बेसीशहर– भूमि समस्या समाधान आयोग लमजुङका सदस्यहरूको शपथ ग्रहण कार्य सम्पन्न भएको छ । आयोगका जिल्ला समितिका अध्यक्ष दामोदर अधिकारीले नवनियुक्त सदस्यहरूले आफ्नो कार्यकक्षमा फागुन १ गते शपथ ग्रहण गराउनु भएको हो ।
आयोगका नवनियुक्त सदस्यहरूमा विज्ञ सदस्य राममाया थापा मगर, सदस्यद्वय सृजना गुरुङ र ईन्दिरा अधिकारी लम्साल रहेको जिल्ला अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार मन्त्रालयको परिपत्र अनुसार सदस्यहरूको नियुक्त हस्तान्तरणका साथ जिल्ला समन्वय समितिको भवनमा रहेको आयोगको कार्यालयमा शपथ ग्रहण गराइएको हो ।
अध्यक्ष अधिकारीले विगतका गरेका कार्यप्रगतिका बारेमा जानकारी दिनुहुँदै अबका दिनमा लमजुङलाई ७७ जिल्लामै कामले अग्रणी जिल्ला बनाउनु पर्ने भन्दै सदस्यहरूलाई उत्प्रेरित गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘यो वर्ष भरी भूमि सम्बन्धि समस्या समाधान गर्ने आफ्नो योजना रहेको छ ।’ सबै सरोकारवाला निकायबाट उचित सहयोग प्राप्त भएमा अबको एक वर्षभित्रमा लमजुङमा भूमिको समस्या समाधान कार्य सजिलै गर्न सकिन्छ र त्यस्तो योजना रहेको अध्यक्ष अधिकारीले उल्लेख गर्नु भयो ।

जिल्लाको भूमि सम्बन्धी समस्या समाधान गर्न सबैले सहयोग गर्नुपर्नेमा अधिकारीले जोड दिनु भएको थियो । उहाँले तल्लो तहमा रहेर काम गर्ने पालिका र वडा अध्यक्ष सहितको टिमले काममा विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो ।
शपथ ग्रहण अघि सदस्यहरूलाई नियुक्ति पत्र जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले हस्तान्तरण गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन १, बिहीबार २१:३२ गते