लमजुङ– हरेक वर्ष गरिने स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा मर्स्याङदी गाउँपालिका जिल्लामा दोस्रो हुन सफल भएको छ । राष्ट्रिय प्राकतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनमा मर्स्याङदी गाउँपालिका जिल्लामा दोस्रो उत्कृष्ट बन्न सफल भएको हो । विभिन्न १७ वटा सूचाङ्कको आधारमा सो मूल्याङ्कन हुने गर्दछ ।
मस्र्याङ्दी गाउँपालिकाले २.४ अंक कम भएर दोस्रो भएको छ । सो पालिकाले ७२ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ । जिल्लामा पहिलो स्थान बेसीशहर नगरपालिका हासिल गरेको छ । बेसीशहर नगरपालिकाले ७४ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गरेको बताइन्छ । जिल्लामा आठौं स्थानमा दुधपोखरी गाउँपालिका रहेको छ । जिल्लाको कर्णालीका रुपमा परिचित सो पालिकाले ५१ दशमलव ९ प्रतिशत अङ्क पाएको छ ।
जिल्लाका आठवटा स्थानीय तहमध्ये सुन्दरबजार नगरपालिका तेस्रो स्थानमा छ । त्यो पालिकाले ६९ दशमलव १ अङ्क प्राप्त गरी जिल्लामा तेस्रो भएको हो ।
यसैगरी, राइनास नगरपालिकाले ६८ दशमलव १ अंक ल्याएको छ । मध्यनेपाल नगरपालिकाले ६४ दशमलव ७, अंक ल्याएको छ भने क्व्होलासोँथार गाउँपालिकाले ५८ अंक पाएको छ । त्यस्तै, दोर्दी गाउँपालिकाले ५४ दशमलव १ अंक हासिल गरेको छ ।
मर्स्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले सूचकहरूमा राम्रो गर्दै आएको छ भन्नुभयो । उहाँले गाउँपालिकाले कार्यसम्पादन क्रमशः प्रगति गरिरहेको बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यसपटक थप राम्रो नतिजा आउन सकेको छ, यो खुसीको विषय हो । थप राम्रो गर्न हाम्रो प्रयास वारी छ उहाँले भन्नुभयो ।
स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए, नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका साथै आर्थिक वर्षको राजस्व र आय– व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे, नगरेकोदेखि समयमा बजेट पास भए नभएको, आदि हेर्ने गरिन्छ ।
अघिल्लो आर्थिक वर्षको अवधिलाई आधार मानेर पछिल्लो आवको पुस मसान्त भित्र यस्तो नतिजाको घोषणा गर्नु पर्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति २०८१ फाल्गुन ३, शनिबार १७:११ गते