बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), लमजुङको वडा अधिवेशन जारी रहेको छ । सो क्रममा बेसीशहर नगरपालिका– १० को वडाअघिवेशन सम्पन्न भएको हो । सो अधिवेशनको रास्वपाका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका सभापति राजन गौतम तथा केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीको उपस्थितिमा भएको हो । सोही वडाको भाञ्चोक बेसी स्थित समाज घरमा आयोजना गरिएको अधिवेशनको केन्द्रीय सदस्य गौतमले घण्टी बजाएर फागुन १० गते उदघाटन गर्नु भएको हो ।
सो क्रममा उहाँले प्रशिक्षण शैलीमा मन्तव्य राख्नु भएको थियो । उहाँले हामी जन्मजात नेपाली हौं तर काँग्रेस, एमाले वा अन्य दलका भरौटे होइनौं भन्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । उहाँले वडा र पालिका कार्यालय हामीहरू सबैका हुन्, तिनका पदमा बस्ने जनप्रतिनिधिहरू निर्वाचित भएपछि सबैका साझा हुन्, हुनुपर्छ तर नेपालमा त्यस्तो अभ्यास भएको पाइदैन यसप्रति खबरदारी आवश्यक छ यस्तै प्रवत्तीले यो व्यवस्था बदनाम भइरहेको छ भन्नुभयो । काँग्रेस, एमाले, माओवादी लगायतका पुराना दलले परिवर्तनको आभास दिन सकिरहेका छैनन्, त्यस्तैले आम मतदाताले अब मत परिवर्तन गर्नु पर्छ, तपाई मत परिवर्तन गर्नुहोस् हामी तपाईहरूको अवस्था परिवर्तन गर्छौं उहाँले प्रतिवद्धताकासाथ भन्नुभयो । उहाँले कार्यकर्तालाई निर्देशन दिदै भन्नुभयो, ‘आजका जनप्रतिनिधिले काम गरेनन् भन्ने प्रश्न उठाइरहँदा भोलिका दिनमा त्यस्तो प्रश्न आफूप्रति नउठ्ने गरी काम गर्न र आफूमा त्यस्तो ज्ञान, सीप र क्षमताको विकास गर्न आवश्यक छ, त्यस्तो आग्रह गर्दछु भन्नुभयो ।
रास्वापा र पार्टी सभापतिका विरुद्धमा फैलाइएका अफवाहको झुठा भएको बताउँदै साच्चै नै सभापतिबाट गल्ती भएको भए चार महिनाको अवधिमा प्रमाण देखाएर कारावाहीको दायरामा ल्याउन सरकारले किन सकेन ? भन्ने प्रश्न गर्दै भ्रमका पछि लाग्न जरुरी नभएको उल्लेख गर्नुभयो । उहाँले रास्वपाका कार्यकर्ताहरूले पद लिनका लागि खरायो गति लिएझैं भोलिका दिनमा जिम्मेवारी र कर्तव्य निभाउन र समझदारीपनको समेत ख्याल गरी इमान्दार हुन आवश्यक छ भन्नुभयो ।
उहाँले लमजुङमा हिजो रास्वपा के हो ? पार्टी हुन्छ कि हुन्न ! भन्ने स्थितिमा पनि १० हजार मत आएको थियो भने आज ती सबै मतदातालाई पार्टीमा जोड्न सकिएको छैन, उहाँहरू सबैलाई जोड्न जरुरी छ उहाँले भन्नुभयो । सर्वसाधारण नागरिकको छोराछोरी राष्ट्रको सर्वोच्च पदमा पुग्ने पद्दति भएको यो व्यवस्था जस्तो उत्कृष्ठ अर्को हुन सक्दैन, यो व्यवस्था ठीक छ तर यसलाई चलाउने व्यक्ति गलत भएको हुँदा व्यवस्थाकोसमेत बदनाम भइरहेकोतर्फ हामी सचेत हुन आवश्यक छ उहाँले भन्नुभयो ।
चाहना नहुने व्यक्तिले बहाना बनाउने गर्छन् भन्दै उहाँले जोडदार रुपमा भन्नुभयो, ‘छोरीको विवाह गरिदिएर गोत्र परिवर्तन गर्ने संस्कारमा हुर्कोका हामीले मत परिवर्तन गर्न किन नसक्ने ?’ यसतर्फ ध्यान दिऔं भन्दै मासिक ६० हजार तलब खाने सांसदका शहर बजारमा जताततै गगनचुम्बी विल्डिङका विल्डिङ कसरी बन्न सकेका हुन् ? भन्ने प्रश्न उठाउनु भएको थियो । उहाँले हाम्रो चुल्हो हामी आफैले बालेका छौं भने किन कसैसँग डराउने ? भन्दै कसैको धम्कीबाट नदब्नु होला भन्ने निर्देशन दिनुभएको थियो ।
सो अवसरमा रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले रे ! का पछि नलागि यथार्थ बुझ्न र तर्कसंगत तरिकाले अफवाह चिर्न आवश्यक छ भन्नुभयो । उहाँले पार्टीमा कुनै प्रकारको गुटबन्दी नरहेको प्रष्ट्याउँदै गुट बन्दी छ भनेर अफवाह फैलाउने काम १२ भाइबाट हुँदै आएको छ, त्यस्ता तत्वसँग बच्नु पर्छ भन्नुभयो । हामी अन्य दलका भन्दा भिन्न छौं भन्ने हाम्रो दैनिक व्यवहारले पुष्टि गर्न सक्नु पर्छ उहाँले जोडदार रुपमा उल्लेख गर्नुभयो ।
सो अधिवेशनले श्रीप्रसाद गुरुङको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । दुई जना सदस्य पछि मनोनित गर्ने भएको छ । सो समितिको उपाध्यक्षमा बेलबहादुर घिमिरे, सचिव प्रितम गुरुङ तथा सदस्यहरूमा कल्पना विक, विष्णुमाया न्यौपाने, चन्द्र कार्की, सविना पराजुली अधिकारी, डम्बरबहादुर राउत र बलबहादुर मगर चयन हुनुभएको सोही वडाका निर्वाचन समितिका संयोजक एवम् रास्वपाका जिल्ला सदस्य होमबहादुर राउतले बताउँदै घोषणा गर्नु भएको थियो ।
निर्वाचन संयोजक राउतले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गर्नु भएपछि कार्यक्रमका विशेष व्यक्तित्व राजन गौतमले नवनिर्वाचितहरूलाई टिका लगाई बधाई दिनुका साथै शपथ खुवाउनु भएको थियो । नवनिर्वाचितहरूलाई रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी, जिल्ला सभापति अशोक सापकोटा, उपसाभापति प्रकाश थापा, जिल्ला सहल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सहसचिव बाबुराम अधिकारी, सदस्य एवम् निर्वाचन समितिका सदस्य सविता अधिकारी बराल, सुन्दरबजार नगरका सभापति श्याम केसी, बेसीशहर नगरपालिका– ३ का अध्यक्ष हरिप्रसाद अधिकारी, वडानं ६ का उपसभापति राजकुमार राउतलगायतले बधाई ज्ञापन गर्नु भएको थियो ।
उक्त वडाका उपसभापति बेलबहादुर घिमिरेको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा रास्वपाका जिल्ला सभापति अशोक सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रितम गुरुङले स्वागत गर्नु भएको सो सभाको सञ्चालन रास्वपाका जिल्ला उपाध्यक्ष प्रकाश थापाले गर्नु भएको थियो ।
स्मरणीय छ, सो नगरपालिकाको वडानं– २, ६ र ८ को अधिवेशन यसअघि सम्पन्न भइसकेको छ भने वडानं ११ को अधिवेशन फागुन १७ गतेका लागि तय भएको छ । त्यस्तै वडानं ३, १ लगायतका वडामा पनि अधिवेशन तयारी चलिरहेको छ । त्यस्तै, अन्य पालिकाहरूका वडाको अधिवेशनका लागि पनि अधार तयार गरिरहेको रास्वपाको जिल्ला समितिले जनाएको छ ।
प्रकाशित मिति २०८१ फाल्गुन १०, शनिबार २०:४८ गते