बेसीशहर(लमजुङ)– ठाडोभाका लोककला पतिष्ठान नेपालको आयोजनामा लोक सांस्कृति तथा लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा सुरु भएको छ । चार दिवसीय सो पदयात्रा गोरखा जिल्लाको सदरमुकाम यहाँबाट फागुन ११ गते बिहान ५ बजे सुरु भएको हो ।
सो पदयात्रामा नेपाली संस्कृति सुरक्षा परिषद(नेसंसुप) असम, भारतका १४ जना र आयोजक प्रतिष्ठानको ११ जना गरी ३५ जनाको टोली सहभागी रहेका छन् । सो टोली असमबाट लोक संस्कृति र लोक साहित्यको अध्ययन अवलोकन तथा अन्वेषणका लागि आएको हो । सो पदयात्रा फागुन ११ गतेदेखि १४ गतेसम्म चलेर समापन हुने बताइएको छ ।

सो टोलीको संयोजन असमतर्फ नेसंसुप असमका अध्यक्ष एलवि प्रधानले गर्नु भएको छ भने नेपालतर्फका संयोजक अयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले गर्नु भएको छ । टोलीलाई ११ गते विहान ९ बजे गोरखा बजारमा स्वागत गर्ने तयारी रहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनु भएको छ । उहाँका अनुसार गोरखा बजारमा गोरखकालिका माता, गोरखनाथ बाबाका साथै गोरखा दरबार, टुडिखेल आदिको अवलोकन गराने भएको छ ।

यसैगरी, सो टोलीले लमजुङको राइनासकोट, वीरभक्ति पार्कको अवलोकन गरी आज साँझ राइनास नगरपालिका– ९ को वगुवामा साँझ गुरुङ संस्कृतिबाट अध्ययन एवम् मनोरञ्जन गराउने तयारी छ ।
सो टोलीले भोलि १२ गते सर्वोदय सेवाश्रममा निर्माणाधित धर्मनाथ धामको तीर्थाटन पछि विहान कवि गोष्ठी गरी दिउँसो दुराडाँडा प्रस्थान गर्ने योजना रहेको बताइएको छ । कवि गोष्ठीमा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ प्रमुख अतिथि र उपमेयर पुष्पराज खनाल विशेष अतिथि हुनुहुनेछ ।
दिउँसो पदयात्री टोली दुराडाँडाको हलोक्रान्तिस्थल, खजेपार्क तुर्लुङकोट गढी हुँदै ठूलोस्वाँरामा बास बस्ने भएको छ । सो टोली दुराडाँडाका विभिन्न स्थानको अवलोकन गरी साँझ सिंदूरे ठूलोस्वाँरामा दुरा संस्कृतिको अध्ययन हुने कार्यक्रम छ ।

फागुन १३ गते बिहान सो टोलीले ठाडोभाकाका सर्जक स्व. देउबहादुर दुराको जन्म थलो रहेको बर्धन गाउँमा पुगेर सो स्थानको अध्ययन अवलोकन गर्ने छ । त्यसपछि दिउँसो तान्द्राङ टक्सार पुगेर विशेष कार्यक्रम गर्ने तयारी रहेको अयोजकको भनाइ छ । आयोजकका अनुसार वन तथा वातावरण मन्त्री एवम् प्रतिष्ठानका सल्लाहकार भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा तान्द्राङ टक्सारमा दिउँसो १ बजे पातबजाउने दोस्रो खुला प्रतियोगिताका साथमा कवि गोष्ठीका साथ सम्मान कार्यक्रम गरिने र साँझ सांस्कृति कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।
१४ गतेका दिन विहान तान्द्राङ टक्सारमा सूर्योदयको दृश्यावलोन एवम् त्यहाँका पुरातात्विक महत्वका स्थानको अवलोकन पश्चात दुईपिप्ले स्थित घाँसी कुवा, घाँसी भानु संवाद पार्कका साथै मध्यनेपाल स्तम्भ निर्माण स्थलको अवलोकन गरी करापुटार मेलातर्फ लाग्ने कार्यसूचि रहेको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८१ फाल्गुन ११, आईतवार ०५:२७ गते