सत्रसय(तनहुँ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको गण्डकी प्रदेशको पहिलो अधिवेशन यहाँ स्थित शान्ती बालबाटिकामा सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यतमा भएको सो अधिवेशनले हिमलाल अधिकारी स्याङजालाई अध्यक्षमा निर्विरोध रुपमा फागुन १६ गते चयन गरेको हो ।
१३ सदस्यीय सो समिति सबै निर्विरोध रुपमा चयन भएको निर्वाचन समितिका संयोजक नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रदेश उपाध्यक्षमा चिरञ्जीवी अधिकारी पर्वत, महिला उपाध्यक्ष मीना अधिकारी तनहुँ, सचिव सन्देश अधिकारी तनहुँ, कोषाध्यक्ष विश्वप्रसाद अधिकारी लमजुङ, सहसचिव राजेन्द्र अधिकारी तनहुँ हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘समितिको सदस्यहरूमा मुक्तिनाथ अधिकारी लमजुङ, निलकण्ठ अधिकारी लमजुङ, थुमाकुमारी अधिकारी पर्वत, रुद्रबहादुर अधिकारी बाग्लुङ, सीता अधिकारी तनहुँ, उत्तम अधिकारी गोरखा र चिरञ्जीवी अधिकारी स्याङ्जा हुनु भएको छ ।’ गण्डकी प्रदेश समिति १७ सदस्यीय हुनु पर्नेमा मनाङ, मुस्ताङ, कास्की र नवलपुरबाट भाग नलिएको हुँदा ती जिल्लोका स्थान रिक्त छ र ती जिल्लाबाट प्रतिनिधित्व भएमा सदस्य मनोनित गरी पूर्ति गरिने समेत निर्वाचन संयोजक पहाडीले जानकारी दिनुभएको छ ।
केन्द्रीय अध्यक्ष अधिकारीले सो अधिवेशनको उदघाटन गर्नु हुँदै यो गैरनाफामूलक संस्था भएको हुँदा स्वयम्सेवा गर्ने सोच र व्यवहार गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनु होला भन्नुभयो । उहाँले आफूले यो संस्थामा विगतका १६ वर्षदेखि निरन्तर लागि रहेको, विभन्न जिल्लामा जाँदा बन्धुहरूकोमा खाने, सुत्नेसम्मको काम गरेको तर बाटो खर्च कहिल्यै कसैसँग नमागेको स्मरण गर्दै नमाग्ने बताउनुभयो । उहाँले आफू आजका दिनमा पनि भत्केको घरमा बसेर बन्धुको सेवा गरिरहेको उल्लेख गर्दैै त्यो काम व्यक्ति नरेन्द्रका लागि गरेको नभई प्रतिष्ठानका लागि गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अधिकारीका विभिन्न समाजसँग एकीकरण गर्ने भावना छ तर विद्यमान कानुनले रोकिरहेको हुँदा विकल्प खोज्नु पर्ने स्थिति उत्पत्ती भएको छ । अन्यथा एकीकरण सम्भव छैन ।’ उहाँले अब आफूले नयाँ जिम्मेवारबोध गर्ने नेतृत्वलाई पद हस्तान्तरण गरेर ढुक्क हुन चाहेको उल्लेख गर्दै आउँदो चैत महिना भित्रै केन्द्रीय अधिवेशन हुनेछ भन्ने उल्लेख गर्नु भयो ।
प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रामचन्द्र अधिकारीले विधान, प्रदेश समितिको जिम्मेवारी र कर्तव्यमा प्रकाश पार्नु भएको थियो । उहाँले विभिन्न समाजसँग एकीकरणका लागि नौ सदस्यीय समिति बनेको, त्यसको सदस्य आफू पनि रहेको तर बढी भावनामा बग्यौं कि भन्ने अनुभूति भएको छ भन्नुभयो । केन्द्रीय समिति चितवन सार्ने निर्णय पनि हतारमा गरिएको हो कि भन्ने लाग्न थालेको छ तर पनि मन, बचन र कर्मले एकता गर्नु पर्छ भन्ने आफ्नो धारणा ज्यूँका त्यूँ छ भन्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् केन्द्रीय उपाध्यक्ष सीताराम अधिकारीले हामी अलिना हौं किनकि, नुनले दुर्वचन, उत्तेजना आउँछ, शरीर गलाउँछ र बिचार भगाउने गर्छ त्यसैले हाम्रा पुर्खा नुन खादैनथे त्यसैले हामीलाई अलिना भनिएको हो भन्नुभयो । त्यस्तै, निरमंसी भन्नुको अर्थ मानु नखानु हो, मासुले पनि नुनले जस्तै काम गर्ने र मासु खाने भनेको बलका लागि विचारका लागि होइन उहाँले भन्नुभयो । त्यसैले मासु खानेहरूले पनि विस्तारै छाड्ने प्रयास गर्दा राम्रो भन्ने प्रष्ट्याउँदै जुझारु समिति बन्ने छ थप राम्रो काम गर्ने छ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य नवराज पहाडीले पवित्र भावना जस्तै त्यसमा बगेर एकता भन्न जति सजिलो छ, कानुनले त्यो दिदैन मात्र हैन । अधिकारीका संस्थाहरूका नाउँमा लालपूर्जा नभएका जग्गामा लगानी गर्नु पानीमा बालुवा हाले हुनेछ भन्नु भन्नु भयो । उहाँले अर्बुद रोग निवरण संस्थाको उदाहरण दिदै अर्बुदको केन्द्रले स्थापना गरी सञ्चालन गरिरहेको भक्तपुर क्यान्सर अस्पताल संघीयता लागू भएपछि त्यहाँको नगरपालिकालेह हाम्रो हो र हुनुपर्छ भन्ने जिद्दी गरेपछि एले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । भोलिका दिनमा बालेनजस्ता मेयर आएमा अधिकारीका संस्थाहरूको नाउँमा लालपूर्जा नभएका जग्गामा बनाइएको संरचनाको पनि भविष्य सुरक्षित आफूले नदेखेको उल्लेख गर्नुभयो ।
सो अवसरमा केन्द्रीय सदस्यहरू चन्द्रमणि अधिकारी, हिमलाल अधिकारी र टुकराज अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा कश्यप गोत्रीय समाज चितवनका अध्यक्ष देवीरमण अधिकारीले भावनात्मक स्पन्दनद्वारा सहभागीहरूलाई चितवन साझा थलो हो र आफूहरूले बनाएको भवनको उपयोग गर्नु होला भन्ने उल्लेख गर्नु भएको थियो ।
७५ वर्षभन्दा माथिका कश्यप गोत्रीय आग्रज बा– आमाहरू झण्डै दर्जन संख्यामा सम्मान गरिएको कार्यक्रममा पदमराज अधिकारीले स्वागत गर्नु भएको थियो भने जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले सञ्चालन गर्नु भएको थियो ।
उदघाटन सत्रपछि भएको बन्द सत्रमा निर्वाचन समितिका संयोजक नवराज पहाडीले कार्यक्रम सञ्चालन गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । नवनिर्वाचितहरूलाई टिका लगाउँदै केन्द्रीय अध्यक्ष नरेन्द्रकुमारले बधाई दिनु भएको थियो भने निर्वाचन संयोजक पहाडीले प्रदेश पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्दै उनीहरूलाई शपथ खुवाउनु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष हिमलाल अधिकारीले प्रतिवद्धता मन्तव्यसहित अधिवशेन सभाको विसर्जन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन १६, शुक्रबार २०:५० गते