काठमाडौं– नेपाली समाजमा योग र सदाचारको महत्वलाई उजागर गर्ने कार्य भएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रपति भवनमा आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई नरकान्त योग राष्ट्रिय पुरस्कार र भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रीपरिषद पूर्वअध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई समर्पण गरिएसँगै फागुन १९ गते त्यस्तो खुलासा भएको हो ।
‘नरकान्त योग राष्ट्रिय पुरस्कार’ र ‘भैरव सदाचार पुरस्कार’ समर्पण कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट र भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रीपरिषद पूर्वअध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई समर्पण गरिएको हो ।
सर्वोदय सेवाश्रम, लमजुङको आयोजनामा सञ्चालित सो कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार योग क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने व्यक्तिलाई प्रदान गरिन्छ, जसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत पु¥याउँछ । त्यस्तै, भैरव सदाचार पुरस्कारले समाजमा नैतिकता, इमानदारी र सदाचारको प्रवद्र्धन गर्ने व्यक्तिहरूलाई सम्मानित गर्दछ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दछ । दुवै पुरस्कारको राशि १÷१ लाख रुपैयाँको रहेको छ ।
प्रमुख अतिथि सम्माननीय राष्ट्रपति पौडेलले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार हस्तान्तरण गर्दै बधाईका साथै पुरस्कार स्थापना गर्नु हुने र व्यवस्थापन गर्नु हुनेहरूलाई धन्यवाद दिनु भएको थियो । उहाँले कार्यक्रमले नेपाली समाजमा योग र सदाचारको महत्वलाई पुनःस्थापित गर्न मद्दत पुर्याएको छ र आगामी पुस्तालाई पनि यी मूल्यहरूको पालन गर्न प्रेरित गरेको छ भन्नु भयो ।
सो अवसरमा पूर्वमन्त्री, माननीय, पूर्वमुख्यसचिव बिमल कोइराला, पूर्व सचिव, पूर्वराजदुत, राष्ट्रसेवक, वरिष्ठ साहित्यकारहरू पुरस्कारको अक्षयकोष स्थापना गरिदिने स्व. नरकान्त अधिकारी र स्व. भैरवप्रसाद उपाध्यायका परिवारजन, योग क्षेत्रका साधकहरू लगायत सर्बोदय सेवाश्रमका प्रतिनिधिहरू, पुरस्कार प्राप्तकर्ता र अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा, पुरस्कारबाट सम्मानित हुनेहरूले आफ्नो अनुभव र योगदानबारे प्रकाश पार्नु भएको थियो । उहाँहरूको मन्तव्यले कार्यक्रमका सहभागीहरू सबैलाई प्रेरित गरेको थियो ।
सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुकदेव रिसाल र संस्थाको परिचय र व्यक्तित्ब परिचय सदस्य इन्दिरा अधिकारीले गर्नु भएको थियो भने सञ्चालन मणि लोहनीले गर्नु भएको थियो ।
सर्वोदय सेवाश्रम लमजुङको राइनास नगरपालिका– ८ हर्राबोट धर्मनाथमा रहेको छ । यसले योग शिक्षा, छात्रवृत्ति, स्वस्थ्य सचेतना, सामाजिक जागरण, प्रकृति संरक्षण र मानवीय सेवामा जेष्ठनागरिक आश्रम सञ्चालन गर्दै आइरहेको छ ।
धर्मनाथ धाममा परिणत हुँदै गरेको सर्वोदय सेवाश्रम डुम्रे– बेसीशहर सडक खण्डको लमजुङ प्रवेशद्वार रहेको पाउँदी बजारका ठीक पूर्वपट्टी रहेको छ । पाउदीबाट राइनास नगरपालिका जाने पक्की सडक हुँदै मर्र्याङदी नदी तरेरपछि सवारी साधनमा पाँच मिनेट र १५ मिनेटको पैदल यात्राबाट पुग्न सकिन्छ ।
प्रकाशित मिति २०८१ फाल्गुन २०, मंगलवार ०७:४१ गते